© २०२३
सिमकोट, २७ मंसिर।
हुम्लाको सिमकोट गाउँपालिका-७ स्थित डाँडाफया गाउँको कैलाश माध्यमिक विद्यालयका विद्यार्थीहरू हिउँमै बसेर अध्ययन गरिरहेका छन्। हिउँले जाडो थपेकाले विद्यार्थीहरू कक्षाकोठा बाहिर घाम ताप्दै हिउँ जमेको चौरमा पठनपाठन गरिरहेका छन्।
विद्यालयका शिक्षक यज्ञबहादुर शाहीका अनुसार, हिमपात भएपछि कक्षाकोठामा अत्यधिक जाडो भएको कारण, विद्यालयले बाहिर हिउँ जमेको चौरमा पठनपाठन गर्नुपरेको छ। “मंसिर महिनाको अन्तिममा जाडो बढिरहेको र हिमपातका कारण चिसो निकै बढेको हुँदा चौरमा राखेर पढाउनुको विकल्प छैन,” शिक्षक शाहीले बताए।
यस विद्यालयले बाल विकासदेखि कक्षा दशसम्मका झण्डै ३०० विद्यार्थीलाई चौरमा राखेर पढाइरहेको छ। हुम्ला जिल्लाका सबै विद्यालयहरूले यो शैक्षिक सत्रको अन्तिममा पढाइ सञ्चालन गर्दैछन्। पुस महिनाको पहिलो साताबाट वार्षिक परीक्षा सञ्चालन हुने योजना रहेको छ।