© २०२३
काठमाडौं ।
अल्लु अर्जुन स्टारर ‘पुष्पा २’ ले भारतीय बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ । फिल्मले भारतीय फिल्मको इतिहासमा सबैभन्दा उच्च ओपनिङ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
फिल्मले एसएस राजामौलीको फिल्म ‘आरआरआर’को कीर्तिमानलाई तोडेको स्याकनिल्कले उल्लेख गरेको छ । यो एजेन्सीका अनुसार फिल्मले पहिलो दिन बिहीबार सबै भाषामा १७५।१ भारु नेट कमाएको छ । यो कमाइसँगै ‘पुष्पा २’ ले ‘आरआरआर’को ओपनिङ कलेक्सन १३३ करोडलाई उछिनेको छ ।
फिल्मले पहिलो दिन विश्वव्यापी २७० करोडदेखि २८० करोड भारुसम्म कमाइ गरेको बलिउड हंगामाले उल्लेख गरेको छ । यो पोर्टलका अनुसार फिल्मले पहिलो दिनमा मात्रै भारतभर २०० करोड कमाएको जनाएको छ ।
यो कमाइ अहिलेसम्मकै भारतीय फिल्मको उच्च ओपनिङ रहेको तरण आदर्श सम्पादक रहेको बलिउड हंगामाले जनाएको छ । यो फिल्मले ‘बाहुबली’ र ‘आरआरआर’को विश्वव्यापी ओपनिङलाई समेत उछिनेको उल्लेख छ । फिल्मले उत्तरी भारतमा मात्र ७० करोड भारु कमाएको जनाइएको छ ।
सुकुमार निर्देशित फिल्मले पहिलो दिन हिन्दी संस्करणमा मात्र ६८ करोड कमाइ गर्दै सर्वाधिक ओपनिङ गर्ने हिन्दी फिल्मको रुपमा रेकर्ड रचेको आजतकले जनाएको छ । शाहरुख खानको ‘जवान’को ओपनिङ कलेक्सन ६५।५ करोड भारुलाई समेत अल्लु अर्जुन स्टारर फिल्मले उछिनेको उल्लेख छ ।
हिन्दी संस्करणतर्फ ‘स्त्री २’ ले तेस्रो सर्वाधिक ५५।४० करोड भारु, ‘पठान’ले ५५ करोड भारु र ‘एनिमल’ले ५४।७५ करोड भारु ओपनिङ गरेका थिए । सन् २०१७ मा प्रभासको ‘बाहुबली २’ ले ४१ करोड कमाउँदै सबैभन्दा धेरै ओपनिङ गर्ने साउथ फिल्म बनेको थियो । सन् २०२२ मा ‘केजीएफ २’ लाई हिन्दीमा ५४ करोड भारुको ओपनिङ मिल्यो ।
‘पुष्पा २’ को नेपालको ओपनिङको कलेक्सन भने आइसकेको छैन ।