© २०२३
बुटवल, ०१ पुस।
विभिन्न ठाउँबाट बुटवलमा आएर बसेका मगर समुदायले बुटवल ७ दीपनगर स्थित बाजेबजै स्थानमा आफ्ना पितृहरूको पूजा सम्पन्न गरेका छन् ।
नेपाल मगर संघ बुटवल उपमहानगर समितिको अगुवाइमा हरेक वर्ष झै यसपटक पनि स्थान परिसरमा आइतबार विशेष पूजा सम्पन्न गरेका हुन् ।
सो अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमूख खेलराज पाण्डेयले मगर समुदाय सांस्कृतिक र भाषिक रूपमा समृद्ध समुदाय रहेको बताउँदै यसलाई संरक्षण र प्रवद्र्धनका लागि आवश्यक रहेकोमा जोड दिए । सो अवसरमा उनले मगर समुदायको भाषा संरक्षणको लागि बुटवल उपमहानगरले मगर ढुट भाषामा नागरिक वडापत्र राखेर सुरुवात गरेको समेत बताए । बुटवलमा बसोबास रहेका हरेक समुदायको भाषा र सस्ंकार, संस्कृतिलाई बचाउन नगरपालिकाले कन्जुस्याई नगर्ने उनको भनाई थियो ।
सांस्कृतिक रूपमा धनी मगर समुदायले शैक्षिक र आर्थिक समृद्धिको कुरामा समेत ध्यान दिन बढी जरुरी रहेकोमा जोड दिए । नेपाल मगर संघ बुटवल उपमहानगर समितिका अध्यक्ष बसन्ती साठिघरे मगर, नेपाल मगर संघका केन्द्रीय उपमहासचिव कमला थापामगर, नेपाल मगर संघ जिल्ला समिति रूपन्देहीका अध्यक्ष प्रेम थापामगर लगायतले बोलेका थिए । कार्यक्रम संघका बुटवल नगर उपाध्यक्ष लुम बहादुर सारु, सचिव हेमन्त बुढाथोकी लगायतले बोलेका थिए । मगर समुदायले हरेक वर्ष मंसिर अन्तिम शुक्ल पूर्णिमाको दिन मगरहरूले आफ्ना पितृहरूको स्मरण गर्दै बाजेबजैलाई पूजाआजा गर्ने प्रचलन रहेको छ ।