© २०२३
काठमाडौँ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल ‘वातावरणीय दिगो यातायात सम्बन्धी १६ औँ उच्च स्तरीय एसियाली क्षेत्रीय सम्मेलन’मा सहभागी हुन मनिला प्रस्थान गरेका छन्। शनिबार राति ९ बजे उनले मनिला प्रस्थान गरेका हुन्, मन्त्री दाहालको सचिवालयले जानकारी दिएको छ।
सम्मेलनको मुख्य उद्देश्य दिगो विकासका लक्ष्यलाई अघि बढाउन सहरी गतिशीलता, कार्बन उत्सर्जनको न्यूनीकरण, पर्यावरणमैत्री सहरहरूको विकास र सशक्तीकरणका बारेमा छलफल गर्नु हो। विभिन्न राष्ट्रका मन्त्रीहरू र विशेषज्ञहरूले सम्मेलनमा आ-आफ्नो देशमा भइरहेका अभ्यास, चुनौती र समाधानका उपायहरूको बारेमा विचार साझा गर्नेछन्।
मन्त्री दाहालको कार्यतालिकामा सम्मेलनका दौरान वायु प्रदूषणसम्बन्धी सत्रको अध्यक्षता गर्ने पनि रहेको छ। यस सम्मेलनमा सहभागी हुने अन्य प्रमुख व्यक्तिहरूमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा। शिवराज अधिकारी, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जन लगायतका व्यक्तिहरू छन्।
यस सम्मेलनको आयोजनामा संयुक्त राष्ट्रसङ्घ, एसियाली विकास बैंक र एसियाली पूर्वाधार लगानी बैंक लगायतका निकायहरूको सहभागिता रहेको छ। मन्त्री दाहाल र उनका सल्लाहकार हर्कराज राई यस सम्मेलनमा सहभागी हुनेछन्।
मन्त्री दाहालको टोली मङ्सिर २३ देखि २८ सम्म चल्ने चार दिने सम्मेलनमा सहभागी भएर आगामी २८ गते साँझ नेपाल फर्कने छन्।