© २०२३
भैरहवा ।
सिद्धार्थनगर नगरपालिकाका नवनियुक्त नगरप्रहरीहरुलाई नगर प्रहरी आधारभूत तालिम दिइएको छ ।
स्थानिय सरकार संचालन ऐन २०७४ बमोजिम शान्ति, सुरक्षा व्यवस्थापन तथा अन्य व्यवस्थापकिय प्रयोजनका लागि पालिका स्तरमा नगर प्रहरी परिचालन गर्न सक्ने व्यवस्था रहेको छ । नगरलाई थप व्यवस्थित बनाउनका लागि १ जना नगर प्रहरी सहायक निरिक्षक सहित १५ जना नगरप्रहरीहरु नियुक्त गरेको थियो ।
नगरपालिकाले छनौट गरेका नगर प्रहरीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल र सिद्धार्थनगर नगरपालिकाको समन्वय र सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीमा तालिम प्रदान गरि दिक्षीत गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको स्वीकृतीमा एक महिना सम्म संचालन भएको तालिमा गणले तयार पारिएको पाठ्यक्रम अनुसार गणमै नगर प्रहरी आधारभूत तालिम प्रदान गरिएको थियो ।
तालिमबाट नगर प्रहरीहरुलाई मानव अधिकार, अनआर्म्स कम्व्याट, विशिष्ट व्यक्ति सुरक्षा, महत्वपुर्ण संरचनाको सुरक्षा, सरकारी सम्पत्तिको सुरक्षा, विपद व्यवस्थापन, हुल तथा दंगा व्यवस्थापन तथा कार्यालय सुरक्षासँग सम्बन्धित विविध विषयहरुमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिलाई सक्षम, दक्ष र व्यवसायिक नगर प्रहरी तयार गरिएको थियो ।
प्रशिक्षार्थी नगर प्रहरीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीका योग्य प्रशिक्षकहरुद्धारा फौजी कवाज, नगर प्रहरीको काम, कर्तव्य र अधिकार, अग्नी नियन्त्रण, आपतकालिन उद्धार, कार्यालय सुरक्षा, विशिष्ट व्यक्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, सभा समारोह व्यवस्थापन, बल प्रयोगको सिद्धान्त, अनआई कम्व्याट, स्थानिय सरकार सँग सम्बन्धित विभिन्न ऐन नियमहरु, हुल तथा दंगा व्यवस्थापन, राहत वितरण तथा व्यवस्थापन प्रणाली, प्राथमिक उपचार, सुरक्षा निकायसँग समन्वय र सहाकार्य, व्यक्तिगत सुरक्षा, सुरक्षा खतरा मूल्याकंन, आधरभुत वडीगार्ड , महत्वपूर्ण प्रतिष्ठान तथा सरकारी सम्पतिको सुरक्षा, अतिथि सत्कार, लैङ्गिक सचेतना, भुकम्पीय उद्धार तथा व्यवस्थापन एवं बिपद उद्दार, नगर प्रहरी आचार संहिता, अनुशासन र असल आचरण जस्ता विषयहरुमा बृहत मात्रामा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिलाइएको गणपति सशस्त्र प्रहरी उपरिक्षक आनन्द थापा मगरले जानकारी दिए ।
प्रशिक्षार्थी नगर प्रहरीहरुको मूल्याङ्कनका लागि सैद्धान्तिक तर्फ १०० अङ्क र व्यवहारिक तर्फ १०० अङ्क गरी कुल २०० पूर्णाङ्कका विभिन्न परीक्षाहरु संचालन गरिएकोमा सबै परीक्षाहरु सम्पुर्ण प्रशिक्षार्थीहरुले उत्तिर्ण गरी सफलतापूर्वक तालिम सम्पन्न गरी कार्यक्षेत्रमा आज देखि खाटिन सक्ने गरि योग्य भएका छन । नवनियुक्त नगरप्रहरहरुलाई सिद्धार्थनगर नगर प्रमुख इस्तियाक अहमद खाँ,उपप्रमुख उमा अधिकारी, प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलगायतले प्रमाणपत्र तथा दर्जानी चिन्हद्धारा सुसोभित गरेका थिए ।
सो अवसरमा बोल्दै प्रमुख अतिथी मेयर खाँले नगरपालिकामा जनशक्ति अभाव भएको कारण नगरपालिकाले लिएको निति ‘ग्रिन, क्लिन, इकोफ्रेन्डली ’ सिद्धार्थनगर बनाउने पूर्ण हुन सकेको थिएन । राजश्व संकलनमा सक्रियता बढाउने, नगर सफा सुग्घर राख्ने, छाडा चौपाय, ठेला तथा इरिक्सा व्यवस्थापन, फोहोर मैला तथा बजार व्यवस्थापन, पार्किङ, नगरपालिकाको निर्णय कार्यान्वयन गराउने लगायतको कामम सक्रियता बढ्ने अपेक्षाका साथ स्वच्छ रुपमा नगरप्रहरी नगरपालिकाले नियुक्त गरेको बताए । उनले आजैबाट नगरप्रहरीको अधिकतम प्रयोग गरिने बताए ।
उपप्रमुख अधिकारीले नगरको नवनियुक्त प्रहरीको दक्षता बृद्धि गर्नका गणले जिम्मेवारी लिइ उत्कृष्ट क्षमता प्रदान गर्ने जस्तो महत्वपूर्ण काम गरेको बताइन । उनले नगरप्रहरीलाई तालिम प्रदान गर्ने गुरुको सम्मान, नगरपालिका र वर्दीको लगि अविचिलित नभई काम गर्न आग्रह गरिन ।
प्रमुख जिल्ला अधिकारी घिमिरेले मेहनत र लागवका साथ तालिम लिई कर्तव्य निष्टका साथ तोकेको जिम्मेवारी इमान्दारीपूर्वक पुरा गर्नुपर्ने बताए । यो तालिमले नगरपालिकालाई सुरक्षित नगरपलिाका बनाउन, कानुुन बमोजिमको क्रियाकलापको प्रोत्साहित गर्न र कानुन विपरितको काम नियन्त्रण गर्न, नगरपालिकाको निति नियम र निर्देशनको मातहतमा रहेर काम गर्नको लागि उर्जा प्राप्त होस भन्ने शुभकामना दिए । उनले सानो संख्यामा भएपनि राम्रो अभ्यास सिद्धार्थनगरले गरेको छ, यो नगरपालिकाको स्रोत साधन अनुसार कम भएकोले आगामी दिनहरुमा आवश्यकता अनुसार थप गर्नुपर्ने बताए ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक थापाले नगरको सिमित नगरप्रहरीले नगरको काममा कठिनाई पुगेकोले आवश्यक नगरप्रहरी नियुक्त गरेका हौ । जिम्मेवारीलाई अझै व्यवसयिक बनाउन यो तालिम प्रदान गरेको हो ।े नगरप्रहरी नहुदा नगरपालिकलाई धेरै क्षेत्रबाट कठिनाई भएको छ । राजश्व संकलन, अवैध संरचना, फुटपाथ अतिक्रमण, नगर व्यवस्थापन, निर्णय कार्यान्वयन लगायतको काम प्रभावकारी रुपले गर्नका लागि आजै बाट नगरप्रहरीलाई पूर्ण रुपमा प्रयोग गर्दे प्रभावकारी रुपले नतिजा आउने गरि काम हुने थापाले भने ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही, जिल्ला प्रशासन कार्यालय, प्रहरी तालिम केन्द्र बुटवल र पदपुर्ति समितिको सहकार्यमा छनोट प्रक्रिया गरिएकामा सशस्त्र प्रहरीले आधारभुत तालिम दिएको छ । १३ वटा वडा रहेको नगरपालिकमा ६ जना नगरप्रहरी रहेकोथिए, नवनियुक्तसँगै हाल २१ जना पुगेका छन ।