© २०२३
सुर्खेत, २७ भदौ ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले कर्णालीमा सञ्चालित युएनडिपिको कार्यक्रमहरुलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । यूएनडिपी नेपालका फिल्ड अफिस प्रमुख रफिक सिद्धिकी र अन्य परियोजना प्रमुखहरूसँग भएको भेटमा मन्त्री शाहले युएनडिपीका कार्यक्रमहरु अझै नतिजामुखी बनाउनुपर्नेमा जोड दिए ।
उनले विकासका कार्यक्रमहरूमा ठूलो रकम खर्च भए पनि जनताले प्रत्यक्ष रुपमा अनुभव गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् । मन्त्री शाहले विकास साझेदारहरूसँगको सहकार्यलाई अझै प्रभावकारी बनाउनु पर्ने जनाएका छन् ।
उनले विकासका नाममा भएको खर्चलाई जनताले प्रत्यक्ष अनुभव गर्न सक्ने गरी परिणाम देखिने काम गर्न आवश्यक भएको बताए । शाहले अबको विकास परियोजनाहरूलाई नतिजामुखी बनाउनुपर्ने भन्दै, सरकार र गैरसरकारी संस्थाहरूले जनताको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने कार्यक्रमहरू प्राथमिकतामा राख्नुपर्ने धारणा राखे ।
युएनडिपी नेपालका फिल्ड अफिसका प्रमुख सिद्धिकी तथा प्रतिनिधिहरूले कर्णाली प्रदेशमा सञ्चालित विभिन्न परियोजनाहरूको प्रगति र प्रभावको बारेमा जानकारी गराउँदै, आगामी दिनहरूमा पनि कर्णालीको विकासका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए ।