Butwal Today

करिब ८ सय नेपाली विद्यार्थीले छाडे बंगलादेश, परराष्ट्रमन्त्रीको सूचना– अनलाइन फर्म भर्नू

६ श्रावण २०८१, आइतबार
अ+
अ-

काठमाडौँ ।

बंगलादेशमा जारी तनावका कारण करिब ८०० जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयले शनिबार राति यसबारे जानकारी गराएको हो । उनीहरु हवाइ र स्थलमार्ग हुँदै नेपाल आएको मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएको हो ।

‘हालसम्म झण्डै ८०० नेपाली विद्यार्थीले हवाई तथा स्थलमार्ग हुँदै बंगलादेश छाडेका छन्’  मन्त्रालयको भनाइ छ, ’ढाकास्थित नेपाली दूतावासले अधिकांश विद्यार्थीहरूसँग बंगलादेशका विभिन्न स्थानहरूबाट ढाका विमानस्थल तथा सम्बन्धित सीमा नाकाहरूमा सुरक्षित यात्राको लागि समन्वय गरेको छ।’

दूतावासले बंगलादेशका विश्वविद्यालयहरू, सम्बन्धित निकायहरू र कानून प्रवर्तन एजेन्सीहरूसँग  समन्वय गर्दै आएको पनि मन्त्रालयको भनाइ छ । नेपाल सरकार सबै नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको छ ।

बंगलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण समस्या उत्पन्न भएको हो ।