© २०२३
उपन्यासमा भनिएको छ–मुटुमा शत्रुका वाणले घोचेर जोडिएको हो अटोमन राज्य । अहिलेको टर्की । सोही साम्राज्यका राजा हुन् सुल्तान सुलेमान खान । सोह्रो शताब्दीका राजा थिए उनी । उनका बारेमा खोज,अध्ययन र अनुसन्धान गरी उपन्यास लेख्न पनि उपन्यासकारलाई दुई वर्ष लागेको ‘आफ्नै कुरा’मा सुशीला भुसालले लेखेकी छिन् ।
उपन्यासमा सुल्तानको राजनीति र यौन चरित्रका बारेमा खुलेर लेखेकी छिन् सुशीलाले । समाजमा यौनका बारेमा कुण्ठित विचार,भावना र व्यवहार छन् तर उनले सुल्तानको यौन व्यवहारलाई समाजसँग जोडेर लेखेकी छिन् । दरवारमा राजा,महाराजाहरूले केकस्ता यौन व्यहार गर्दा रहेछन् भन्ने कुरा उपन्यास पढ्दा थाहा हुन आउँछ । महिलाहरूलाई कसरी यौनदासी बनाइन्छ र राजाहरू कसरी यौनपिपासु हुँदा रहेछन् भन्ने कुराको यकीन कुरा बुझ्न यो उपन्यास साक्षीका रूपमा रहेको छ ।
उपन्यासमा उल्लेख गरिएको छ–नारीलाई एउटा सहारा चाहिन्छ । एउटा वर,एउटा घर र एउटा थर चाहिन्छ । तर दरवारमा राजाका धेरै नारी रखौटीका रूपमा रहेका हुँदा रहेछन् भन्ने उपन्यासले बताउँछ । अनि यही कुराले अर्को प्रश्न पनि जन्माउँछ कि नारीको सहारा पुरुष नै हो ? नारीलाई वर नै चाहिन्छ जीवन गुजार्न वा थर र घरविहीन भइ नारी बस्न सक्दैनन् ? अहिलेको परिवेशमा यो उपन्यासको पात्रले बोलेको संवादप्रति प्रश्न खडा हुन सक्छ ।
हरेक मान्छे बाहिर जे देखिन्छ त्यही नहुँदो रहेछ । यही कुरा काफी छ । दरवारबाहिर ठाँटिएर हिड्ने राजा,राजकुमारहरू दरवारभित्र कस्ता हुँदा रहेछन् ? कतिसम्म यौनपिपासु हुँदा रहेछन् भन्ने कुराको दसीप्रमाण उपन्यासका पात्रहरूले दिएका छन् । एउटा पुरुषको हात समाएर अर्को घरको संघार तर्नेहरू धेरै छन् उपन्यासमा । उपन्यास पढिरहँदा फिल्म हेरेजस्तै लाग्छ । सलल बगेको उपन्यास छ तर पढ्न भने महाभारतै लाग्यो मलाई भने । विदेशी पात्रहरू,ठाउँ विशेष भूमिका र कामहरू । पढ्दैजाँदा धेरै भुलिने ।
अठार अध्यायमा समापन भएको यो उपन्यासमा राजा,महाराजाहरूको राजनीतिका कुराहरूलाई पनि गहिरो अध्ययन गरी प्रष्ट्याईएको छ । राजनीतिलाई बाहुबल र वुद्धिको खेलसँग जोडिएको छ । वीरको वचन खुकुरीभन्दा कमजोर हुनुहुँदैन । राज्य विस्तारका कुरा बाहुबलबाट सम्भव देखाइएको छ भने राजनीतिलाई कुट्नीति,चाडक्यनीतिसँग समाहित गरिएको छ ।
उपन्यासमा तत्कालीन समयको सपाट राजनीतिमात्र छैन । नयाँ पुस्तालाई र नेपाली परिवेशमा यसको गहन अर्थ लाग्ने मोडहरू समेत छन् । पात्रहरूको भूमिकाले नेपाली राजनीतिमा समेत कतै मेल खाएको देखिन्छ । राजनीतिमा अनेक खेल खेल्नुपर्ने कुरा सुल्तान उपन्यास पढेपछि थाहा हुन्छ ।
यहाँ विभिन्न धर्मका बारेमा चर्चा समेत गरिएका छन् । धर्मले राज्य सञ्चालकहरूलाई आडभरोसा दिएका हुन् जस्तो लाग्छ । नत्र नेपालका राजाहरूले पनि काम आफूहरूले बिगार्ने अनि जिम्मा पशुपतिनाथलाई किन दिन्थे होलान् र ? राज्य सञ्चालकहरूले राज्यलाई मागी खाने भाँडो बनाएको मात्र रहेनछन् । यिनीहरूले धर्मको नाममा आफूलाई सम्राट बनाउन सधैं जनतामाथि राजनीति गर्दारहेछन् भन्ने कुरा नेपालमा पाइएकै हो ।
आशा जगाएर भरोसा दिन नसक्दा नेपालमा राजतन्त्र ढल्यो । अनेक कारण छन् तर पनि जनताको आशा भरोसामा बदलिएन आज पनि । चाहे जुन तन्त्र किन नहोस् ? सरकारको मुख्य काम भनेकै जनताप्रति झुकाव राख्ने र जनताकै प्रिय हुन प्रयास गर्ने हो । जनमुखी हुन नसक्दा संसारका कैयौं शासन र शासकहरू ढलेका छन् । उदाहरणका लागि बंगलादेशी सरकार ताजै छ । दमन र दबाबले होइन ,सिर्जना र सहयोगले नै सरकार चल्ने हो ।
बहसको तातो वाफले झ्यालको सिसा धमिलो होला तर बहसविनाको निष्कर्ष र निर्णय गोठामूति न्यानो सावित हुनेछ । सरकार र जनताबीचको बहस आवश्यक हुने गर्छ । बहसमा विचार मन्थन हुन्छ । विचारले नयाँ गोरेटो देखाउने छ । तर आज बहस कसकाबीच हुँदैछन् ? जनता र सरकारबीच भेट हुन्छ ? सरकारले जनतालाई रैति वा प्रजा देख्ने बानी हटेको पाइँदैन । जनता नागरिक हुन सकिरहेका छैनन् ।
उपन्यासकारले पात्रहरूलाई न्याय दिएकी छिन् । एक्टरहरू आफ्नै भूमिकामा मस्त र व्यस्त छन् । सुल्तानले राज्यविस्तार र यौनविस्तार सँगसँगै गरेका छन् । उनलाई भूगोल र भावना उस्तै लागेका छन् । माटो र मायालाई बढाउने काममा पछि हटेका छैनन् । कैयौं सम्राटहरू सीमित मायाकै कारण राज्यको माटो बढाउन नसकेका इतिहासहरू कायमै छन् । राजनीतिलाई मायाकै सेरोफेरोमा घुमाउँदा सत्ता सञ्चालकहरू प्रेमको माखेसाङ्लोमा फसेका छन् ।
उपन्यासमा उल्लेख गरिएका कतिपय वाक्यहरूले च्वाँस्स गोप्छन् । रात आइमाइको हैन भन्ने ख्याल छैन तँलाई ?,छोरीले पैतृक सम्पत्तिमा रमाउने र माइतीको थर समाउने कतिञ्जेल ? लोग्ने मान्छे राँडो भएर बाँच्न साह्रै सकस हुँदो रहेछ । सन्तानको आँसुको श्राप केहीले पखाल्दैन भन्छन् । सम्राटको इच्छा नै हाम्रो आदेश हो । आफूले लुकाएको बस्तु आफ्नो हुँदो रहेनछ ।
उपन्यासलाई पठनीय र संग्रहणीय बनाउनका लागि सुशीलाले भरमग्दूर प्रयास गरेकी छिन् । उनको मिहिनेत र शिक्षा प्रकाशनको प्रयास अति नै प्रशंसनीय छन् । विदेशी कथा,विदेशी भूमि र भूमिकामा रहेर लेख्दा उपन्यासकारलाई कठिन भए होलान् भन्नै पर्दैन । पढ्नेलाई त सकसै छ । निरन्तर र एकै बसाइमा उपन्यास पढेर भ्याउन पाएमा जाती हुने थियो । सम्झना ताजा हुने थियो ।
भाषिक शुद्धता छ । विषयवस्तु बगेको छ । कथाले पात्र अनुसारको भूमिका पाएकै छ । उपन्यास राम्रो छ । यो उपन्यास पढेपछि दुई सय ४० वर्ष शाह वंशले सञ्चालन गरेको राजतन्त्रात्मक राज्यप्रणाली र एक सय चार वर्षसम्म जहाँनिया राणाहरूले चलाएको राणा शासनका बारेमा विस्तृत रूपमा बुझ्ने र पढ्ने सोच पलाएको छ । उनीहरू पनि दरवारमा बसेर राजनीति र यौनका कुरा कति गर्थे होलान् भनेर । दाँज्न मन लागेको छ ।