© २०२३
काठमाडौं।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित एक विशेष कार्यक्रममा प्रमुख आयुक्त आचार्यले नवनियुक्त आयुक्तहरु गगन विष्ट र दुर्गा भण्डारीलाई पनि सपथ गराउनुभयो।
सपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री ओलीले आयोगको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिँदै संविधानमा व्यवस्था भएको सूचनाको हकको कार्यान्वयन र उपयोगमा आयोगको महत्त्वपूर्ण जिम्मेवारी रहने बताउनुभयो। उहाँले मौलिक हकका रूपमा सूचनाको अधिकारको सुनिश्चितता र कार्यान्वयनमा आयोगले थप सक्रियता अपनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।
यही मङ्सिर ६ गतेको मन्त्रिपरिषद्को बैठकले सिफारिस समितिको सिफारिसमा आचार्य र अन्य आयुक्तहरूको नियुक्ति स्वीकृत गरेको थियो। आयोगका अघिल्ला पदाधिकारीहरूको कार्यकाल मङ्सिर २३ गते सकिएको थियो।