© २०२३
विश्व स्तनपान सप्ताह सन् १९९२ बाट मनाउन सुरु गरिएको हो । हरेक बर्षको अगस्त (१ देखि ७ अगस्त २०२४) अर्थात साउन १७ देखि २३ साउनसम्म यो दिवस मनाउने गरिएको छ । बिभिन्न तथ्यांक अनुसार विश्व स्तनपान सप्ताह अहिले आएर १२० भन्दा बढी देशहरूले आयोजना गर्ने गरेको पाईन्छ । विश्व स्तनपान संगठन, युनिसेफ लगायतका संस्थाहरू र अन्य सम्बन्धित संस्था र अभियानहरूको प्रत्यक्ष संलग्नतामा हरेक बर्ष अगस्त १ देखि ७ गतेसम्म बिश्व स्तनपान सप्ताह विश्वभरी भब्यताका साथ मनाउने चलन चलिआएको छ । हुन त आफ्नो बच्चालाई स्तनपान गराउनु सबैलाई जानकारी भएकै कुरा हो । तर, यस बारेमा अलि विस्तृत रूपमा जानकारी पाउन आवश्यक छ । प्रारम्भिक स्तनपान अर्थात बच्चा जन्मिएको एक घन्टा भित्र वा यसमा पनि जतिसक्दो चाँडो स्तनपान गराउने, पूर्ण स्तनपान गराउने अर्थात ६ महिनासम्म नवजात शिशुलाई आमाको दूधमात्र खुवाउने र बच्चा जन्मेको कम्तिमा दुई बर्षसम्म अन्य खानेकुराको सँगसंगै आमाको दूधपनि पर्याप्तमात्रामा खुवाउने कुरामा सबै आमाहरूलाई अनिबार्य जानकारी हुनु आवश्यक छ ।
स्तनपानमा निम्न कुरा जानकारी हुनुपर्दछः
– शिशु जन्मिएपछि जतिसक्दो चाँडो (१ घन्टाभित्र) आमाको बिगौती दूध खुवाऔं ।
– शिशुलाई जन्मेदेखि ६ महिना पूरा नभएसम्म आमाको दूधमात्र खुवाऔं ।
– बालबालिकालाई ६ महिना पूरा भएपछि पुरक खानाका साथै कम्तिमा दुईबर्षको उमेरसम्म निरन्तर स्तनपान गराऔं ।
– आमाको दूध शिशुको लागि सर्बोत्तम आहार हो । यसले शिशुको रोगसंग लड्न सक्ने क्षमता बढाउँछ ।
– स्तनपानले महिलाहरूमा स्तन क्यान्सर र पाठेघरको क्यान्सर हुने जोखिमलाई कम गर्दछ । साथै मानसिक समस्यालाई समेत कम गर्दछ ।
– चिकित्सकको सल्लाह बिना शिशुलाई आमाको दूध बाहेक अन्य कुनै किसिमको दूध नखुवाऔं ।
स्तनपान सम्बन्धि उचित परामर्श तथा थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई सम्पर्क गरी थाहा पाउन सकिने छ । बच्चालाई पूर्ण स्तनपान गराउनको लागि प्राकृतिकरूपले आमाको महत्वपूर्ण भूमिका भएतापनि यसमा परिवारका हरेक सदस्यको जिम्मेवारी पनि त्यत्तिकै महत्वपूर्ण रहन्छ । हरेक परिवारका अन्य सदस्यहरूले स्तनपान जस्तो महत्वपूर्ण कार्यमा आमालाई सहयोग नगरेमा कुनैपनि हालतमा उसको बच्चाले पूर्ण स्तनपान गर्न सक्दैन् । स्वास्थ्यका बिभिन्न निकायहरूले साथसाथै स्वास्थ्यको क्षेत्रमा काम गर्ने हरेक सरोकारवालाहरूले आ– आफ्नो क्षेत्रबाट काम गर्दै जाँदा र बिभिन्न सञ्चारका माध्यमहरूले सूचना र सन्देश फैलाउदै जाँदापनि नेपालमा अझैपनि शिशु जन्मेको एकघन्टा भित्र दूध चुसाउने आमाको संख्या जम्मा ६३ प्रतिशत रहेको छ । त्यस्तै शिशुलाई ६ महिनासम्म आमाको स्तनपान मात्र गराउने आमाको संख्या ६८ प्रतिशत र शिशुलाई दुई बर्ष भित्र निरन्तर स्तनपान गराउने आमाको संख्या बल्ल ९४ प्रतिशत रहेको कुरा बिभिन्न सर्बेक्षणबाट देख्न सकिन्छ । त्यस्तैगरेर पहाडी गाउँहरूमा जन्मेको एक घन्टाभित्र स्तनपान गराउनेको संख्या ६३ प्रतिशत शहरमा ५१ प्रतिशत रहेको तथ्याङ्क पाईन्छ । सुदूर पश्चिम प्रदेशमा ६ महिनासम्म स्तनपान गराउने आमाको संख्या ७४ प्रतिशत छ । त्यस्तै बागमतीमा ४३ प्रतिशत छ भने लुम्बिनी प्रदेशमा जम्मा ३६ प्रतिशत स्तनपान गराउने आमाको संख्या रहेको ल्म्ज्क् द्दण्द्दद्द को रिपोर्टले देखाएको छ । त्यसैले यो प्रतिशतलाई आधार मानेर भन्ने हो भने अझैपनि हाम्रा समुदायहरूमा शिशुलाई जन्मेको एक घन्टाभित्र आमाको कोलोस्ट्मयुक्त बिगौती दूध खुवाउनेप्रतिको गलत धारणालाई चिर्नु आवश्यक छ । आमाको बिगौती दूध बच्चाको लागि रोगसंग लड्न सक्ने क्षमता बढाउने एक प्रकारको पहिलो खोप नै हो भनेर बुझाउनुु निकै आवश्यक छ । शिशुलाई जन्मेको एक घन्टाभित्र जतिसक्दो चाँडो आमाको दूध अनिवार्य खुवाऔं । जन्मेको ६ महिनासम्म आमाको दूध मात्र पूर्णरूपमा खुवाऔं । स्तनपान गराउँदा २४ घन्टामा कम्तिमा १० देखि १२ पटकसम्म गराऔं । एउटा स्तनको स्तनपान गराउँदा कम्तिमा १५ मिनेटको समय अवधिसम्म दूध चुसाऔं । एउटा स्तनको दूध पूरै मात्रामा सकाएर मात्र अर्को स्तनको दूध खुवाउन सुरुवात गरौं । यसो गरेमामात्र बच्चाले दूधबाट प्राप्त गर्नुपर्ने पानीदेखि सम्पूर्ण पोषक तत्व समेत प्राप्त गर्न सक्दछ । जन्मेको कम्तिमा दुई बर्षको उमेरसम्म थप खानाको साथमा पूर्ण स्तनपान गराऔं ।
यसरी शिशुुलाई पूर्ण स्तनपान गराउन घरदेखि अफिसमा कार्यरत रहने आमाहरूलाई सम्पूर्ण सरोकारवालाहरूले आ–आफ्नो स्थानबाट सहयोग गरेमा जागिरे आमाहरूको लागि हरेक कार्यालयमा स्तनपान कक्षको ब्यवस्था गरी दिई समय व्यवस्थापनको साथै स्तनपानको बारेमा नीति निर्माण गर्ने, लगानी गर्ने र कार्यान्वयन गर्नेदेखि सम्पूर्ण सरोकारवालाहरूले आ– आफ्नो जिम्मेवारीलाई सहि तरिकाले पूरा गरेमामात्र विश्व स्तनपान सप्ताह २०८१ को नारा ‘खाडल पुर्न सबैलाई स्तनपान सम्बन्धि सेवाको सहायता’ भन्ने नाराले बल्ल सार्थकता पाउँछ ।