ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा

१२ श्रावण २०८१, शनिबार
१२ श्रावण २०८१, शनिबार

नेपाल–संस्कृत–विश्वविद्यालय अन्तर्गत कालिका संस्कृत विद्यापीठ नवलपरासी सुस्तापूर्वले विद्यार्थीहरूका लागि अतिरिक्त ज्ञानका लागि वार्षिक रूपमा आयोजना गर्ने गरेको शैक्षिक भ्रमण यस पटक भारतको उत्तराखण्डमा रहेका हरिद्वार, केदारनाथ र बद्रीनाथको शैक्षिक तीर्थाटनका रूपमा रह्यो । भगवानको कृपा नभइकन यी दिव्य स्थानमा जाने सौभाग्य नमिल्ने भएकाले यी स्थानहरूमा जानका लागि भगवानबाटै बोलावट हुनुपर्दछ भन्ने मान्यता रही आएको छ । यसै अनुरूप सायद भगवान् बद्रीकेदारको कृपा भएछ क्यारे हामी केही अध्यापक, विद्यार्थीहरू र हामी सम्बद्ध माताजीहरू र बाबुहरूलाई पनि ती पावन तीर्थस्थलहरूको दर्शन गर्ने सौभाग्य मिल्यो ।

यसै सिलसिलामा २०८१/०३/१९ गते विद्यापीठका प्राचार्य सहप्राध्यापक डा. रामचन्द्र कण्डेलज्यूको अभिभावकत्व, उपप्राध्यापक डा. गोपीनाथ कण्डेलको निर्देशन एवम् म स्वयं उप प्रा.श्याम खनालको संयोजकत्वमा पूर्व विद्यार्थी र विद्यार्थी सहित, गुरुमाहरू तथा बाबुहरूको टोली नारायणघाटबाट सुनौली हुँदै सरकारी बसका माध्यमले गोरखपुर पुग्यौं भने ट्रेनका माध्यमले अर्को दिन मात्र यो टोली हरिद्वारस्थित नारायणी निवासमा पुग्यो । सिद्ध स्वामी सत्यप्रकाशानन्द सरस्वतीज्यू महाराजद्वारा स्थापित नारायणी आश्रम वर्तमान पीठाधीश नेपाल आमाका सुपुत्र, लुम्बिनी प्रदेशको अर्घाखाँची जिल्लाको अर्घातोषमा जन्मिनुभएका स्वामी योगानन्द सरस्वतीज्यू महाराजद्वारा सञ्चालित छ । वसुधैव कुटुम्बकम्को वैदिक सिद्धान्तले अभिप्रेरित स्वामीजीले आश्रमका माध्यमले धेरै नेपाली, भुटानी, वर्मेली एवम् इण्डियन विद्यार्थी, दिनदुःखी एवम् तीर्थयात्रीहरूको निस्वार्थ रूपमा निःशुल्क सेवा गर्दै आउनुभएको छ ।

२०८१।०३।२१ गते हामी हरिद्वारबाट विहान ७ बजे केदारनाथका लागि ट्राभलर –७ नाम गरेको मिनी बस स्टाइलको इन्डियामा टेम्पो भनिने साधनबाट प्रस्थान गर्यौँ । सो गाडीको व्यवस्था नारायणी आश्रमका कर्मचारीज्यूबाट भएको थियो भने सो मिनी बसका लागि हामीले दैनिक ५४०० भारु तिर्न पर्ने हुन्थ्यो । बद्रीकेदार यात्राका लागि सरकारी नियमअनुसार रजिष्ट्रेसन गर्नुपर्ने हुनाले यहाँ सबैको रजिष्ट्रेसन त गरिसकेका थियौँ तर सबैको बेग्लाबेग्लै गरिएकाले सबैलाई सँगै राखेर दर्ता गर्दा राम्रो हुने सुझाव गाडी ड्राइभरबाट आएकाले हरिद्वारमैँ त्यसलाई एकै स्थानमा रजिष्ट्रेशन गरायौँ । त्यसपछि ऋषिकेश हुँदै हाम्रो गाडी अगाडी बढ्यो । बीचमा रोटी सब्जीको प्रसाद ग्रहण गरी लगभग ९४ किलोमिटर पार गरी हामी देवप्रयाग आयौँ । देवप्रयागमा गंगोत्रीबाट आएकी भागिरथी र बदरीनाथबाट आएकी अलकनन्दा नदीको संगम रहेछ ।

यस स्थानलाई हामीले गाडीबाटै दर्शन गरेर अगाडि बढ्यौँ । त्यसपछि ६९ किलोमिटर अर्थात् हरिद्वारबाट १६३ किलोमिटर पार गर्दा रुद्रप्रयागमा पुगिँदो रहेछ । रुद्रप्रयागमा बदरीनाथबाट आएकी अलकनन्दा र केदारबाट आएकी मन्दाकिनी नदीको सङ्गम रहेछ । यस तीर्थलाई पनि हामीले बसबाटै दर्शन गरी पुनः यात्रालाई निरन्तर अगाडि बढायौँ । त्यसपछि ४१ किलोमिटर अर्थात् हरिद्वारबाट २०४ किलोमिटर पार गर्दा हामी गुप्तकाशी भन्ने स्थानमा आइपुग्यौँ । पञ्चपाण्डवले खोज्दै हिँडेका भगवान् शिव यही स्थानमा लुक्नुभएको भन्ने पौराणिक मान्यता रहिआएको रहेछ । यस स्थानभन्दा माथि मन्दाकिनी नदी लगभग धेरै स्थानमा झरनाका रूपमा रहनुभएको रहेछ ।

त्यसैले यहाँबाट नदीको किनारै किनार आएको बसमार्गले उकालोको रूप लिने रहेछ । यही उकालो र घुमाउरोको ३१ किलोमिटर अर्थात् हरिद्वारबाट २३५ किलोमिटर बाटो पार गरी हामी सोनप्रयाग भन्ने स्थानमा आइपुग्यौँ । यस स्थानमा केदारनाथबाट आएकी मन्दाकिनी नदी र अन्यत्र कतैबाट आएकी वासुकी नदीको संगम रहेछ । हामीले लगेको रिजर्भ बस यहाँबाट माथि जानका लागि अनुमति नहुने हुँदा त्यहीबाट चल्ने ९ सिटे साना गाडीमा हामी गौरीकुण्डका लागि हिँड्यौँ । गौरीकुण्ड जानका लागि सोनप्रयागको बजारबाट लगभग १.५ किलोमिटर हिँडिसकेपछि मात्र गौरीकुण्ड जाने जिप मिल्दो रहेछ । त्यसपछि पाँच किलोमिटरको साँघुरो बाटोको यात्रा पूरा गरी त्यसदिन हामी गौरीकुण्डमा रात बिसायौँ ।

२०८१।०३।२२ गते विहान सबेरै उठी सबैजनाले आफ्नो नित्यकर्म गरी केदारनाथ जानका लागि पैदल यात्रा तय गर्ने निर्णय गर्यौँ । त्यसैक्रममा नजिकै रहेको गौरीकुण्डमा गई त्यहाँ रहेको जलद्वारा शरीरलाई पञ्चस्नानका माध्यमले शुद्ध पनि गरायौँ । यात्रा अगाडि बढ्दै गयो । हल्का उकालो बाटो पार गर्दै हामी जङ्गलचट्टी हुँदै भीमबलीमा आइपुग्यौँ । एउटा पाखोमा यात्रा गरिरहेका हामी भीमबलीबाट अर्को पाखोतिर यात्रा गर्ने रहेछौँ । केही वर्ष पहिले आएको भूस्खलनका कारणले त्यहाँ नेपाली आमाबुबासहित हजारौँ तीर्थयात्रीहरूले ज्यान गुमाउनु परेको कारणले सो पाखो परिवर्तन गरी त्यहाँ अर्को पाखोबाट बाटो बनाइएको रहेछ । त्यसैले त्यहाँ मन्दाकिनी नदी माथि रहेको पुलबाट पार गरिसकेपछि अझै ठाडो उकालो पार गर्दै केदारनाथ पुग्नुपर्ने रहेछ । बाटोमा विश्राम गर्दै र घरबाट एवम् हरिद्वारबाट लगेका खानेकुरा खाँदै हामी हिँडिरह्यौँ ।

हामीसँग एकजना सात वर्ष पुग्दै गरेका अर्का १३ वर्ष पुग्दै गरेका त्यस्तै १८ वर्षका बालकहरू पनि रहेकाले उनीहरूलाई पनि परिरहेको कठिनाई महसुस गर्दै अगाडि बढ्नु परेको थियो । तर यी बालकहरूलाई हामीले नै भेट्टाउन सकिरहेका थिएनौँ । भीमबलीबाट नदी पार गर्दै हामी लिँचोली भन्ने स्थानमा गयौँ । त्यहाँबाट भगवान् केदारनाथ विराजमान स्थानभन्दा पछाडिका हिमालयहरूको दिव्य दर्शन हुने रहेछ । हामी हिँडिरहँदा पानी भने आइरहेको थियो । त्यसैले यात्रामा केही कठिनाई चाहिँ भोग्नुपरेकै थियो । तर भगवानको कृपायुक्त दिव्य स्थानमा पुग्ने उच्च मनोबलले भने हाम्रो यात्राका कठिनाई सबै शून्य हुन पुगेका थिए । लिचोलीबाट केही उकालो र तेर्सो गरी हामी केदारनाथ पुग्दा ठ्याक्कै बेलुकाको सात बज्न पुग्यो । प्राचार्य गुरु र हाम्रा विद्यार्थीहरू हामीभन्दा केही अगाडि पुग्नुभएकाले उहाँहरूले बस्ने स्थानका बारेमा पहिले नै निश्चित गरिसक्नुभएकाले हामीले सोको चिन्ता लिनुपरेन । भगवानको दिव्य स्थानमा पुग्दा शरीरले भिन्नै आनन्दको अनुभूति गर्यो । हिमालयको काखमा भगवानको विग्रह त्यसमाथि ऐतिहासिक मन्दिर । यो आनन्दलाई प्रकट गर्न शब्द नै अभाव हुन पुगे । भगवानको आरती हेरी हामी खाना प्रसाद ग्रहण गरी त्यसदिन त्यहीँ विश्राम गर्यौँ ।

२०८१।०३।२३ गते रविवार हाम्रा लागि ऐतिहासिक दिन हुन पुग्यो । विहानको नित्य कर्म गरी भगवान् केदारेश्वरको दर्शन मात्र नभएर स्पर्श गर्ने मौका मिल्यो । सुख र दुःखरहित परमानन्दको लागि भगवानलाई प्रार्थना गरियो । रुद्रीका वैदिक मन्त्रहरूले भगवानको आराधना गरियो । सबै मिलेर देशमा शान्तिको कामनाका लागि भोलेनाथको प्रार्थना गर्यौँ । सबैमा सद्बुद्धि र आरोग्यताको कामना गर्यौँ । साना साना बालकहरूले पनि इतिहास रचे, सबैका लागि प्रेरणाका श्रोत बने । त्यसपछि हामी केदारनाथ मन्दिरको नजीकै रहेको शङ्कराचार्यको समाधि भएको भनिने स्थानमा रहेको शङ्कराचार्यको विग्रह दर्शनका साथ केदारेश्वर मन्दिरबाट केही माथि रहेको भैरवनाथको दर्शन गर्यौँ । दिव्य स्थानमा पुग्दा भोक, शोक र थकाइ त्यत्तिकै मर्ने रहेछन् भन्ने कुराको प्रत्यक्ष अनुभूति गर्यौँ । यसरी भगवानको दर्शन गरी हामी त्यहाँबाट बद्रीनाथ जानका लागि गतदिनकै बाटो पैदल यात्रा फर्कियौँ । हामीलाई गौरीकुण्डबाट पैदल जाँदा १२ घण्टा लागेको थियो भने फर्कँदा भने पैदल यात्रा १० घण्टा लाग्न पुग्यो । साना बालकहरूले फर्कँदाको अन्तिम क्षणमा केही थकाइ महसुस गरे पनि उनीहरूले पैदल यात्राद्वारा नै यात्रा पूरा गरे । ६ वर्ष १० महिना २९ दिनका साना बाबु शाश्वत खनालले सानै उमेरमा नै जाँदा आउँदाको ३६ किलोमिटर भन्दा धेरै दुरी पैदलयात्रा गरेरै भोलेनाथको दर्शन गरे । लुम्बिनी प्रदेशको मात्र नभएर नेपालकै इज्जत राखे । गौरीकुण्डबाट सानो गाडीमा सोनप्रयाग आई हामीले हरिद्वारबाट लगेको गाडीमा बस्यौँ । अर्को दिनको यात्रालाई सहज बनाउनका लागि पूर्वोल्लेखित गुप्तकाँशीमा आइ विश्राम गर्यौँ ।

२०८१।०३।२४ गते हामी विहानको नित्य कर्म गरी बद्रीनाथका लागि यात्रा बढायौँ । अघिल्ला दुई दिनको थकाईको महसुस बल्ल आज भएको थियो । तर पनि भगवानको नाम किर्तन गर्दै हामी गन्तव्यको यात्रा गरिरह्यौँ । बीचमा केही नास्ता गरी पुनः गन्तव्यतिर लाग्यौँ । उखीमठबाट रुद्रप्रयाग नपुगीकनै बद्रीनाथ जाने बाटो भएतापनि सो बाटो पहिरोको कारणले गर्दा अबरुद्ध भएकाले हामी पुनः रुद्रप्रयाग नै आइपुग्यौँ । रुद्रप्रयागबाट लगभग ३१ किलोमिटरको दुरीमा कर्णप्रयाग आउँदो रहेछ । यस स्थानमा अलकनन्दा र पिण्डर नदीको संगम हुने रहेछ । यसपछि करीब २१ किलोमिटरको दूरी पार गरी हामी नन्दप्रयाग पुग्यौँ । यस स्थानमा अलकनन्दा र नन्दाकिनी नदीको संगम हुने रहेछ । यी दुबै स्थानको अवलोकन हामीले हाम्रो गुडिरहेकै साधनबाट गर्यौँ । नन्दप्रयागबाट जोशीमठको दुरी ७९ किलोमिटर रहेछ । यस स्थानको नाम ज्योतिर्मठबाट स्थानीय जनजिभ्रोले जोशीमठ बनाएको रहेछ । भगवान् शङ्कराचार्यद्वारा स्थापित चार मठमध्येको उत्तरतर्फको मठ यही रहेछ । यस स्थानलाई फर्कँदा दर्शन गर्ने योजना अनुसार हामी बद्रीनाथका लागि यात्रा निरन्तर गरायौँ । जोशीमठबाट बाटो तल नदीतिर झर्ने रहेछ । त्यसपछिको ४२ किलोमिटर दुरी पार गर्दै हामी बद्रीनाथ धाममा राती पुग्यौँ । जोशीमठ र बद्रीनाथधामको बीचमा रहेको मार्गमा भइरहेको भूस्खलनका कारणले हाम्रो गन्तव्य केही अवेर हुन पुग्यो । त्यहाँ बासस्थान एवम् भोजन प्रसादको खोजी गरी बद्रीनाथ धामबाट लगभग १.५ किलोमिटरको दुरीमा हामीले विश्राम गर्यौँ ।

असार २३ गते जस्तै २०८१ असार २५ गते पनि हाम्रा लागि ऐतिहासिक नै हुन पुग्यो । विहानको नाई ध्वाइँ कार्यक्रम हामीले बद्रीनाथ भगवानको काखमा रहेको तप्तकुण्डमा गर्यौँ भने गङ्गामाताको शितलजलले पञ्चस्नान गर्यौँ । अनि केही सानो लाइनको पर्खाईपछि भगवानको दर्शन गर्ने सुअवसर पायौँ । यहाँ भगवानको दर्शन परैबाट गर्ने चलन रहेछ । प्राचार्य गुरुले र देवराजले ब्रह्मकपालीमा गई पितृश्राद्ध पनि गर्नुभयो भने त्यस समयमा हामी मन्दिर परिसर भित्रै बसी भगवानका हनुमान् आदि विभिन्न रूपहरूको दर्शन गर्यौँ । अघिल्लो दिनको जामले गर्दा पुनः त्यस्तै होला कि भनी हामी बद्रीनाथभन्दा केही टाढा रहेका स्थानहरूको दर्शन नगरिकनै हरिद्वारका लागि यात्रालाई निरन्तरता दियौँ । पहिरोको कारणले गर्दा हाम्रो दुई दिनसम्मको बसाई जोशीमठमा हुन पुग्यो । भगवान् शङ्कराचार्यलाई सम्झ्यौँ । आद्य शङ्कराचार्य पछिका श्रद्धाले शिर आपसेआफ झुक्ने त्यस स्थानका ब्रह्मलीन शङ्कराचार्य श्री १००८ स्वामी ब्रह्मानन्द सरस्वती, जो करपात्रीजी महाराजका साथै विश्वविख्यात महर्षि महेश योगीका पनि गुरु हुनुहुन्थ्यो उहाँको प्रार्थना गर्यौँ । धेरै वर्षसम्म रिक्त रहेको शङ्कराचार्य पद ब्रह्मानन्द सरस्वतीद्वारा पूर्ण गर्नुभएको थियो । तर, उहाँ ब्रह्मलीन भइसकेपछि त्यो पद लिनका लागि तीनओटा आचार्यहरू लागी परिरहनुभएको रहेछ । दुईओटा आचार्यको पीठ आद्य गुरु शङ्कराचार्यको तपस्थलीको कल्पवृक्ष र त्रोटकाचार्यको तपस्थली भनिने स्थानमा रहेछ भने अर्का शङ्कराचार्यको पीठ नृसिंह मन्दिरको नजिक रहेछ । पहिरोका कारण बनेर हामीलाई दिव्य स्थानमा दुई दिनसम्म बस्ने मौका मिल्यो । त्यसपछि पनि पहिरो खुल्ने अत्तोपत्तो नभएकाले हिँडरै पहिरो पार गरी हाम्रो यात्रा हरिद्वारका लागि तय भयो । रातीको ३।३० मा हरिद्वारमा आइपुगियो ।

२०८१।०३।२८ गते विहान नारायणी निवासको नजिकै रहेको गङ्गाजीको दर्शन गरी दक्षेश्वर महादेवको दर्शन गर्यौँ । अनि हरिद्वार घुम्ने योजना अनुरूप आश्रममैँ प्रसाद ग्रहण गरी गाडी रिजर्भ गरी हरिद्वारमा रहेका विभिन्न तिर्थस्थलको दर्शन गर्यौँ भने साँझको समय हरकि पौडीमा गङ्गाजीको आरतीमा रमायौँ । त्यसपछि पुनः नारायणी निवासमा नै फर्किई प्रसादग्रहण गरी विश्राम गर्यौँ । यसरी हाम्रो यात्राको लक्ष्य पूरा गरी अर्को दिन त्यहाँबाट नेपालको पश्चिमी नाका महेन्द्रनगरबाट नेपाल पसी रात्रीबसमा गन्तव्यतिर लाग्यौँ ।

भगवानको कृपा एवम् गुरुहरूको आशीर्वादले हाम्रो जटिल यात्रा पनि सहज भयो । यी तीर्थहरूको दर्शनले सनातन वैदिक धर्मको रक्षार्थ आद्य शङ्कराचार्यद्वारा गरिएको ईश्वरीय भव्य कार्यको दर्शन गर्ने मौका मिल्यो । हामीसँग गएका ६ वर्ष केही महिना, १२ वर्ष र १८ वर्षका बाबुहरू पनि यात्राका क्रममा सकुशल रहे । उमेरले हामीभन्दा जेठा प्राचार्य गुरुसहित कसैको पनि स्वास्थ्यमा केही समस्या आएन । भगवानले बोलाएर मात्र जान पाइन्छ भन्ने यी हाम्रा महान् तीर्थहरूमा मध्य असारमा पनि यात्रा सहज बन्यो । हाम्रा पिता पुर्खाहरूले ६ महिना लगाएर त्यहाँ गई ती तीर्थहरूको दर्शन गर्नु हुन्थ्यो रे । त्यहाँ गएर वस्तुस्थिति नियाल्दा तीर्थहरू विशेषत हामी नेपालीहरूकै पेवा जस्तै देखिए । नेपाली ब्राह्मणहरूलाई राजाहरूले विर्ता दिएर ती स्थानमा पु¥याएका रहेछन् । सिङ्गो इण्डिया कहिले मुसलमान त कहिले अङ्ग्रेजको गुलाम भएर आफ्ना धर्म संस्कार विर्सिरहँदा नेपाली आमा–बुबा भने कति मिहिनेतका साथ ती ती स्थानमा गई बद्री एवम् केदार भगवानको दर्शन गरेर आउनुहुँदो रहेछ । ती तीर्थमा रहेका कुनैपनि होटलहरू पूर्ण सात्विक हुँदा रहेछन् । त्यसैले ती पवित्र स्थानमा पवित्रपन अँगालेका होटलहरूमा खानका लागि कुनै सङ्कोच नै मान्नुपरेन । के गर्ने हाम्रा त तीर्थहरूलाई लोकतन्त्रपछि सिसि र मांसको भण्डारण बनाएका छन् । यी यस्तै खाले धेरै कुरा हामी नेपालीले पनि सिकी हाम्रो देशमा रहेका मुक्तिनाथ, रुरुक्षेत्र आदि तीर्थहरूको महिमागान गराउन सकियो भने धार्मिक पर्यटनले धेरैलाई रोजगार दिने रहेछ । यस किसिमको बुद्धिका लागि हामी सबैलाई भगवान् बद्रीकेदारको कृपा रहोस् भन्दै यो संस्मरण यहीँ पूरा गरियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?