© २०२३
वर्तमान परिस्थिति र अस्थिर राजनीतिका कारण धेरैजसो युवामा विदेश जानुपर्छ भन्ने भाष्य विकसित भएको छ । नेपालमा केही गर्न सकिँदैन भन्ने मनसायका साथ विदेश पलायन हुने क्रमले डरलाग्दो परिवेश सिर्जना गरेको छ । यो परिस्थिति भएको हो कि कहिँ कतैबाट नेपाललाई अस्थिर बनाइराख्नका लागि केही सिमित व्यक्तिहरूको योजना हो ? अहिलेको वैदेशिक पलायनको अवस्था हामीले देखेको र कल्पना गरेको भन्दा केही पृथक छ । नेपाल भूपरिवेष्ठित हुनुका साथै विश्वका शक्तिशाली राष्ट्रहरू चीन र भारतसँग सिमाना जोडिएको मुलुक हो । भारत र चीन २० वर्षको अवधिमा विकासशील देशबाट विकसित देश भइसकेका छन् । विश्वको ४० प्रतिशत जनसंख्या भएका यी देशहरूमा विकासले यो गति लिइरहँदा नेपालमा भने राजनीतिक अस्थिरता र देशको आर्थिक अवस्था दिन प्रतिदिन खस्किँदै गइरहेको छ । यसमा कमजोरी कहाँ छ भन्ने विषयमा निर्मम समीक्षा गरेर सुधारका उपायहरू खोजिएन भने देश विकासमा देखिएका समस्या समाधान नहुन सक्छ ।
साथै उपयुक्त पारिश्रमिक नपाएमा पनि कामका लागि वातावरण तयार हुँदैन ।
के नेपाल अहिले चलेको हल्ला जस्तै विकास नै नहुने हो त ? देश विकसित बन्ने कुनै आशा छैन त ? के विकास एक दिन, एक महिना वा एक वर्षमा सम्भव छ त ? विश्व इतिहासलाई नजिकबाट हेर्दा कुनैपनि देश एकैचोटि विकास भएको होइन । नेपालको इतिहासलाई हेर्ने हो भने २००७ सालमा प्रजातन्त्रको प्राप्ति भएको थियो ।
त्यो बेलाको नेपालको अवस्था र अहिलेको अवस्थालाई हामीले नजिकबाट बुझ्न जरुरी छ । बि.स. २००७ सालको अवस्था हेर्दा त्यसबेलाको साक्षरता प्रतिशत २ प्रतिशत मात्र थियो । २०४६ सम्म आइपुग्दा यो बढेर १० प्रतिशतको हाराहारीमा पुग्यो र बि.स. २०७८ को साक्षरता प्रतिशत ७६.२ प्रतिशत छ । अझै पनि शिक्षा सबैको पहुँचमा पुगेको छैन । शिक्षामा जुन गुणस्तर प्राप्त गर्नपर्ने हो त्यसमा सन्तुष्टि नहोला र पनि सामान्य साक्षरता प्रतिशत बढेको छ । यसलाई उपलब्धिको रूपमा लिईरहँदा शिक्षामा आमूल परिवर्तन भयो भन्न खोजेको होइन । तर साक्षरता दर बढिरहेको छ र शिक्षा सबैको पहुँचमा पुगिरहेको छ । आगामी दिनमा शिक्षाको गुणस्तर बढाएर यसलाई अझै उत्कृष्ट हिसाबले अगाडि बढाउन जरुरी छ ।
यसबाहेक उच्च शिक्षा प्राप्तिका लागि आ.व. २०८०।०८१ मा १ लाख १२ हजार भन्दा बढी बैदेशिक अध्ययनमा गएका छन् । यसले मुलुकको खरबौँ रूपैँया बाहिरिएको छ । जुन देशको जिडिपी कम छ उक्त देशबाट अध्ययनमा खरबौँ रूपैँया बाहिरिँदा त्यसले पार्ने असरका बारेमा नीति निर्माण तहमा बस्ने अधिकारी तथा नेतृत्वहरू गम्भीर भएको पाइँदैन । किन युवा देशमा बस्न चाहँदैनन ? के सबै पढ्न नै गएका हुन् त ? विदेशिने युवाले पढाइसँगै राम्रो आम्दानीको अवसर खोजेका छन् । ती युवलाई नेपालमा नबसेकोमा पछुतो हुने बनाउन सक्नु नै सफल नेतृत्वको काम हो ।
त्यस्तै स्वास्थ्यतर्फ २००७ सालसम्म नेपालीहरूको सरदर आयु २७ वर्ष थियो ।
बि.स. २०४६ सम्म आइपुग्दा सरदर आयु बढेर ५३ वर्ष पुग्यो । अहिले नेपालीहरूको सरदर आयो ७१ पुगेको छ । यो सूचकले स्वास्थ्यको क्षेत्रमा केही न केही गुणस्तर वृद्धि भएको देखाउँछ । यसलाई एउटा उपलब्धिको रूपमा हेर्नुपर्छ । हामीले स्वास्थ्यको दृष्टिकोणले हेर्दा हिजो एउटा सिटामोल पनि नपुगेको अवस्था थियो । आज ७५३ वटै पालिकामा एउटा स्वास्थ्य चौकी अथवा एउटा हस्पिटल रहेको छ । यो अवस्थाले के जनाउँछ भने स्वास्थ्यमा पनि हामी कुनै न कुनै हिसाबले सुधार गर्दैछौँ । यद्यपि विकट जिल्लाहरूमा हामीले खोजेजस्तो उत्कृष्ट र क्षमताले भरिपूर्ण हस्पिटल र स्वास्थ्य चौकी नहोला तर सामान्य हिसाबले भएका समस्याहरूलाई सहजीकरण गर्ने हिसाबको स्वास्थ्य क्षेत्रमा सुधार भएको छ ।
यसरी नै भौगोलिक बनावटका कारण नेपाल हिमाली, पहाडी र तराई गरी तीन भागमा बाँडिएको छ । देश विकासका लागि अपरिहार्य भनेको सडक र यातायात नै हो । यसलाई फर्केर हेर्दा यो १५ वर्षको अवधिमा नेपालमा नेपालको ७०% भन्दा बढी सडकहरू निर्माण भएका छन् । २००७ सालमा ३०० मिटर सडक कालोपत्रे थियो भने आज आइपुग्दा ५७% सडकहरू कालोपत्रे भइसकेका छन् । नेपालका अधिकांश जिल्लाहरूमा सडक पहुँच पुगेको छ । प्रत्येक घरमा नपुगेको होला तर प्रत्येक वडाहरूमा सडक पहुँच पुगेको छ । यो पनि नेपालको लागि एउटा ठूलो उपलब्धि हो । यसलाई देश विकासको बाटोमा अगाडि बढिरहेको हिसाबले हेर्न सकिन्छ । सडकहरूको विस्तारमै हामीहरू सुरुङ युगमा पनि प्रवेश गरेका छौँ ।
साथै नौबिसे काठमाडौँ सुरुङ मार्ग र बुटवल पाल्पा सुरुङ मार्गले देशलाई सुरुङ युगमा लगेको पनि देखेका छौँ, यसलाई एउटा आशाको रूपमा लिन जरुरी छ । हामीले ४६ सालसम्म कल्पना नगरेको विकास देख्न पाएका छौँ । तसर्थ नेपाल विकास नभएको भनेर नेपालीहरूमा निराशा बढाउने काम अलि बढी भएको छ । यसलाई सबैले सुक्ष्म हिसाबले बुझ्न जरुरी छ । विकास एउटा गतिमा हुन्छ । नेपालको विकास ढिलासुस्ती र न्यून हिसाबले भएको होला तर हामीले बुझेजस्तो र बुझाउन खोजेजस्तो विकास नै नभएको होइन ।
नेपालमा बसेर के गर्ने भन्नेहरूलाई बुझ्नुपर्छ । देश विकास युवाले गर्ने हो । हामीले गर्ने हो । हामीले नगरे कसले गर्ने ? यो आशा युवाहरूमा बढाउनुपर्ने र बुझाउनुपर्नेछ । विकासको गतिलाई समय अनुरूप बढाउँदै लानुपर्छ । अहिले टेक्नोलोजीमा देखिएको विकासले हामीलाई विश्वव्यापीकरण गराएको छ । यस क्षेत्रमा हामीले विकसित मुलुकको हाराहारीमै बिकास गरेका छौँ । बि.स. २०४७ सालमा इमेलको पहुँचमा रहेका हामी आज २०८१ सम्म आइपुग्दा फेसबुक, इन्स्टाग्राम, ट्विटर,ी ष्लपभमक्ष्ल, क्लबउअजबत, एष्लतभचभकत, च्भममष्त, त्ष्पत्यप, थ्यगत्गदभ लगायतका सामजिक सञ्जालको पहुँचमा छौँ ।
सामाजिक सञ्जालको बढ्दो प्रयोगले सूचना र प्रविधिमा ठुलै आयाम ल्याएको छ । तर युवाहरूलाई काम र आफ्नो कर्तव्यप्रति क्षति पनि गराएको छ । साथै सामाजिक सञ्जालको सदुपयोगले हामीले विश्वको जुनसुकै ठाउँमा घटेका घटनाहरू पनि केही सेकेन्डम प्राप्त गर्ने अवसर पाएका छौँ । सँगसँगै सामाजिक सञ्जालमा मानवीयता र उत्तरदायीता न्यून रूपमा देखिएको छ । साथै सामाजिक सञ्जालको प्रयोग मार्फत नै नेपाललाई अस्थिर देखाउन खोजिएको छ । यो विषयमा भने हामी गम्भीर हुनु जरुरी छ ।
देशमा युवाहरूमा निराशा बढाउने अर्को प्रमुख कारण विश्वविद्यालयहरू हुन् । अहिले नेपालले अवलम्बन गरेको शैक्षिक प्रणाालीले सर्टिफाइड जनशक्ति तयार गरेको छ तर मुलुकलाई क्वालिफाइड जनशक्ति आवश्यक छ । अहिलेका विश्वविद्यालयहरूले वेरोजगार हुने गरी जनशक्ति उत्पादन गरिरहेका छन् । सीप सहितको युवा उत्पादन गर्न विश्वविद्यालयलाई के कुराले रोकेको छ ? विश्वविद्यालयहरूमाथि हुने नीच राजितिकरणबाट प्राज्ञिक क्षेत्रलाई कसरी जोगाउने ? प्रजातान्त्रिक संरचनाहरूलाई कसरी मजबुत बनाउदै लैजाने ?यो देशमा सम्भव छ भन्ने भाष्य कसरी निर्माण गर्ने ? सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा हासिल गर्ने ? लगायतका प्रश्नको उत्तर मागेर हैन पत्ता लगाउने जिम्मेवारी युवाको काँधमा आइपुगेको छ ।
देश विस्तारै भए पनि विकासको गतिमा अगाडि बढिरहेको छ । यो अवस्थामा हामीले आफ्नो ठाउँबाट देशको लागि योगदान गर्दै त्यसलाई कसरी उत्कृष्ट गराउन सक्छौँ भनेर लाग्नुपर्नेछ । यसमा युवाहरूको ठूलो सहयोग आवश्यक छ । तर दक्ष युवाहरूको विदेश पलायनले देशमा युवा शक्तिको अभाव देखिरहेको छ । बाहिर बसेर देश बनेन भनेर आलोचना गर्नुभन्दा देशमै बसेर यो देश कसरी सबल र सक्षम बनाउनुपर्छ भनेर सोच्न जरुरी छ । वैदेशिक रोजगारीको सिलसिलामा बाहिर जानु कतिका लागि आवश्यकता पनि होला तर देशले दक्ष बनाएका व्यक्तिहरू नै वैदेशिक पलायन हुनु राम्रो होइन । सरकारले पनि दक्ष जनशक्तिलाई नेपालमा कसरी राख्न सकिन्छ भनेर समयमै सोच्नु जरुरी छ । भोलिका दिनमा दक्ष जनशक्ति बाहिरबाट मगाउनुपर्ने अवस्था देखिन सक्छ । यसमा हामीले भारतबाट सिक्नुपर्ने कुरा धेरै छ । भारतले १९९० पछि विदेशमा गएका दक्ष जनशक्तिहरूलाई उनीहरूको सीप र उनीहरूको क्षमतालाई मध्यनजर गर्दै देशमा सम्मानजनक र उनीहरूको जीविकोपार्जन गर्न सक्ने हैसियतले रोजगारी सिर्जना गरेको थियो ।
विदेशमा गएका युवाहरूबाट उनीहरूले सिकेर आएको ज्ञान र सीपलाई सही सदुपयोग गरी भारत विश्वको दोस्रो ठूलो शक्तिशाली राष्ट्र बन्दैछ ।
नेपाल पनि विकासको लयमा अगाडि बढिरहेको पनि छ । यसमा चाहेर वा नचाहेर चिन र भारत नेपाललाई सहयोग गर्नुपर्ने अवस्थामा छन् । किनकि यी दुई राष्ट्रको बीचमा सन्तुलन रेखा नेपालले निर्माण गरेको छ । तसर्थ देश विकास हुने विषयमा हामी निश्चिन्त हुन जरुरी छ । अर्को समस्या के छ भने नेपालमा कामप्रतिको सम्मान नहुनु पनि नेपालको वैदेशिक पलायनको एउटा ठूलो कारण हो । यहाँ सामान्य काम गर्ने व्यक्तिलाई हेर्ने दृष्टिकोण र सोचाइमा सुधार गर्न जरुरी छ । विदेशमा गएर जुनसुकै काम गर्न तयार हुने भनेको त्यहाँ कामप्रतिको सम्मान हुनु हो । त्यहाँ व्यक्तिको ओहोदा र रूप हेरेर होइन उसले गर्ने काम र योगदान हेरेर उनीहरूलाई सम्मान गरिन्छ । युवाहरू विदेश पलायन र वैदेशिक यात्रामा निक्लिनुको यो पनि एउटा कारण हो । तसर्थ हामी सबैले कामलाई सम्मान गर्ने बानी बसाल्न जरुरी छ । देशको राजनीतिक वातावरण स्थिर बन्दै जाने हो भने देश विकासमा समय लाग्दैन ।
सडक निर्माणका कामहरू पनि सकिने क्रममा रहेको छ । नेपालले हाल दैनिक करिव ८ सय मेगावाट विद्युत भारतलाई बिक्री गरिरहेको छ । पर्यटनले विस्तारै गति बढाएको छ । अब देशले आर्थिक विकासलाई नै केन्द्रमा राखेर काम गरिरहेको छ । यसको प्रतिफल केही वर्षमा नै देखिन्छ । केही वर्षमा नै नेपालको आर्थिक विकास हुने कुरालाई कसैले रोक्न सक्दैन । विकासको गतिमा अघि बढिरहँदा नेपालको वैदेशिक पलायन पनि बिस्तारै कम हुँदै जानेछ । विदेशप्रतिको आम मोह छिट्टै घटनेछ । यहीँ काम गरेर सफलता प्राप्त गर्नु सबैभन्दा ठूलो कुरा भएकाले आम धारणा परिवर्तन गरेर यहीँ रहेर विश्वव्यापीकरणमा प्रतिस्पर्धा गर्न सक्ने युवा तयार गर्नुपर्ने आजको आवश्यकता हो ।