© २०२३
सल्यान,१० साउन ।
सल्यानमा विभिन्न धार्मीक तथा ऐतिहाँसिक सम्पदाहरू छन् । पछिल्लो समय धार्मीक तथा पर्यटकीय विकासका लागि स्थानीय तहहरूले पहलकदमी लिएका छन् । प्रदेश तथा संघीय सरकारबाट धार्मीक तथा पर्यटकीय क्षेत्रको विकासका लागि लगानी समेत बढ्दै गएको देखिन्छ । जिल्लाको पहिचान तथा विकासका लागि धार्मीक सम्पदाहरूको महत्व धेरै नै हुने गर्दछ । प्राकृतिक सम्पदा, तथा धार्मिक स्थलहरू र सँस्कृतीले सल्यान धनी मानिन्छ । यहाँ कुपिण्डे ताल, खैरावाङ भगवती मन्दिर, छत्रेश्वरी सतिपिठ, कुमाख लेख, शंखपार्क, कालिका भगवती, मोखला सिव गुफा, कमलाक्षी, कछुवा दह लगाएतका क्षेत्रहरू रहेका छन् । जिल्लाको छत्रेश्वरी सतिपिठको विकासका लागि पदमार्ग निर्माण हुने भएको छ ।
छत्रेश्वरी गाउँपालिकाको पहलकदमीमा वडा नं ६ छायाक्षेत्रमा अवस्थित छत्रेश्वरी मन्दिर (सती पिठ) सम्म पर्यटकीय पदमार्ग निर्माण हुने भएको हो । गाउँपालिकाको तयार गरेको डिपिआर बमोजिम पर्यटन विभागको बजेटबाट ठेक्का प्रक्रिया मार्फत पद मार्ग संगै यात्रु प्रतिक्षालय, र सार्वजनिक शैचालय लगाएतका संरचना निर्माण गरिने भएपछि स्थानीयहरू खुसी भएका छन् । छत्रेश्वरी ६ शंखमुलका रमेश बहादुर यरीले पदमार्ग निर्माण भएमा पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
शंखमुल नजिकबाट पैदल यात्रा मार्फत छत्रेश्वरी मन्दिरसम्म पुग्नका लागि पर्यटकीय पदमार्ग र अन्य भौतिक संरचना निर्माण गर्न लागिएको हो । गाउँपालिकामा धेरै पर्यटकीय क्षेत्रहरू रहेको भन्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले पूर्वाधार निर्माण तथा प्रचार प्रसार र प्रवद्र्धनका कार्य भइरहेको बताए ।
उनले भने, ‘गाउँपालिकाले यस अघि डिपिआर तयार गरेको थियो । पर्यटन विभागमा पदमार्ग संगै अन्य संरचना निर्माणका लागि लेखिपठाएका थियौँ । त्यस अनुसार काम हुनेभएको छ ।’ गाउँपालिकाका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले आफुहरूले पर्यटन क्षेत्रलाई पनि महत्व दिएर काम गरिरहेको बताइन् ।
छत्रेश्वरीलाई आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न र प्राकृतिक सौन्दर्यताको दृश्यावलोकन सहित पदमार्गबाट छत्रेश्वरी मन्दिर सम्म यात्रा गर्नका लागि पर्यटकहरूलाई सहजता प्रदान गर्न पदमार्ग र आवश्यक संरचनाहरू निर्माण गर्न लागिएको हो । ३ करोड ११ लाख रूपैयाँ बराबरको काम हुने छत्रेश्वरीको पदमार्ग निर्माणका लागि सानु कन्ट्रक्शन, काठमाण्डौँ जोरपाटीले २ करोड ६४ लाखमा २०८२ भदौ सम्म निर्माण गर्नेगरी सम्झौता गरेको पर्यटन विभागका सिनियर डिभिजनल इन्जिनियर सचिन्द्र कुमार यादवले जानकारी दिए ।
सत्यायुगमा महादेवले सतिदेवीको मृत्त शरिर बोकेर विश्व भ्रमण गर्दा उनको अन्तिम अंग छायाँक्षेत्रमा पतन भएको किवंदन्ती छ । बली नचढ्ने शक्तिपिठको रूपमा रहेको छत्रेश्वरीको महत्व बताउँदै मन्दिरका नागाबाबा उमेश गिरीले छत्रेश्वरी क्षेत्रको धार्मीक तथा ऐतिहासिक महत्वको बारेमा प्रचारप्रसार गर्न आवश्यक रहेको जनाए ।
२०८२ भदौ सम्म निर्माण गर्नेगरी सम्झौता गरेको भएपनि आगामी बैशाख सम्म योजनाको काम सक्नेगरी आफुहरूले तयारि गरेको निर्माण व्यवसायी फुर्वा नामगेल शेर्पाले जानकारी दिए । उनले भने, ‘काम गर्ने ठाउँ पनि सहज लाग्यो । योजनाको लागि १४ महिनाको समय छ । छिटोमा फागुन र ढिलोमा बैशाख सम्म काम सम्पन्न गर्छौँ ।’ साउन १५, १६ गते सम्ममा निर्माण सामग्री र कामदार आयोजना स्थलमा आउने शेर्पाको भनाई छ ।
राप्ती लोकमार्ग स्थित शंखमुलबाट छत्रेश्वरी मन्दिर सम्म गाडीमा पुग्नको लागि सडकको समेत सुविधा रहेको छ । छत्रेश्वरी मन्दिरको पर्यटन प्रवद्र्धन भएमा यहाँको आर्थिक, साँस्कृतिक, धार्मिक विकासमा समेत टेवा पुग्ने अपेक्षा छ । छत्रेश्वरी मन्दिरमा पदमार्ग तथा भौतिक संरचना निर्माणका लागि छत्रेश्वरी गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन सहित मिति २०८०।१२।१६ मा नेपाल पर्यटन वोर्डमा पत्राचार गरेको थियो ।