© २०२३
अर्टिजम भन्नाले मस्तिष्कको असाधारण अवस्था हो । यो एउटा मस्तिष्कको बिशेष अवस्था मात्र हो । यो एक किसिमको जन्मजात बिशेष अवस्था हो । अर्टिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य भएतापनि सामाजिक सिप, सञ्चार सम्बन्धि सिप र सिकाईको क्षमता कम हुन्छ । संक्षेपमा भन्नुपर्दा अर्टिजम भन्नाले बालबालिकाको मस्तिष्क विकासको क्रममा आउने समस्या हो भन्ने बुझ्नु पर्दछ । अर्टिजम स्नायु तथा नशाको बिकासमा आउने ह्रासले उत्पन्न हुने समस्या हो । यो जन्मजात नशा र तन्तुको विकासका क्रममा आएको असमानताको एउटा रूप हो । अर्टिजमलाई न्युरो डेभलपमेन्ट डिसअर्डर वा अर्टिजम स्पेक्ट्रम डिसअर्डर पनि भनिन्छ । विश्व स्वास्थ्य संगठनले गरेको अनुसन्धानको आधारमा १०० जना बालबालिकामा १ जनामा अर्टिजम हुन्छ भने सिडिसीको २०२२ को रिर्पोट अनुसार ३६ जना बच्चामा १ जनामा अर्टिजम हुन्छ भनेका छन । साथै चारजना पुरुषलाई हुँदा एकजना महिलालाई ४.१ को रेसियोमा देखिन्छ । हाल नेपालको सन्दर्भमा २ लाख ५० हजारदेखि ३ लाख बालबालिकामा अर्टिजम छ भने नयाँ केशहरू २०२२ को तथ्याङ्कले ३६५ जना बालबालिकामा अर्टिजम निदान भएको छ भन्ने तथ्याङ्क रहेको छ ।
अर्टिजम हुनुको कारण :
यस बिषयमा भए गरेका बिभिन्न अध्यायन अनुसंन्धानहरूले यसको वास्तविक कारण यही नै हो भनेर किटानीका साथ भन्न सकेको अबस्था छैन । अर्टिजमलाई मुलतः बंशाणुगत गुणको प्रभावले हुन्छ भन्ने गरिन्छ भने यसका आन्तरिक र अन्य कारणहरूमा दम्पतिहरूले ३५ बर्ष भन्दा माथिको उमेरमा बच्चा जन्माएमा, २६ हप्ताभन्दा कम समयमा बच्चा जन्मिएमा, कम तौल भएका बच्चा जन्मिएमा, नवजात अवस्थाको बच्चामा विभिन्न प्रकारका रोगको संक्रमण भएमा, एउटा बच्चा र अर्को बच्चाबीचको जन्मान्तर कम भएमापनि बच्चामा अर्टिजम हुन सक्दछ ।
अर्टिजमको सामान्य लक्षण तथा चिन्हः
बच्चा एक्लै खेल्न मन पराउने, एक अर्कामा आँखा जुधाउन नसक्नु, अस्वाभाविक रूपले हाँस्ने वा कराउने, उमेर अनुसार बोली नफुट्ने, आफ्ना समान उमेरका साथीहरूसंग घुलमिल हुन मन नपराउने, घाउ चोटपटक लाग्दा दुखाई महसुस नहुनु हो भने सामान्य दुखाई हुँदा चिच्याएर रुने कराउने गर्नु । साङ्केतिक भाषाको प्रयोग गर्न नसक्नु र उमेर अनुसार बौद्धिक क्षमता उत्कृष्ट नहुनु तथा ठूलो आवाज सुन्दा कान थुन्ने, झर्को लागेको जस्तो ब्यवहार देखाउने, एउटै मात्र खेलौना खेलिरहनु, सामान्य शिक्षण बिधिबाट पठनपाठन गर्न नसक्नु, केही कुरा कम हुँदा बढि भएको महसुस र बढी हुँदा कम भएको महसुस गरेको व्यवहार प्रकट गर्ने आदी जस्ता लक्षणहरू देखापर्दछन ।
अर्टिजमको कतिबेला शंका गर्ने ?
अर्टिजम मस्तिस्कको वनावटमा हुने असन्तुलनका कारण उत्पन्न हुने जन्मजात समस्या हो । बालबालिकाले जन्मेपछि दुई बर्षभित्रमा आमा वा अभिभावकसंग कुनैपनि सञ्चार गर्न सकेनन् भने अर्टिजमको शंका गर्न सकिन्छ । बालबालिकाले उमेर अनुसारको गतिबिधि गरेको छैन वा असमान्य व्यवहार देखाउँछन् भने अर्टिजम हुन सक्दछ । समयमै पहिचान गर्न सके त्यस्ता बालबालिकाको उचित व्यवस्थापन गर्न सकिन्छ ।
अर्टिजमको पहिचान कसरी गर्ने :
अर्टिजममा बाहिरबाट हेर्दा कुनै रोग देखिदैन । सामाजिकरूपमा घुलमिल हुन नसक्ने, कसैसंग कुरा गर्न गाह्रो हुने, आँखा नजुधाउने, एक्लै बस्न मन पराउने, अरूलाई आफ्नो कुरा बुझाउन नसक्ने र आफुले पनि बुझ्न नसक्ने, एउटै कुरा दोहो¥याउने आदी हुन्छ । ईन्द्रीयहरूको उतारचढावका कारण अर्टिजम भएका बालबालिकाहरूले बस्तुप्रति अलग किसिमको प्रतिक्रिया देखाउँछन बालबालिका जन्मिएदेखि लगभग दुई बर्षसम्म प्रस्ट रूपमा यसका लक्षण चिन्ह गाह्रो हुन्छ । शारीरिक रूपमा धेरैजसो स्फुर्तिला देखिने यी बालबालिकाको भाषा विकास नभएको अभिभाबकहरूले याद गर्दछन । धेरैजसो बालबालिकाहरू स्कुल गएपछि मात्र यो समस्याको पहिचान हुन्छ ।
अर्टिजमका प्रकारहरूको सन्दर्भमा भन्नुपर्दा हाईपर र लो हाईपर वा अवस्थाको आधारले ग्रेड १ ग्रेड २ र ग्रेड ३ गरेर बर्गीकरण गर्न सकिन्छ । बालबालिकामा प्रकाश, गन्ध, स्वाद बासनामा बढी संबेदनशील हुने अर्थात अत्यन्तै कम हुने हुन्छ । अर्टिजम हुन नदिन यी कार्यहरूमा ध्यान दिनु आवश्यक पर्दछ । गर्भधारणको समयदेखि जन्म अवस्थासम्म चिकित्सकको सिफारिसमा आवश्यक सप्लिमेन्ट फोलिक एसिडको सेबन गर्ने । आफ्नो बालबालिकालाई अधिकांश समय दिने । आफ्नो बालबालिकालाई रचनात्मक काममा क्रियाशील गराउने । आफ्नो बच्चाको मानसिक क्षमताको बारेमा बुभ्mन चिकित्सक वा बिशेषज्ञको सल्लाह लिने । जति छिटो बच्चाको अबस्था थाहा हुन सक्यो त्यति नै उनीहरूको संचारमा सहजता ल्याउन सकिन्छ । थेरापीको माध्यमबाट सहज तरिकाले संचार प्रक्रियाको लागि सक्रिय बनाउन सकिन्छ । यसकार्यको लागि बच्चाले भन्दा अभिभावकले पहिले थेरापीको बारेमा जान्नु जरुरी छ । यसको लागि अर्टिजम केन्द्रहरूको भूमिका महत्वपूर्ण रहन्छ ।
यसको उपचार पद्धतिः
यस रोगको उपचार भनेको थेरापी नै हो । समयमै रोग पहिचान गरी बिहेवियर थेरापी दिनु नै यसको महत्वपूर्ण उपचार हो । अर्टिजम भएका बालबालिकालाई सञ्चार गर्न, सामाजिक व्यवहार गर्न, बिभिन्न थेरापी एवं खेलको माध्यम प्रयोग गर्न सकिन्छ । बालबालिकाका प्रमुख गुरु नै आमा वा बा तथा अभिभावक हुन । अभिभावकले नै उनीहरूसंग सबैभन्दा बढी समय बिताउने भएकाले यस्तो समस्या भएका बालबालिकाका अभिभावकलाई नै बिहेवियर थेरापी तालिम दिनु आवश्यक पर्दछ । अभिभावकले नै घरमा बालबालिकालाई बिभिन्न परिस्थितिमा बाताबरण सुहाउँदो खेल खेलाउदैं थेरापी दिनुपर्दछ । अर्टिजम भएका बालबालिकाहरूलाई बौद्धिकरूपमा ठिक ठाउँमा ल्याउन र आफूमा आत्मनिर्भर बनाउन थेरापीको बिधिबाट अभिभावकको महत्वपूर्ण भूमिका रहन्छ ।