© २०२३
भैरहवा, ०१ मंसिर ।
थारु कल्याणकारिणी सभाको २३ औं राष्ट्रिय महाधिवेशन रूपन्देहीको भैरहवामा हुने भएको छ । महाधिवेशन मंसिर १ देखि ३ गतेसम्म भैरहवास्थित पटवा बैंक्वेटमा हुने सभाले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । ‘थारुहरूको चाहना, न्याय, पहिचान, अधिकार र पूर्ण समानुपातिक समावेशी सहितको संघीय राज्य व्यवस्था’ भन्ने मूल नाराका साथ हुने महाधिवेशनको शनिबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उद्घाटन गर्ने थारु कल्याणकारिणी सभाका सह–महामन्त्री मिनराज चौधरीले बताए । ‘प्रतिष्ठित थारु नेता अगुवाहरूको आतिथ्यता तथा हजारौं थारुको उपस्थितिमा भव्य उद्घाटन समारोह हुनेछ,’ उनले भने ।
सह–महामन्त्रीका अनुसार सभाका केन्द्रीय अध्यक्ष ई. धनिराम चौधरीको संयोजकत्वमा मूल आयोजक समिति र कार्यवाहक अध्यक्ष तथा लुम्बिनी प्रदेश सभा सदस्य देवी प्रसाद चौधरीको नेतृत्वमा रहेको मूल आयोजक समिति मातहत गठन भएका विभिन्न तयारी उपसमितिले तोकिएको जिम्मेवारी अनुरूप महाधिवेशनको सम्पूर्ण तयारी गरिसकेको छ । ‘बन्द सत्रमा राष्ट्रिय महाधिवेशनमा सभाको केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू एवं थरुहट तराईको पश्चिम जिल्ला कञ्चनपुरदेखि पूर्व झापा, कास्की, काठमाडौं, उपत्यकासहित २६ जिल्ला र प्रवास (विदेश) शाखा जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, दुबई, कतार, मलेसिया (६ शाखा), सभाको भातृ संस्था थारु कानून व्यवसायी सभा, महिला सभा, युवा सभा र विद्यार्थी सभा गरी ४ संस्थाबाट करिब ३ सय जना केन्द्रीय प्रतिनिधि÷पार्षद्हरूको सहभागीता रहनेछ, ’चौधरीले भने ।
उद्घाटन समारोह र बन्द सत्र गरी दुई चरणमा सम्पन्न हुने महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै विद्यान संशोधन, कार्यप्रगति प्रतिवेदन, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदनसहित आगामी भावी नीति तथा कार्यक्रमहरू तय गरी पारित गर्ने उनको भनाइ छ । ‘अहिलेको संविधानमा हाम्रा केही विमत्ति छन्, सरकारले थारुहरूको माग पूरा गरेको छैन । माग पूरा गराउन सरकारलाई दबाब दिन्छौं, ’उनले भने ।
थारुको गौरवशाली राष्ट्रिय साझा संस्था थारु कल्याणकारिणी सभाको २३ औं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न करिब ४४ लाख रूपैयाँ खर्च हुने कार्यवाहक अध्यक्ष देवी प्रसाद चौधरीले बताए । महाधिवेशनको कार्यक्रम अन्तर्गत मंसिर १ गते शनिबार बिहान ९ बजे बुद्धचोकबाट पटवा बैंक्वेटसम्म झाँकी ¥याली प्रदर्शन गरिने उनले बताए । त्यस्तै महाधिवेशनको दिउँसो १ बजे उद्घाटन हुने चौधरीले जानकारी दिए । २३ औं राष्ट्रिय महाधिवेशन मूल आयोजक समितिका अनुसार महाधिवेशनले मंसिर ३ गते सिद्धार्थनगर रूपन्देही घोषणा पत्र जारी गर्नेछ ।