© २०२३
काठमाडौं ।
परराष्ट्रमन्त्री आरजु राणाले नेपालमा लगानी विस्तार गर्न भारतीय लगानीकर्ताहरूलाई आग्रह गर्नुभएको छ। आज नयाँदिल्लीमा काठमाडौं विश्वविद्यालय र भारतीय नीति आयोगद्वारा आयोजित ‘नेपाल–भारत आर्थिक सम्मेलन’मा मन्त्री राणाले नेपालमा प्रत्यक्ष विदेशी लगानीको सबैभन्दा ठूलो हिस्सा भारतीय लगानीको रहेको उल्लेख गर्दै थप लगानीको लागि आह्वान गर्नुभएको हो।
मन्त्री राणाले नेपालमा राजनीतिक स्थिरता र लगानीमैत्री वातावरणमा सुधार आएको भन्दै भारतीय उद्यमीहरूलाई ऊर्जा उत्पादन, पूर्वाधार विकास, कृषि, पर्यटन, र सूचना प्रविधि क्षेत्रमा लगानी गर्न आह्वान गर्नुभयो। उहाँले नेपालमा लगानी सुरक्षित हुने र उच्च प्रतिफल प्राप्त हुने बताए।
नेपालले विदेशी लगानी आकर्षित गर्नका लागि ‘बीबी माइनस’ रेटिङ प्राप्त गरेको र प्रोत्साहनकारी नीतिहरू लागू गरेको जानकारी पनि उहाँले दिनुभयो। नेपाल–भारत सम्बन्धलाई केवल आर्थिक मात्र नभई सामाजिक र सांस्कृतिक दृष्टिले पनि थप मजबुत बनाउनुपर्नेमा उहाँको जोड थियो।