© २०२३
सुर्खेत,२ पुस ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधिन प्रदेश रङ्गशाला निर्माणको काम ९९ प्रतिशत सकिएको छ । प्रदेश गौरवको आयोजनाअन्तर्गत रहेको रङ्गशाला निर्माणको काम अन्तिमतिर पुगेको प्रदेश खेलकुद परिषद्ले जनाएको छ । परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालका अनुसार हालसम्म ९९ प्रतिशत भौतिक प्रगति हासिल भएको छ भने ९० प्रतिशत नै वित्तीय प्रगति हासिल भएको छ । हालसम्म एक अर्ब ५० करोड बजेट कार्यान्वयन भएको छ । २०७८ कात्तिक २८ गते प्रदेश रङ्गशाला निर्माणको ठेक्का सम्झौता गरिएको थियो ।
एमएसी–जीएसएल कम्पनीले एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रूपियाँमा निर्माणको जिम्मेवारी पाएको थियो । अत्याधुनिक तरिकाले काम अघि बढाइएको रङ्गशालाको पहिलो चरणमा डिजाइन, फिल्ड निर्माणलगायत काम भएका थिए । ती काम ६ महिनाको अवधिमै सकिएको थियो । दश हजार दर्शक अट्ने क्षमताको बनाउने गरी रङ्गशाला निर्माणको काम गरिएको खेलकुद परिषद्ले जनाएको छ
दशौँ राष्ट्रिय खेलकुदलाई लक्षित गरेर रंगशालासँगै कालिञ्चोक क्रिकेट मैदान निर्माण गरिएको छ । २०८० मङ्सिर ८ गतेदेखि क्रिकेट मैदानको काम सुरु गरिएको थियो । उक्त क्रिकेट मैदान निर्माण सम्पन्न भई प्रयोगमा आइसकेको परिषद्का सदस्य सचिव सञ्ज्यालले बताए । यसैगरी वीरेन्द्रनगरमै अर्को क्रिकेट रङ्गशाला निर्माण भएको छ । चार करोड ५९ लाख लागतमा क्रिकेट मैदान निर्माणको काम भएको हो । वीरेन्द्रनगर नगरपालिकाको गुरुङचोक र चिसापानीमा फुटबल मैदान निर्माण तयार पारिएको छ ।
यस्तै प्रतियोगितालाई लक्षित गरि प्रदेशका अधिकासं जिल्लाहरुमा पूर्वाधारहरु निर्माण भएका छन् । दैलेखमा कभर्डहल मर्मत गरिएको छ । रूकुमपश्चिममा पनि कभर्डहल मर्मतको काम सम्पन्न भएको छ । हुम्लामा पनि खेलमैदानहरु निर्माण भएका छन् । जुम्लामा पनि खेल पूर्वाधार निर्माण भएका छन् । जुम्लामा भलिबल खेल मैदान तथा प्याराफिट निर्माण गरिएको छ । मुगुको रारामा कबड्डी खेल मैदान निर्माण सकिएको छ । डोल्पाको दुनैमा कर्भड हल मर्मत गरिएको छ ।
यसैबीच दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति समेत तोकिएको छ । राष्ट्रिय खेलकुद परिषद्ले प्रतियोगिता आगामी चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने जनाएको छ । यसअघि राखेपले दशौँ राष्ट्रिय खेलकुद गत मङ्सिर २ देखि ९ गतेसम्म गर्ने निर्णय गरेको थियो ।