© २०२३
साउन अर्थात हरियो महिना । प्रकृति पुनस्र्थापित हुने, रिसाउने अनि मानिसलाई प्राकृतिक चक्र सिकाउने महिना हो । नेपाली पहाडी समुदायमा साउने सक्रान्तिको राती लुतो फालेर यो महिना मनाउन सुरु गरिन्छ । असारमा खेति किसानी गर्दा मानिसलाई लुतो जस्ता छालाका रोग लाग्ने भएकोले त्यसलाई रोकथाम गर्न र समुदायमा रोग फैलिन नदिनको लागि लुतो फाल्ने गरिन्छ । कतैकतै केटाकेटीलाई दुःख दिने रातमा हिंड्ने कण्डारक नामको राक्षसलाई भगाउन साउने सक्रान्तिको राती विधिपूर्वक बालिएको अगुल्टो घरको चारैतिर ‘लुतो लैजा’ भनेर फाल्ने गरिन्छ । लुतो फाल्न वा राक्षसको पूजा गर्न भलायोका पात, तिउरी, पानीसरो, देवीसरो, कुकुरडाइनुको लहरो, धसिङ्गरेका बोट, उन्यू जातको नागबेली, कुरिलो, सिउँडी, सिस्नु, जरै सहितको पानीअमला लगायतका विविध वनस्पति चाहिन्छ । वर्खायाममा जताततै वृक्षारोपण हुने भएपनि गैह्रकाष्ठ वनस्पति र झारपातमा मानिसहरूको कमै चासो हुने अवस्थामा लुतो फाल्ने चाडले मानिसलाई सबै वनस्पतिहरू महत्वपूर्ण हुन्छन र ति वनस्पतिको पहिचान र संरक्षण गर्नु मानिसको नैतिक र सास्कृतिक कर्तब्य हो भन्ने कुरा बोध गराउन खोजेको हुनुपर्छ । साउन महिनामै तुलसी रोप्ने, नाग पुजा गर्ने जस्ता हिन्दुका महत्वपूर्ण चाडपर्व पर्छन् । साउन महिनादेखि नै बौद्धमार्गीको ३ महिने वर्षावास शुरु हुन्छ । साउनदेखि असोजसम्म बोटविरुवा उम्रने, हुर्कने, किरा फट्यांग्राको वृद्धि विकास हुने समय भएकोले यो समयमा बौद्ध भिक्षुहरू भिक्षाटनको लागि हिड्दा तिनीहरूलाई असर पुग्ने भएकोले बुद्धले वर्षाबासको नियम बनाउनु भएको हो । यसरि हरियो साउन महिना नेपाली समाजमा वातावरणीय नैतिकता सिकाउने महिनाको रूपमा स्थापित भएको देखिन्छ ।
मानिसलाई प्राकृतिक श्रोत संरक्षणप्रति उत्तरदायी बनाउदै श्रोतको दिगो उपयोग गर्नको लागि आदिमकालदेखि नै समाजले अपनाउदै आएको व्यवहार नै वातावरणीय नैतिकता हो । वातावरणमा कुनै किसिमले नोक्सानी पुगेमा त्यसको भागी मानिस नै हुनुपर्छ । त्यसैले वातावरणमा क्षति पु¥याउनु हुदैन भन्ने कुरा मानिसहरूले आफ्नो उत्पत्तिकालदेखि नै महसुस गर्दै आएका छन् । वातावरणीय नैतिकता हरेक धर्मको मूल मानिन्छ । ऋग्वेदको एउटा ऋचामा भनिएको छ “आकाश बुबाजस्तै र पृथ्वी आमा जस्तो हुन् । र, अन्तरिक्ष आफ्ना छोरा जस्तै हुन् । यी तिन मिलेर बनेको ब्रह्माण्ड एउटा परिवारजस्तै हो र ती तीनमध्ये कुनै एकलाई हुने कुनैपनि किसिमको क्षतिले ब्रह्माण्डलाई सन्तुलनमा राख्दैन् । वैदिक संस्कृति र वैदिक धर्मशास्त्रले पृथ्वीको इकोसिस्टम र आफ्नो सन्तुलन कायम गर्नुपर्ने आवश्यकताको बारेमा स्पष्ट अवधारणा प्रस्तुत गरेको पाइन्छ । ऋग्वेदकै अर्को ऋचामा भनिएको छ “यदि तिमी हजारौंैं वर्ष जीवनको फलहरू र खुशीको आनन्द लिन चाहन्छौ भने रुख रोप । “ऋग्वेदको धेरै ठाउमा नदी किनाराको संरक्षण र वृक्षारोपणको आवश्यकता उल्लेख गर्दै रुख र नदी किनारा विनास गर्दा मानिसहरूले अकल्पनीय क्षति बेहोर्नुपर्ने उल्लेख गरेको पाइन्छ । अथर्ववेदमा वायु, जल र जमिनको महत्व दर्शाउदै यी तिन तत्वमा क्षति पुग्दा विश्वले भोग्नुपर्ने समस्याको बारेमा मानव जातिलाई सचेत बनाईएको छ ।. उपनिषद्हरूमा मानव र अन्य सजिवहरूको सन्तुलन राख्ने कुरालाई महत्व दिइएको छ । तैत्तरिय उपनिषद्मा खोला नदी, ताल तलैयामा प्रदुषण नगर्नको लागि नैतिक बन्धनहरूको निर्धारण गरिएको छ । हिन्दु धर्मशास्त्रहरूमध्ये कान्छो मानिने पुराणमा जीवजन्तु र वनस्पति संरक्षणलाई प्राथमिकतामा राखेको देखिन्छ । खानको लागि चरा मार्न नहुने ( नरसिंह पुराण), जनावर लगायत सृष्टिका अन्य सिर्जनालाई हानी नगर्दा भगवान विष्णु खुसी हुने (विष्णु पुराण), घर अगाडी तुलसीको विरुवा भएमा अकाल मृत्यु नहुने (पदम पुराण, स्कन्ध पुराण), जसले जीवनमा एक एकवटा बर पिपल र नीम, दुई दुईवटा अनार र सुन्तला, पाँचवटा आँप र दशवटा फूलका विरुवाहरू रोपेमा कहिल्यै नर्क जानु नपर्ने (बराह पुराण) जस्ता नैतिक बन्धन उल्लेख हुनुले वातावरणीय नैतिकतालाई बलियो बनाउन खोजेको पाइन्छ । हिन्दु धर्ममा रहेका यस्ता वातावरणीय नैतिकताका कुराहरू नेपाली संस्कृतिका अभिन्न अंगको रूपमा मानिसहरूले अवलम्बन गर्दै आएका छन् ।
बौद्ध दर्शनलाई प्रकृति केन्द्रित दर्शन मानिन्छ । अहिंसा यस दर्शनको सार हो । बुद्धले जीवजन्तुको हत्या नगर्नुलाई मात्र अहिंसा भनेका छैनन् । उनले मानिसहरूलाई यस जगतमा रहेका सम्पूर्ण जीवजन्तु र वनस्पतिको महत्व भएकोले सकेसम्म तिनीहरूमा कम क्षति पु¥याई आफ्ना कामहरू गर्नुपर्ने, जीवजन्तु र वनस्पतिको वृद्धि विकासमा असर पुग्ने काम कुनैपनि अनुयायीले गर्न नहुने, आवश्यकता भन्दा बढी श्रोत साधन थुपार्न नहुने कुरालाई जोड दिएका छन् । जसरी मौरीले फूललाई हानी नपु¥याई फूलको रस संकलन गर्छ र पराग सेचनमा मद्दत गर्छ, त्यसैगरी मानिसहरूले प्राकृतिक श्रोतको उपयोग गर्नुपर्ने (धम्मपद), रुख हुर्काउदा, इनार र पुल बनाउदा पुण्य प्राप्त हुने (वनारोपा सुत्त), जीवजन्तु र वनस्पतिको संरक्षण गर्न राजाले मूख्य भूमिका खेल्नुपर्ने (कुटदन्त सुत्त) जस्ता कुरालाई बुद्धले जोड दिएका छन् । खासगरी विनयपिटकमा वातावरणीय नैतिकताका धेरै कुराहरू छन् भने विभिन्न जातक कथाहरूमा पनि दृष्टान्तहरू पढ्न पाइन्छ । बुद्धका अष्टाङ्ख मार्ग र पंचशीलका सिद्धान्तहरूको आधारमा बौद्ध समाजमा वातावरणीय नैतिकताको उच्च प्रदर्शन भएको पाइन्छ । हिन्दु र बौद्ध धर्म दर्शनमा भएका यस्ता वातावरणीय सदाचार र नैतिकतालाई समाजले वातावरणिय कानुन भन्दा पनि सस्कृतिको अभिन्न अंगको रूपमा स्वीकार गरेकोले स्वस्फूर्तरूपमा वातावरण जोगाउन लाग्ने गरेको देखिन्छ ।
मानिसहरूले आधुनिकताको नाममा परम्परागत संस्कृति र परम्परालाई त्याग्दै र मिच्दै जान थालेपछि वातावरणीय नैतिकतामा पनि प्रत्यक्ष ह्रास आइरहेको छ । पानीका श्रोतमा फोहर फाल्दा अनिष्ट हुन्छ भन्ने कुरालाई वेवास्ता गर्दै पानीका श्रोतमै फोहरमैला फाल्ने, ढल मिसाउने काम निर्धक्क भैरहेको छ । नदी थुन्नु हुदैन, नदी किनार मास्नु हुदैन र नदी, जलाशय छेउछाउका रुख विरुवाहरू काट्न हुन्न भन्ने परम्परागत मान्यतालाई लत्याउदै जलाधार क्षेत्रमा अतिक्रमण र वन विनास, नदीको वहाव मार्ग परिवर्तन, नदी किनारा अतिक्रमण गरि भौतिक संरचना निर्माण जस्ता कामहरू अनियन्त्रित रूपमा भैरहेका छन् । पानीका मूलहरू सुक्ने भएकोले त्यस्तो क्षेत्रमा निर्माण कार्य गर्न नहुने, रुख काट्न नहुने जस्ता कुराहरू अहिले सडक र अन्य विकास निर्माणका कामहरू गर्ने कसैलाई पनि सम्झिने फुर्सद छैन । यस्ता कार्यले बाढी, पहिरो, खानेपानीको संकट जस्ता समस्याहरू वर्षेनी बढिरहेका छन् ।
बटुवालाई शितलता मिलोस, हरियाली रहोस भनेर बाटो छेउछाउ रुख रोप्नुपर्छ भन्ने चेत हजारौ वर्ष अघिदेखि हाम्रो पुर्खामा थियो । त्यसैले उनीहरूले बाटो किनारामा रुख रोप्ने, वर् पिपल चौपारी बनाउने, बगैचा र धार्मिक आश्रमहरू बनाउने गर्थे । वर्तमान समयमा पुर्खाले हुर्काएका तिनै रुख र चौपारीहरू मास्न कसैलाई पनि हिच्किचाहट छैन । बाटो बनाउने, घर बनाउने, विद्युत लाईन विस्तार गर्ने नाममा सडक किनारको हरियाली र रुखहरू नासिदैछन् । पुर्खाले राखेका गौचरण र बगैचाहरू कि त व्यक्तिगत अतिक्रमणमा परेका छन् कि त सामुदायिक भवन र विद्यालय वा अन्य त्यस्तै संरचना बनाउने बहानामा मासिएका छन् । यसले गर्दा स्वच्छ वायु र हरियालीको कमी महसुस भैरहेको छ । शहरका बित्ते घडेरीमा रुख रोप्ने ठाउँ हुने कुरै भएन, त्यसैले पिपलको पुजा गर्न टाढाको गाउँमा जाने र छतमा गमलामा तुलसी रोपेर सांस्कृतिक औपचारिकता पूरा गर्ने काम भैरहेको छ ।
पछिल्लो समयमा मानव– वन्यजन्तु द्वन्द्व बढिरहेका छन् । यो हुनुको मुख्य कारण वन्यजन्तुको आहार–विहार क्षेत्रमा मानिसको हस्तक्षेप बढ्नु पनि हो । वन विनासले गर्दा वन क्षेत्रहरू पातलिदै र टुक्रिदै गएकोले वन्यजन्तु समस्यामा परेका छन् । हिजोका परम्परागत घरहरूमा चराचुरुङ्खीले सजिलै बास पाउँथे तर आधुनिक घरमा त्यो अवसर नपाउँदा भँगेरा जस्ता चराहरू संकटमा परेका छन् । जीवजन्तु मार्नु हुदैन भन्ने अहिंसाको मन्त्रलाई लत्याउदै वन्यजन्तुको चोरी शिकार गर्ने, करेन्ट लगाएर र विष प्रयोग गरेर जीवजन्तुहरू मार्ने प्रवृतिले गर्दा हाम्रा मौलिक मान्यतालाई नै गिज्याईरहेका छन् । हरियालीको कमी, तारहरूको जालो, विकिरण जस्ता कारणले चरा र किराहरूमा असर परिरहेको छ । यस्ता सबै कार्यले हाम्रो वातावरणिय नैतिकताको खस्कदो अवस्था प्रष्ट देखाउँछ ।
वातावारणीय नैतिकता सिकाउन र सम्झाईरहनको लागि पुर्खाहरूले चलाएका चलनहरू वर्तमान पुस्ताले बिर्सदै गएको छ । बसाईसराई, शहरीकरण र कृषिबाट पलायन जस्ता कारण जल, जमिन, जंगल र जीवजन्तुलाई पुज्ने र त्यसको विवेकपूर्ण उपयोग गर्ने सँस्कृति हराउदैछ । नदीलाई देउता मान्ने, पानीका मुहानलाई पुजा गर्ने, बाटो किनार र देउरालीमा बर पिपल र समी रोपेर धर्म कमाउने संस्कारजन्य नैतिकता ह्रास भएसंगै प्राकृतिक विपत्तिहरू बढिरहेका छन् । हरियो र प्रकृति मैत्री साउनलाई व्यापारीकरण गरिएको छ । हरिया चुरा, कपडा, पहेलो बस्त्रमा बोलबम लस्करमा मानिसहरू भुलिरहँदा साउन महिनाले पर्यावरण चक्रमा खेल्ने भूमिका अनि जीवनमा साउन महिनाको महत्व तथा साउनमा ध्यान दिनुपर्ने सजकतामा कसैको ध्यान पुगेको छैन । भूक्षय र पहिरो रोक्न सक्ने ‘लुतो फाल्ने वनस्पति’ जस्तै नेपाली संस्कृतिमा लुकेको वातावरणीय नैतिकता धेरैले नचिन्ने बनिसकेको छ । मानिसहरूले प्रकृति सम्बन्धि परम्परागत र सास्कृतिक मुल्य मान्यता र अभ्यासहरू पालना नगर्ने र वातावरणप्रति जिम्मेवार नहुने हो भने प्रकृतिलाई जोगाउन र वातावरण सन्तुलन गर्न कदापि सकिदैन । हरियो साउनले वातावरणीय संस्कृति र वातावरणीय नैतिकता बोध गराउन सकोस् – शुभकामना ।