© २०२३
यतिवेला नेपालमा दुईवटा ठूला राजनीतिक दलको नेतृत्वमा सरकार गठन भएको छ । हुन त यस सरकारमा अन्य दलहरूको समर्थन रहेको र सरकारमा सामेल भएको अवस्था छ । यो सरकारलाई राष्ट्रिय सरकार बनाउने प्रयास गरिएको हो तर त्यो ठाउँसम्म पुग्न सकेको अवस्था छैन् । पुग्ने सम्भावना पनि कम देखिन्छ । किनकी सरकारदेखि बाहिर नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका पार्टीहरू बाहिर रहेको अवस्था छ । माओवादी केन्द्रले त आफूलाई प्रमुख प्रतिपक्ष भनेर घोषणा गरेको र उसको हाराहारीमा राष्ट्रिय स्वतन्त्र पार्टी उभिएकाले पनि संभावना तत्कालको लागि टरेको छ । राजनीतिमा विभिन्न विकल्प हुन्छन् भनिन्छ भोलीका दिनमा विकल्प भेटिए छ भने अरू पार्टीहरू पनि सामेल हुन सक्ने संभावना रहला यो भोलीको विषय रहन गयो ।
२०७९ साल पुस १० गतेका दिन सातदलको सिफारिसमा ४४ औं प्रधानमन्त्री बन्नु भएका पुष्पकमल दाहाल प्रचण्डले पुस ११ गतेका दिन पदको सपथ लिनु भएर कार्यभार सम्हाल्नु भएको थियो । त्यही पुसको २६ गतेका दिन उहाँले सदनबाट पहिलोपटक विश्वासको मत लिनुभएको थियो । विश्वासको मत संख्या २६८ थियो । २७० मतमा नेमकिपा र राजमोले मद दिएनन् बाँकी अरू सबैबाट विश्वासको मत प्राप्त गर्नुभएको थियो । पहिलोपटक विश्वासको मत प्राप्त गरेपछि पुष्पकमल दाहालको भाषा अर्कै हुन थाल्यो । उहाँको बोली र व्यबहारमा उथलपुथल आउन थाल्यो । एक दिन त सदनमा म रहेसम्म यस्तै उथपपुथल भईरहन्छ भन्ने अभिव्यक्ति दिनुभयो । यसरी दिनहरू वित्दै गर्दा २०७९ चैत्र ६ गतेका दिन दोस्रोपटक विश्वासको मत लिनुभयो । यसपटक उहाँलाई १७२ मत प्राप्त भयो । यसैगरी मिति २०८० फागुन ३० गतेका दिन तेस्रोपटक विश्वासको मत लिनुपर्ने अवस्थामा पुग्नुभयो । यसपटक भने १५७ मत प्राप्त भयो । उहाँले जतिपटक विश्वासको मत माग्दै जानुभयो, मत संख्या घटदै गयो । उहाँलाई समर्थन गरेका दलहरूले समर्थन फिर्ता लिंदै गए । उहाँले विश्वासको मत माग्दै जानुभयो । यहीक्रममा २०८१ जेठ ७ गतेका दिन चौथोपटक विश्वासको मत लिनु पर्ने अवस्था आयो । यसपटक पनि मत बढाउन सक्नु भएन । उही १५७ को संख्यामा सिमित हुनुभयो । उहाँको उथलपुथल त आफ्नै ठाउँमा थियो ।
एक दिन सदनमा बोल्नेक्रममा आफूसंग जादुगरी संख्या भएकोले आफूलाई कसैले हटाउन नसक्ने बताउनु भयो । बत्तिस सिट जादूगरी संख्या भएको कुरा सदनमा संसारले सुन्नेगरी भन्नुभयो । उहाँको आफू रहेसम्म उथलपुथल भइरहन्छ र आफूसंग जादुगरी सिट भएकोले आफूलाई पाँच वर्षसम्म कसैले हटाउन नसक्ने अभिव्यक्तिले आखिर २०८१ साल असार २८ गतेका दिन पाँचौपटक विश्वासको मत लिने अवस्थामा पु¥यायो । पाँचौपटक विश्वासको मत लिने समयमा उहाँको मत भने सुन्न लायक रहेन । उहाँले जम्मा ६३ मत मात्र प्राप्त गर्नुभयो । आवश्यक मत नपुगेका कारणले सभामुखले आवश्यक मत नपुगेको घोषणा गर्नुभयो । यसको सिधा अर्थ थियो– पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री पदमा रहन सक्नु भएन । उहाँले आफूले त्यागपत्र दिन परेन । संंसदले प्रधानमन्त्री पदबाट किनारा लगायो ।
नेपाली काँग्रस र एमालेको अगुवाईमा असार २८ गते राष्ट्रपतिले आह्वान गरे अनुसार एमालेका संसदीय दलका नेता साँसद केपी शर्मा वलीलाई प्रधानमन्त्रीको लागि सिफारिस भएको खवर सार्वजनिक भयो । असार ३१ गतेका दिन प्रधानमन्त्री सहित अन्य २१ जना मन्त्रीहरूले सपथ लिनु्भयो । सपथपछि पदभार ग्रहण गरेर २२ सदस्यीय सरकार दैनिक काममा जुटेको छ । यो सरकार सात बुँदामा अडेको छ र राष्ट्रिय सरकारको नाम पाएको छ । राष्ट्रिय सरकार बन्न सक्ला नसक्ला त्यो भोलीको कुरा भयो तर आजको कुरा गर्नुपर्दा दुईवटा कुरा आएका छन् । पहिलोपटक नेपालका दुईवटा ठूला पार्टी मिलेर सरकार बनेको छ । दोस्रो यी दुईवटा पार्टी फरक विचारका हुन यो सबैलाई थाहा छ । दुवै दलका नेता कार्यकर्ताहरूले यो सरकार वास्तवमा आवश्यक थियो, त्यही आवश्यकता पूरा गर्न यो सरकार बनेको छ भन्ने गर्दछन् भने माओवादी र रास्वपा लगायतका दलहरूले यो गठवन्धन बाहिरबाट कसैले बनाएको हो भन्ने जस्ता शब्दहरू ओकल्दै छन् । कस्तो अनौठो कुरा भने आफू सरकारमा रहँदा आफ्नै बुताले सरकार बन्ने तर अरूको गठवन्धनबाट सरकार बन्दासाथ नसुहाउने अलिक भद्दा खालको अभिव्यक्ति दिने र बाहिरबाट बनाइएको भन्ने ? यो कस्तो खालको टिप्पणि हो ? वर्तमान अवस्थामा बनेको सरकारलाई अलिक विश्लेषण गरेर हेर्ने हो भने यो मुलुकको आवश्यकता थियो भन्नुपर्छ । यसो भन्दा कुनै पूर्वाग्रही भइन्छ भन्ने लाग्दैन । सिंगो सदनमा तेस्रो स्थानमा रहेको दलको नेतृत्वमा सरकार गठन हुने अनि त्यसैलाई जादुगरी सिट मान्ने ? त्यो अभिव्यक्ति पनि ठीक मान्ने हो भने कसरी तेस्रो दल अगुवा हुन सक्छ र ? कसरी ३२ सिट जादुगरी हुन सक्छ ? जादुगरी सिट भनेको के हो ? यसको सिधा अर्थ खोज्ने हो भने ठूला दलहरू हुतिहारा हुन ? यिनीहरू कहिल्यै आपसमा मिल्न सक्दैनन् ? त्यसकारण ३२ सिटको आडमा आफूले पाँच वर्ष लुड्याउन सकिन्छ भन्ने बुझिन्छ । मुलुकको हितका निम्ति हिंजो ००७ सालमा पनि रााणहरूको विरुद्धमा नेपाली काँग्रेस र नेकपा मिलेर लडेकै हुन् । तत्कालिन राजा महेन्द्रले बहुदलीय व्यवस्तामा कुठाराघात गर्दा १७ साल पछि दुवै दल पञ्चायतको विरुद्धमा लागेकै हुन् । २०४६ सालको आन्दोलनमा नेपाली काँग्रेस र बाममोर्चाको नामबाट संयुक्त आन्दोलन गरिएको हो । यसपछि २०६२/०६३ को जनआन्दोलनमा पनि सात दलभित्र यी दुवै दल संगै थिए । जतिवेला मुलुकलाई दुवै दल एकै स्थानमा आउने अवस्था सिर्जना हुन्छ त्यतिवेला दुवै दलहरू एकै मोर्चामा उभिएको इतिहास ताजै छ । यो इतिहासलाई एक पटक फर्केर हेर्दा राम्रो हुन्छ भन्ने लाग्छ ।
नेकपा एमालेले आफ्नो लक्ष्य मिसन चौरासी हो भनिसकेको छ । अहिले सरकारमा साझेदारी गरे पनि निर्वाचनमा एक्लाएक्लै लड्ने उद्घोष गरिसकेको छ । यसले के देखाउँछ भने यतिवेला ठूला दलको मिलिजुली सरकारको खाँचो यो मुलुकका लागि जरुरी भएको छ । यसकारण दुबै दल एकसाथ सरकारमा बसेका छन् र आलोपालो सरकार चलाउने सहमति भएको छ । एकपटक ०७९ को निर्वाचनतर्फ फर्कने हो भने पाँच दल एकातर्फ हुँदा पनि एमालेको मत संख्या उल्लेख्य रहेको कुरा विर्सन मिल्दैन । त्यतिवेला ती पाँच दल एक्लाएक्लै लडेको भए आजको जादुगरी सिट संख्या आउने थियो कि थिएन ? एकपटक गम्भिर भएर सोंच्ने समय आएको छ । यसरी जोडबल गर्दा पनि दश सिटमा खुम्चनु पर्ने र राष्ट्रिय दल बन्न नसक्ने दलका नेताले राष्ट्र हाँक्ने घुर्की दिनुलाई आश्चर्य मान्नुपर्छ कि पर्दैन ? कस्तो विडम्वना दुई स्थानबाट हारेर पनि प्रधानमन्त्रीमा पुग्न सकेका व्यक्तिहरूले आफ्नो दल राष्ट्रिय दल बन्न नसकेकोमा कुनै पछुतो छैन । त्यसको साटो आज उल्टै बलिया दलहरूलाई घुर्की दिंदै हिंडेको सुन्दा झन आश्चर्य लागेर आउँछ । वर्तमान सरकार जसरी बनेको छ । यसमा आश्चर्य मान्नुपर्ने र डाह गर्नुपर्ने कुनै कारण छैन । यो राष्ट्रिय आवश्यकता हो । यही अनुरूप बनेको छ । यो मुलुकको आवश्यकता यही थियो । त्यसैले बनेको छ । सकिन्छ यसलाई सघाऔं । सकिदैन धारे हात नलगाए पनि हुन्छ । किनकी यो नाङ्लो ठटाएर तर्साउन खोज्ने हात्ती होइन ।