© २०२३
जीतपुर, १९ मंसिर ।
१५ औं कपिलवस्तु महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । महोत्सवको सम्पूर्ण तयारीको पुरा भएको र अन्य सौन्दर्यीकरणको काम जारी रहेको महोत्सवका संयोजक तथा कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले जानकारी दिए । महोत्सवलाई नयाँपन दिने गरि तयारी सम्पन्न भएको काम भईरहेको बताउँदै उनले भने, ‘अहिले समग्रमा तयारीको काम पुरा भयो । अहिले सजावटका काम भईरहेका छन् ।’ उनले कम्पाण्ड, स्टल, सचिवालय, बालउद्यान, प्रवेशद्धार, स्टेज, खानेपानी, पार्किङ स्थल निर्माणको काम सम्पन्न भएको बताए । उनले महोत्सवको उद्घाटन बुधबार दिउँसो १२ बजे नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गर्ने कार्यतालिका रहेको बताए । यस क्षेत्रको कला, सँस्कृति झल्कने विभिन्न झाँकीसहित महोत्सवको भव्य रूपमा उद्घाटन गरिने उनले बताए ।अध्यक्ष क्षेत्रीले बुधबारदेखि सुरु हुने महोत्सवलाई सभ्य र भव्य रूपमा सफल बनाउन दर्शकहरूलाई अवलोकनका लागी आह्वान समेत गरे । कपिलवस्तु महोत्सव जिल्लाकै गरिमा भएको बताउँदै उनले भने, ‘विशेषतः कपिलवस्तु जिल्लावासीलाई महोत्सव अवलोकनका लागी आह्वान गर्छ । सबै दर्शकलाई चुले निम्तो छ ।’उनले यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थलको संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सवले महत्वपुर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । यस क्षेत्रको समग्र पहिचान झल्किने गरि महोत्सव संचालन गर्न लागिएको बताए ।
आन्तरिक तयारीका काम विभिन्न समिति, उपसमितिमार्फत सम्पन्न भएको बताउँदै उनले भने, ‘अहिलेको महोत्सवले कपिलवस्तुको पहिचानलाई प्रदर्शन गर्न महत्वपुर्ण भूमिका निर्वाह गर्ने छ ।’ उनले हरेक दिन टिकटको रङ्ग परिवर्तन हुने व्यवस्था आयोजकले मिलाएको जानकारी दिदैं यसले डान्स आईडललाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउने विश्वास व्यक्त गरे । उनले सामान्य व्यक्तिका लागि टिकट ७० रूपैयाँ र विधार्थीका लागि ५० रूपैयाँ निर्धारण गरिएको जानकारी दिए । स्थानीय तथा घरेलु उत्पादनलाई महोत्सवले प्राथमिकता दिदै निशुल्क स्टल उपलब्ध गराउने प्रयासले सकारात्मक सन्देश प्रवाह हुने उनको भनाई छ ।
उनले यो महोत्सव कृषक, उद्योगी, व्यवसायीका लागि आफ्ना उत्पादन प्रदर्शन गर्ने थलोका रूपमा विकास हुने बताए ।कपिलवस्तु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक हुमनाथ पौडेलले विगतका महोत्सवहरूबाट पाठ सिक्दै यस महोत्सवलाई ऐतिहासिक बनाउने गरि संचालन गर्न लागिएको बताए ।उनले १५औं कपिलवस्तु महोत्सवलाई कपिलवस्तुकै उत्सावका रूपमा स्थापित गर्ने गरि तयारी गरिएको बताए । उनले यस क्षेत्रको समग्र पहिचान झल्किने गरि महोत्सव संचालन गरिने बताए । उनले महोत्सवमा २ लाख दर्शन भित्राउँदै करिब १० करोडको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको बताए ।१५ औँ कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा यही मंसिर १९ गतेदेखि पुष २ गतेसम्म बाणगंगा नगरपालिकाको बुद्धरंगशालामा हुदैंछ ।