© २०२३
सुर्खेत, २४ साउन ।
कर्णाली प्रदेश योजना आयोगमा चार महिनापछि पदाधिकारी नियुक्त गरिएको छ । मुख्यमन्त्री यमलाल कँडेलले रिक्त रहेको आयोगलाई पूर्णता दिएका हुन् । तत्कालीन मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएपछि आयोग रिक्त रहेको थियो । कँडेलले आयोगको उपाध्यक्षमा वीरेन्द्रनगर ४ का सूर्यनाथ योगीलाई नियुक्त गरेका छन् । उपाध्यक्षमा नियुक्त योगी कृषि विज्ञ हुन् । उनी योगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका क्याम्पस प्रमुख समेत हुन् ।
यस्तै सदस्यमा मुगुको छायाँनाथ रारा नगरपालिका–५, का डम्बर रावल र कालिकोटको रास्कोट नगरपालिका–३ का अशोकनाथ योगी नियुक्त भएका छन् । उपाध्यक्ष नियुक्त भएका योगी र सदस्य रावल एमालेको कोटाबाट नियुक्त भएका हुन् भने अर्का सदस्य योगी नेपाली कांग्रेसको कोटाबाट नियुक्त भएका हुन् । उनीहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री यमलाल कँडेलले उनीहरूलाई शपथ खुवाएका हुन् ।