© २०२३
शिक्षा देश विकासको पहिलो आधार हो । यसले देश विकासलाई आवश्यक पर्ने सबैखाले मानव संसाधन उत्पादन गर्दछ ।देशमा विद्यमान शिक्षा कस्तो छ, कुन स्तरको छ, त्यसले कुन स्तरको जनशक्ति उत्पादन गर्न सक्छ भन्ने कुराले विकासको गति र देशको भविष्य निर्धारण गर्दछ । फिनल्याण्ड युरोपमा अवस्थित लोकतान्त्रिक गणतान्त्रिक संसदीय शासन व्यवस्था भएको मुलुक हो । एचयनचबm ायच क्ष्लतभचलबतष्यलब िक्तगमभलत ब्ककभककmभलत ९एक्ष्क्ब्० को २०१८ को प्रतिवेदन अनुसार फिनल्याण्डको शिक्षालाई विश्वकै उत्कृष्ट मान्न सकिन्छ । नेपालमा मात्र होइन समग्रमा विश्वभरि नै सरकारी तथा सामुदायिक विद्यालयहरुमा भन्दा नीजि विद्यालयहरुमा आम अभिभावक र विद्यार्थीहरुको आकार्षण बढ्दो क्रम रहेता पनि फिनल्याण्डमा भने कुनै पनि नीजि विद्यालय नभई सामुदायिक विद्यालयहरुमात्र सञ्चालनमा रहेका छन् । हामी नेपालीलाई सुन्दा अचम्म लागे पनि यो सत्य हो । हुन त छिमेकी मुलुक भारतको दिल्लीका मूख्यमन्त्री अरविन्द केजारिवलले दिल्लीका सरकारी विद्यालय आम विद्यार्थी एबं अभिभावकको पहिलो रोजाई बन्ने गरी आवश्यक सुधार गरीरहेको देखिन्छ । उनको यो सुधारले सरकारी विद्यालयले शैक्षिक गुणस्तरमा छलांग मार्ने जानकारहरु बताउँछन् । तर नेपालमा भने सरकारी विद्यालयमा विद्यार्थीको संख्या तिब्र गतिमा घट्दै गएपछि सरकारी विद्यालयमा आवश्यक सुधार नगर्ने तर विद्यार्थीलाई आकर्षण गर्न छात्रवृत्तिको ललिपप देखाउँंदै आइएको छ र गुणस्तरीय शिक्षाप्रति सरकारको चिसोपन देख्दा अभिभावक तथा विद्यार्थीलाई आकर्षण गर्ने यो खालको ललिपपको आयु लामो हुने देखिन्छ । तर आश्चर्य लाग्ने कुरा के छ भने हामीकहाँ देशको समग्र शैक्षिक प्रणालीको बागडोर सम्हाल्ने शिक्षा मन्त्रालय हाक्ने अहिलेसम्मका धेरैजसो शिक्षामन्त्रीहरु आफ्नो जीवनको एक अंश शिक्षकको रुपमा ब्यतित गरेको पाइन्छ । कस्तो बिडम्बना ?
नेपालमा जस्तै फिनल्याण्डको शिक्षा प्रणालीलाई तीन तहमा विभाजन गरिएको छ । नेपालमा कक्षा १ देखि ८ सम्म आधारभूत तह, कक्षा ९ देखि १२ सम्म माध्यमिक तह र सो भन्दा माथि विश्वविद्यालय तह गरी तिन तहमा बिभाजन गरिएको छ भने फिनल्याण्डमा कक्षा १ देखि ९ सम्मको अध्ययन गरिने तहलाई आधारतभूत तह, कक्षा १० देखि १२ सम्मलाई उच्च माध्यामिक तह भनिन्छ र सो भन्दा माथि अध्ययन गरिने तहलाई विश्वविद्यालय तह भनिन्छ . फिनल्याण्डमा ७ वर्षको उमेर पुगे पश्चात बालबालिकाहरु विद्यालय जाने गर्दछन् । सो भन्दा अगाडि बालबालिकाहरुले किन्डरगार्डेनमा खेल्ने, साथी बनाउने, रमाउने लगायतको क्रियाकलापहरु मात्र गर्ने गर्दछन । तर नेपालमा भने २ बर्ष पुग्दा नपुग्दै बालबालिकालाई विद्यालय पठाउने हतार हुन्छ । यदि बच्चा पांच बर्ष पुगेपछि मात्र विद्यालय पठाउँछु भनी कोही अभिभावक बस्दछ भने उसको कुरा ठिक हुँदाहुँदै पनि उसलाई हाम्रो समाजले नजान्ने, नबुझ्ने, समय अनुसार अगाडि बढ्न नसक्ने जस्ता दोषारोपण गर्न पटक्कै पछि पर्दैन र अन्तत्वगोत हामी जो कोही पनि सामाजिक दबाबको कारण २–३ बर्षको बच्चालाई घरमा राख्न सक्दैनौ र किताब कापीको भारी बोकाई स्कुल पठाउन बाध्य हुन्छौं । यसरी हाम्रा अबोध बालबालिकाहरु खेल्ने, साथी बनाउने, रमाउने लगायतको क्रियाकलापहरु गर्ने उमेरमा हामीले उनीहरुलाई स्कुल जाने, पढ्ने, कक्षाकार्य, गृहकार्य आदिमा ब्यस्त बनाउँछौ र भन्छौ बच्चा सामाजिक भएन, ब्यावहारिक भएन आदि आदि । वास्तवमा हामीले उनीहरुलाई पढाई लेखाई सिवाय अरु केही काम गर्न त परै जाओस् सोच्न सम्म फुर्सद दिएका छैनौ । यस्तो अवस्थामा अब आउने पिढी कसरी सामाजिक बन्छ ? कसरी ब्यवहारिक बन्छ ?. यदि फिनल्याण्डमा जस्तै बच्चालाई खेल्न, साथी बनाउन, रमाउन दिने र ७ बर्ष पुगेपछि पढ्न पठाउने हो भने बच्चाको शैक्षिक मात्र नभई सर्वांङ्गीण विकास हुने देखिन्छ ।
फिनल्याण्डमा सन १९७२ भन्दा पहिले उच्च माध्यमिक तह भन्दा अगावै विद्यार्थीहरुले एकेडेमिक वा भोकेसनल मध्ये कुनै एक विधामा अध्ययन गर्नु पर्ने व्यवस्था थियो, यसले सामाजिक तथा आर्थिक असमानता भएका विद्यार्थीहरुको शिक्षाको पहुँचमा असमान अवसरको सृजना गरेको देखियो । साथै, कुनै विद्यालयहरुमा स्रोत साधानको पर्याप्तता अधिकतम हुने र कुनै विद्यालयमा स्रोत साधनको अभावले गर्दा विद्यार्थीहरुको सिकाइको अवसरमा असमानता रहेको देखियो । यस्तो असमानता हटाउन एबं आधुनिक तथा व्यवहारिक शिक्षाको बढ्दो मागलाई सम्बोधन गर्न फिनल्याण्डले सन १९७२ देखि कक्षा नौसम्म सबै विद्यार्थीहरुले अनिवार्य एकै किसिमको एकेडेमिक शिक्षा लिनु पर्ने व्यवस्था कायम गर्यो । आधारतभूत तह उत्तीर्ण भएका विद्यार्थीहरुले तीन वर्षे माथिल्लो माध्यमिक कक्षामा अध्ययन गर्न पाउनेछन । जसमा दुई तरिकाको शिक्षा हुन्छ । पहिलो एकेडेमिक शिक्षा जसबाट पछि डाक्टर, इन्जिनियर, कानुन, विज्ञान, वाणिज्य, शिक्षा वा अन्य संकायमा अध्ययन गर्न पाउने छन् भने अर्को भोकेसनल (व्यवसायिक) शिक्षा जसबाट अध्ययन सकेपछि काम गर्न पाउनेछन् । यद्दपि यी दुवै शिक्षा सकेपछि पनि पुनः एकअर्कामा स्थानान्तरण गर्न पाउने व्यवस्था पनि रहेको छ । विद्यार्थीहरुले उच्च माध्यामिक विद्यालयको अध्ययन पश्चात विश्वविद्यालयमा अध्ययन गर्न पाउँछन् ।
फिनल्याण्डको शैक्षिक प्रणाली संसारको उत्कृष्ट शैक्षिक प्रणाली त्यसै बनेको होइन । यसो हुनुमा त्यहाँको शिक्षक छनौट प्रक्रिया, उत्कृष्ट सिकाइ वातावरण, निरन्तरत कक्षा स्तरोन्नति, काउन्सिलिङ कार्यक्रम, पाठ्यक्रमको निर्माण, शिक्षकहरु जिम्मेवार हुनु तथा विश्वास गरिनु, निःशुल्क शिक्षा, अतिरिक्त क्रियाकलाप आदिले महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । फिनल्याण्डमा शिक्षक बन्नको लागि स्नातकोत्तर उत्तीर्ण गरेको हुनु पर्दछ । शिक्षणलाई सबै भन्दा आकर्षित र उच्च कोटीको पेशाको रुपमा लिइन्छ । माथिल्लो माध्यमिक विद्यालयमा उत्कृष्ट रहेका विद्यार्थीहरुले मात्र शिक्षक बन्नका लागि विश्वविद्यालयमा भर्ना हुन पाउँदछन् । शिक्षक बन्नका लागि विश्वविद्यालयमा अध्ययन गर्न प्रवेश परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्नु पर्ने, अतिरिक्त क्रियाकलापहरुमा उत्कृष्ट रहेको हुनु पर्ने तथा शिक्षक बन्नुको मुख्य उद्देश्य पनि विश्वविद्यालयले लिने अन्तर्वार्तामा जवाफ दिनु पर्दछ । त्यस्तै गरी प्राथमिक तहमा अध्यापन गराउनु पर्ने शिक्षकहरु संगीत, गायन, खेलकुद, गणित र विज्ञान विषयमा उत्कृष्ट हुनु पर्दछ । विश्वविद्यालयमा विशेषगरी अनुसन्धान, प्रयोग तथा अध्यापन अभ्यास गर्नु पर्दछ । प्राथमिक शिक्षकहरुले शिक्षा विषयमा र माध्यमिक शिक्षकले आफ्नो अध्यापन गर्नु पर्ने विषयमा स्नतकोत्तर गरेको हुनु पर्दछ । यसरी हरेक कोणबाट क्षमतावान शिक्षक छनौट गरेपछि शैक्षिक क्षेत्र कहिल्यै पछाडि नपर्ने प्रष्टिन्छ ।
फिनल्याण्डमा प्रत्येक विद्यार्थीको सिकाईको प्रगति भने मूल्यांकन गरिन्छ । मुल्याकन पश्चात कुनै विद्यार्थीहरु कुनै विषयमा कमजोर भएको पाइएमा उसलाई विशेष कक्षाको व्यवस्था गरिन्छ । विद्यार्थीहरुलाई सधै उत्प्रेरणा र प्रोत्साहन प्रदान गर्ने हेतुले फिनल्याण्डमा कहिले पनि कक्षा दोहो¥याउने गरिदैन वा फेल गरिदैन । शिक्षकहरुका अनुसार विद्यार्थीलाई कक्षा दोहो¥याउँदा पहिलो त विद्यार्थीहरुको मनोबल घट्ने तथा विद्यार्थीको सिक्ने क्षमतामा कमी ल्याउने गर्दछ । विद्यार्थीहरुको अध्ययनलाई थप प्रभावकारी बनाउन काउन्सिलिङ कार्यक्रमहरुको व्यवस्था गरिएको हुन्छ । यसले विशेषतः आधारतभूत तह उत्तीर्ण गरिसकेका तर माथिल्लो माध्यामिक कक्षा सुरु गर्ने विद्यार्थीका लागि भोकेसनल माथिल्लो माध्यमिक शिक्षा वा एकेडेमिक माध्यमिक शिक्षा वा कुनै काम गर्ने भन्ने विषयमा विद्यार्थीहरुलाई परामर्श दिने काम गर्छ । फिनल्याण्डका विद्यालयमा उपलब्ध स्रोत साधन तथा विद्यार्थीहरुको सिक्ने क्षमताको आधारमा हरेक शिक्षकहरुले आफैले पाठ्यक्रम निर्माण गर्दछ । विद्यालयमा शिक्षकहरुले थोरै समय शिक्षण गर्नुपर्ने तथा धेरैजसो समय पाठ्यक्रम डिजाइन तथा निर्माण गर्दछन् । यसबाट विद्यार्थीको वास्तविक आवश्यकता पहिचान गरी विद्यार्थीको स्तर अनुसार अध्यापन गराउन सहज गराउँछ । कमजोर तथा अब्बल विद्यार्थीहरुलाई फरक फरक शिक्षा दिइन्छ ।
फिनल्याण्डमा शिक्षकलाई जवाफदेही भन्दा पनि जिम्मेवार बनाइने गरिन्छ । अभिभावकहरु शिक्षक प्रति विश्वास राख्ने र शिक्षकहरु पनि अभिभावक तथा विद्यार्थीहरु प्रति जिम्मेवार हुने गर्दछ । त्यस्तै गरी विद्यालयमा माथिल्लो निकायबाट कुनै पनि प्रकारको निरीक्षण गर्ने, हस्तक्षेप गर्ने कार्यहरु गरिदैन । यद्यपि शिक्षकहरुले अभिभावक तथा सरकारी निकायहरुमा विद्यार्थीको प्रगतिहरु पठाउनु पर्दछ । फिनल्याण्डमा बसोबास गर्ने स्वदेश तथा विदेशी जो कोहीलाई पनि निःशुल्क शिक्षा पाउने व्यवस्था रहेको छ । चाहे विद्यालय होस् वा विश्वविद्यालय जुनसुकै संकायमा अध्ययन गर्न कुनै शुल्क तिर्नु पर्दैन । शिक्षा प्राप्तिलाई मानवअधिकारको रुपमा लिइएको हुनाले निःशु्ल्क शिक्षाको व्यवस्था गरिएको छ । अभिभावकहरुले आफ्ना बालबालिकाका लागि राम्रा विद्यालयहरुको खोजी गर्नु पर्दैन । किनकी सबै विद्यालयहरु राम्रा नै हुन्छन् । विद्यालयहरुलाई राम्रो नराम्रो भनी कहिले मुल्यांकन गरिँदैन । विद्यार्थीहरुको चौतर्फी विकासको लागि खेलकुदको प्रशस्त सुविधा तथा व्यवस्था रहेको छ । विद्यार्थीहरुलाई विद्यालयमा समय विताउन र विद्यालयमा नै आउने वानीको विकास गराउन पनि खेलकुदले प्रभावकारी भूमिका निर्वाह गर्दछ । त्यस्तै विद्यार्थीहरुलाई संगीत तथा नृत्य सिक्न, भिडियो गेम तथा कार्टुन हेर्न पाउने अवसर समेत प्राप्त रहेका छन् ।
हामी नेपालीले खासगरी २०४६ सालको बहुदलीय प्रजातन्त्र स्थापित गर्न सफल जनआन्दोलन–१ पश्चातका बिभिन्न राजनीतिक दलको नेतृत्वमा बनेका हरेक सरकार र २०६२÷६३ सालको संघीय गणतन्त्र स्थापित गर्न सफल जनआन्दोलन–२ पछिका आफुलाई महान क्रान्तिकारी भन्ठान्नेहरुका नेतृत्वमा बनेका सरकारबाट समेत शिक्षालाई वैज्ञानिक, प्राविधिक, ब्यावसायिक, सीपमूलक, रोजगारमूलक एवम् जनमुखी बनाउँदै सक्षम, प्रतिस्पर्धी, नैतिक एवम् राष्ट्रिय हितप्रति समर्पित जनशक्ति तैयार गर्ने, “शिक्षा क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्दै शिक्षामा भएको निजी क्षेत्रको लगानीलाई नियमन र ब्यवस्थापन गरी सेवामूलक बनाउने र उच्च शिक्षालाई सहज, गुणस्तरीय र पहुँचयोग्य बनाई क्रमशः निशुल्क बनाउँदै लैजाने भन्ने कुरा पटक पटक आएपनि यी कुरा नेताका भाषणमा सिमित भए , नीतिमा सिमित भए कार्यान्वयनमा कहिल्यै आएनन् भन्दा अतुयुक्ति नहोला । यहाँ अन्तर्राष्ट्रिय रुपमा सुपरिचित एबं देशकै जेष्ठ विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय आफैले निर्माण गरेको शैक्षिक क्यालेन्डर कार्यान्वयनमा ल्याउन सक्दैन । परिक्षा लिएको १३ महिना बित्दा पनि नतिजा निकाल्न नसक्नु यसको ज्वलन्त उदाहरण हो ।देशको शैक्षिक स्थिति बढो गम्भीर छ । त्यसैले राजनीतिक दलका नेताहरु, नीति निर्माण कर्ताहरु, ब्यवस्थापकहरु, प्रशासकहरु, नियमन गर्ने निकायहरु आदि सबैले पूर्व राजा विरेन्द्रले भने झैं कुरा भन्दा काम धेरै गर्न थाल्ने र देशको शैक्षिक गुणस्तर उकासी दक्ष जनशक्ति उत्पादन गर्न फिनल्याण्डको शैक्षिक प्रणालीबाट केही कुरा सिक्ने कि ?