© २०२३
प्यूठान, २६ कार्तिक ।
भौगोलिक हिसावले जिल्लाको दुर्गम पालिकाको रूपमा रहेको गौमुखी गाउँपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण थालेको छ । स्थानीय जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्ति र अशक्त ब्यक्तिलाई लक्षित गरेर वडाबाटै भत्ता वितरण शुरु गरिएको हो ।गौमुखी गाउँपालिका र नेपाल एसबीआई बैंकको सहमतिमा वडाबाट भत्ता वितरण गरिएको छ । आज गाउँपालिकाको वडा नं. १ वडाबाट शुरु भएको वितरण कार्य सबै सात वटा वडामा पुगेर गरिने गाउँपालिकाका अध्यक्ष विष्णु गिरीले जानकारी दिए । बैंकबाट भत्ता वितरण गर्दा दुःख भएको भन्दै सेवाग्राहीले यसअघि आन्दोलन समेत गरेका थिए । आन्दोलनपछि वडामा पुगेर भत्ता वितरण गर्ने सहमति भएको थियो । वडाबाट सामाजिक सुरक्षा भत्ता वितरणले लामो दुरीबाट भत्ता लिन आउँदा सास्ती भोग्दै आएका नागरिकलाई सहजता पुग्ने गाउँपालिकाको विश्वास रहेको गिरीले बताए । आइतबार भएको वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष महाविर रानामगर, वडाका जनप्रतिनिधि, कर्मचारी र एसविआई बैंकका कर्मचारी पुगेका हुन् । जिल्लाका मल्लरानी गाउँपालिका, स्वर्गद्वारी नगरपालिका नौबहिनी गाउँपालिकाले बैंक संगको समझदारीमा गाउँ पुगेर भत्ता वितरण गर्दै आएका छन ।