© २०२३
यो आलेखमा खासगरी उत्पादनशील क्षेत्र (उद्योग) र सहर-बजारमा हुने आगलागीका घटनाका कारणहरू खोज्ने प्रयास गरिएको छ । यस्ता घटनाबाट हुने क्षतिलाई कसरी कम गर्ने भन्ने सन्दर्भमा क्षति न्यूनीकरणका लागि स्थानीय साधन, श्रोतको पहिचान र परिचालन कसरी गर्ने ? क्षतिपछिको पुनस्र्थापनाका लागि बिमा, विपद् व्यवस्थापन कोषको उपयोगको सहज पहुँच र प्रक्रिया के के हुन ? अग्नि पीडितहरूलाई कसरी तत्काल उद्योग तथा व्यवसाय सञ्चालन गर्ने वातावरण निर्माण गर्न सकिन्छ ? विपद्पछिको कर तथा राजस्वको फस्र्यौट कसरी हुन्छ ? भन्ने जस्ता अनगिन्ती प्रश्नहरूको जवाफ साना तथा मझौला करदाताहरू, उद्योगी तथा व्यावसायिक क्षेत्रबाट खोजी भइरहेको अवस्था छ । व्यवसाय सञ्चालकका यी समस्याको समाधान गर्ने बाटोमा कसरी अग्रसर हुन सकिन्छ भन्ने विषयलाई समेत समावेश गरी यो आलेख तयार पारिएको छ ।
पछिल्ला केही वर्षहरूदेखि उद्योग, व्यापार र सेवा क्षेत्रमा हुने आगलागीका घटनाहरू बढ्दै गएका छन् । यसबाट धेरै उद्योगी व्यवसायीहरू अरबपति, करोडपति र लखपतिबाट एकैपटक सडकपति भएका अनेक दृष्टान्तहरू देख्नु र सुन्नुपरेको छ । धेरै ठाउँमा विद्युत् सर्ट भई आगलागी भएको समचार आउने गरेका छन् । साँच्चै नै विद्युत् सर्ट हुनाको कारण र त्यसबाट बच्ने उपाय खोज्न सकिएन भने व्यावसायिक क्षेत्र (सहर÷बजार) र उत्पादनशील क्षेत्र (उद्योग) लगानीकर्ताका लागि असुरक्षित हुने छ । विद्युतीय सामाग्रीको प्रयोग र विद्युतको पावर सप्लाईबीच सन्तुलन कायम हुन नसक्दा पनि विद्युत् सर्ट हुने सम्भावना बढेर जाने गर्छ । विद्युतको तार, प्लग, स्विच, एमसिबी र स्विचबोर्ड जस्ता स–साना कुरामा ध्यान पु¥याउन सके मात्र पनि दुर्घटनाको जोखिम घटेर जान सक्छ । पावर सप्लाई कम हुने कमसल गुणस्तरको वेयरिङ तार र पावर बढी खपत गर्ने प्लग र यन्त्रको प्रयोग पनि उत्तिकै खतरनाक हुन जान्छ । यसरी विद्युत् सप्लाई र खपतको सन्तुलन मिलाउने गरी विद्युतीय सामग्रीको उपयोग गर्न सके तुलनात्मक हिसाबले सुरक्षित महसुस गर्न सकिन्छ । जहाँ व्यावसायिक सुरक्षा हुँदैन त्यहाँ लगानीको वातावरण नै रहँदैन । फलस्वरूप उत्पादन र रोजगारीका अवसर शून्यप्रायः हुन्छन् । त्यसैले विद्युतीय शक्ति प्रदायक संस्था नेपाल विद्युत् प्राधिकरणले सबै खालका उपभोक्तालाई विद्युत् उपयोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम नियमितरूपमा सञ्चालन गर्नुपर्ने देखिन्छ ।
आगलागीजन्य विपद्को फैलावट रोकी क्षति कम गर्नका लागि स्थानीय तह लगायतका अन्य निकायहरूमा रहेका वारुणयन्त्र, स्थानीय जनसमुदाय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना समेत एकिकृत रूपमा परिचालन हुने गरेका छन । क्षमता राख्ने सबै स्थानीय तहले नयाँ परिवेश र परिस्थिति अनुकुल हुने गरी वारुणयन्त्र व्यवस्थापन गर्नु अति आवश्यक देखिन्छ । पछिल्ला वर्षहरूमा आधुनिक र बहुतले भवनको स्वीकृतिसँगै वारुणयन्त्रको क्षमता पनि बढाउनु जरुरी छ । वारुणयन्त्रमा कार्यरत जनशक्तिलाई क्षमता अभिवृद्धिका लागि नियमित कार्यक्रम सञ्चालन गर्नुपनि उत्तिकै जरुरी छ । वारुणयन्त्रमा कार्यरत कर्मचारीहरू निजामति सेवाको जस्तो नभई सुरक्षा बल (नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना) को मापदण्ड अनुसारको शारीरिक सु–सङ्गठन हुनु जरुरी छ । वारुणयन्त्रमा कार्यरत कर्मचारीको सेवा अवधि पनि सुरक्षा बलमा कार्यरतसरह कायम गर्दा नै परिणाम फलदायी हुन सक्छ । वारुणयन्त्र परिचालनको अर्को जटिल समस्या पानीको आपूर्तिको सुनिश्चितता हो । आगलागीमा प्रयोग भएका वारुणयन्त्रहरू पानी भर्न जाँदा लामो समय लाग्ने र आगो नियन्त्रण कम, विस्तार बढी भएको देखिने हुँदा ठाउँ ठाउँमा वारुणयन्त्र प्रयोजनका लागि पानीको भण्डारण र आपूर्तिमा समेत स्थानीय तहले गम्भीर ध्यान पु¥याउनुपर्छ ।
व्यावसायिक क्षेत्रमा हुने आगजनीमा बिमा गरिएका व्यावसायिक प्रतिष्ठान तुलनात्मक रूपमा सुरक्षित मानिएका छन् । तथापि बिमाको प्रिपियम जति सजिलो र मुस्कानसहित भुक्तानी हुने गरेको छ, विपदपछि बिमा कप्मनीबाट त्यति सहज र मिठासपूर्ण व्यवहार हुन नसकेको भुक्तभोगी व्यवसायीहरूको गुनासो पनि रहेको छ । कहाँनिर अल्झिन्छ प्रिमियम बुझाउने व्यवसायी र प्रिमियम लिने बिमा कम्पनीको सम्बन्ध ? बिमकले बिमितलाई सुरुमा नै आफ्नो योजनाका बारेमा बुझाउने र दुवै पक्ष सहमत भएपछि गरिने बिमालाई भुक्तानीका क्रममा जटिल बनाउँदै लैजाने हो भने बिमा कम्पनीप्रतिको विश्वसनीयता पनि कम हुँदै जानेछ । यसको दीर्घकालीन असर स्वयम् बिमा कम्पनीले नै भोन्नुपर्ने अवस्था आउँछ । त्यसो भए व्यावसायिक क्षेत्रले ध्यान पु¥याउनुपर्ने कुरा के के हुन् त ? कसरी पाउन सकिन्छ बिमा बराबरको रकम ? पीडितले बिमा रकम प्राप्त गर्न चाहिने कागजात के के हुन ? यी र यस्ता अनगिन्ती प्रश्नहरूको उत्तर बिमा प्रदायक कम्पनी र खासगरी बिमा प्राधिकरणले बिमित (सेवाग्राही) लाई स्पष्टरूपमा जानकारी गराउनुपर्छ ।
आगजनीजन्य विपद्का कारण व्यवसायी सडकमा आइसकेपछि पनि अर्को मुख्य दायित्व व्यवसायीसँग रहिरहन्छ– त्यो हो कर तथा राजस्वको दायित्व । अग्रीम आयकर बुझाई खरिद गरेको मालवस्तु, मूल्य अभिवृद्धि कर (VAT) बुझाई खरिद गरेका मालवस्तु र अन्तःशुल्क लाग्ने मालवस्तु नष्ट भएमा त्यसको कर तथा राजस्वको मिलान कसरी गर्ने ? यस सम्बन्धमा आन्तरिक राजस्व कार्यालयबाट विपद्पछिको कर राजस्वको व्यवस्थापन सम्बन्धी प्रकृया र अभिमुखीकरण कार्यक्रम गर्नु जरुरी छ । यसले विपद्पछि व्यवसायीलाई आहत बनाउनेभन्दा राहत हुने खालको कर तथा राजस्व नीति हुनुपर्छ ।
विपदमा स्थानीय तह र सङ्घीय सरकार अन्तर्गतका निकायहरूको समन्वय र सहकार्य उत्तिकै अपरिहार्य छ । घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै रूपन्देही जस्तो बाक्लो आवादी, सानाठूला धेरै बजार क्षेत्र, अन्तर्राष्ट्रिय विमानस्थल, नेपाल आयल निगमको मुख्य भण्डारण केन्द्र रहेको रूपन्देही जिल्लाका स्थानीय तहमा भएका धेरैजसो वारुणयन्त्र पुरानो मोडेलका रहेका, भएका वारुणयन्त्र पनि चालु अवस्थामा नभएका कारण धनमालको बढी क्षति हुने गरेको छ । विपद् न्युनीकरणका लागि सबै स्थानीय तहमा भएका वारुणयन्त्र चुस्तदुरुस्त राख्नु स्थानीय तहको दायित्व नै हो । सङ्घीय सरकार, प्रदेश सरकार र स्थानिय तह गरी तीनै तहका सरकारको प्रमुख दायित्व भनेकै आफ्ना नागरिकको जिउधनको रक्षा गर्नुभएकाले नागरिकलाई विपद्बाट कसरी सुरक्षित राख्न सकिन्छ ? कथंकदाचित् विपद् आइहाले कसरी क्षति कम गर्न सकिन्छ भन्नेतर्फ पनि सचेत हुनुपर्छ ।
माथि उल्लेखित परिस्थितिमा सम्बन्धित क्षेत्रका विज्ञसहितको बृहत् छलफल तथा अन्तरकृया कार्यक्रम गराई तालुकदार कार्यालय र निकायको भूमिका स्पष्ट पार्दै थप जिम्मेवार बनाउँदै उद्योग र व्यापारमा लागेका व्यवसायीहरूमा व्यावसायिक सुरक्षाका लागि अवलम्बन गर्नुपर्ने नीति र कार्यनीतिको जानकारी गराउनु व्यावसायिक सङ्घ संस्थाको प्रमुख दायित्व हो । यही दायित्व र जिम्मेवारी बोधका साथ बुटवल उद्योग वाणिज्य सङ्घ रूपन्देहीले सम्बन्धित क्षेत्रका विषय विज्ञसमेतको उपस्थितिमा २०८१ साउन २८ गते सोमवार बृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रमा सहभागी भई विपद्बाट पूर्ण सुरक्षित रहने उपाय, विपद् आएपछिको क्षतिको न्युनीकरणका लागि सम्बन्धित निकायले खेल्नुपर्ने भूमिका, बिमा र करसम्बन्धी विषयमा रहेका व्यवसायीका जिज्ञासा लिएर उपस्थित भइदिनुहोला । हामी समस्या समाधानका बारेमा सहजीकरण गर्ने प्रयास गर्नेछौ । हाम्रो सामूहिक प्रयासबाट नै सुरक्षित र दिगो व्यवसायमा हामी उभिने छौँ ।