© २०२३
विकास के हो ?
वास्तवमा विकास भनेको यहि हो भनेर ठ्याक्क परिभाषित गराउन सकिने कुरा होईन । यसलाई खुट्याउनु ज्यादै जटिल कुरा हो । साधारण भाषामा भन्नु पर्दा विकास भनेको मानिसलाई छनौटको अवसर बढी भन्दा बढी दिलाउने प्रक्रिया हो । यसले मानिसको जिवनलाई सरल र सहज बनाउँदै लान्छ । अर्को भाषामा बुभ्नु पर्दा विकास सामाजिक जिवनमा देखिने सकारात्मक पविवर्तन हो । उदाहरणको लागि यहाँ छोराछोरी पढाउनको लागि बढी संख्यामा गुणस्तरीय विद्यालय छन् भने यहाँ शिक्षा क्षेत्रमा राम्रो विकास भएको छ भन्न सकिन्छ । त्यसैले विकास एउटा बहुआयामिक पक्ष पनि हो । तर अब हुने विकास भनेको क्षणिक विकास मात्र नभए दिगो विकास हुनु पर्दछ । विकास परिणाम नभएर एक प्रक्रिया हो, यो निरन्तर रूपमा एक अवस्थाबाट अर्को अवस्थामा पुग्ने प्रकिया हो । मानिसको आवश्यकता मात्र बढेको छैन उसको सेवा उपभोग गर्ने प्रवृत्तिमा पनि परिवर्तन भएको छ । उसको रुची बद्लिएको छ ।
विकास के हो ? केलाई विकास भन्ने ? यस सम्बन्धमा बैकको एक मत छैन, विभिन्न खालका विचारहरू छन् । विकाससँग सम्बन्धित दुईवटा शब्दहरू जोडिएर आउने गर्दछन् ‘विकास’ र ‘निर्माण’ । यी दुई शब्दहरूलाई अलग अलग रूपमा बुझ्नु पर्दछ । ‘निर्माण’ भौतिक पक्षसँग सम्बन्धित हुन्छ भने ‘विकास’ मानवीय संवेदना र सामाजिक न्यायसँग जोडिएको विषय हो । भौतिक विकास र मानवीय विकास दुवैको समग्र उद्देश्य सामाजिक विकास हो ।
भौतिक निर्माण भन्नाले सिचाइ कुलो, विद्यालय, सडक, पुल, खानेपानी, स्वास्थ्यचौकी लगायत भौतिक पूर्वाधार निर्माण गर्ने भन्ने बुझिन्छ । यी सबै आँखाले प्रत्यक्ष देखिने कुराहरू हुन् । मानवीय तथा सामाजिक विकास भनेको सचेतनाका पक्षहरू हुन् । यसले मानिसको क्षमता विकास गर्ने, सचेतना अभिवृद्धि गर्ने, समुदायमा बुझाईको स्तरलाई माथि उकास्ने र उनीहरूलाई आत्मनिर्भर बनाउने कुरालाई लक्षित गर्दछ । त्यसैगरी आधारभूत अधिकार प्राप्तिको लागि सञ्चालन गरिने कार्यहरू मानवीय विकासका पक्षहरू हुन् ।
हिजोआज अधिकारको कुरा व्यापक रूपमा उठ्ने गरेको छ । समुदाय र ब्यक्तीको अधिकार के के हो ? अधिकार प्राप्ति र त्यसको सही प्रयोगका लागि व्यक्तिको पहुँच कहाँ–कहाँ हुनु पर्दछ ? पहुँच पुग्नका लागि व्यक्तिमा के र कस्ता खालका क्षमताको विकास हुनु जरूरी छ ? यस्ता कुराहरू मनन गरेर गरिने विकास मानवीय विकाससँग सम्बन्धित हुन्छन् । यसलाई अधिकारमुखी विकास भनेर बुझिन्छ । यदि अधिकारको कुरा नगर्ने हो भने कसैको मुख ताक्ने प्रवृत्तिको मात्र विकास हुनेछ वा परनिर्भरता सहितको मानसिकताको विकास हुनेछ । कसैले विकास दिने र कसैले लिने भन्दा पनि विकास के हो ? कसरी प्राप्त गर्न सकिन्छ ? भन्ने कुरा बुझ्यो भने विकास कसैले दिने कुरा नभई यो आफ्नो अधिकार हो भनेर महसुस गरेपछि समुदाय वा व्यक्ति आफैले त्यो कुराको खोजी गर्न थाल्दछ । यो चाँहि सही मानेमा मानवीय विकास हो ।
अहिले मानवीय विकासको कुरा धेरैले उठाउने गरेका छन् । सबैले जनचेतना जगाउने कुरा गर्दछन् । तर, जनचेतना भन्दाभन्दै पनि गाउँमा कुलो बनाउने, सडक खन्ने, विद्यालय भवन, स्वास्थ्यचौकी भवन बनाउने जस्ता भौतिक निर्माणमा नै बढी समय, स्रोत र सोँचको लगानी भइरहेको अवस्था छ । वास्तवमा जनचेतना वृद्धि तथा मानवीय विकासको काम गाउँमा हुन सकेकै छैन भन्दा पनि हुन्छ । समुदाय स्वयंले पनि चेतना अभिवृद्धिको महत्व बुझ्न नसक्दा जनचेतना जगाउने कार्यलाई ‘यसबाट केही पाइने होइन, यो केवल जनता भुलाउने कार्य मात्र हो’ भन्ने रूपमा लिने गरेको देखिन्छ । जनचेतना आँखाले तुरुन्तै देखिने खालको काम नभएको हुनाले देखावटी काम गर्न चाहनेहरूले यसलाई रूचाउँदैनन् पनि । विकासको सम्बन्धमा बुझाईको अभाव र लामो समयदेखि हुँदै आएको टालटुले विकास अभ्यासले पनि होला अहिले मानवीय विकासको कुरा राम्ररी अघि बढ्न सकेको छैन । विकासका सरोकारवालाहरूले पनि ‘केही त देखिने खालको काम गरौं न’ भनेर भौतिक निर्माणकै कामतिर बढी लागेको देख्न सकिन्छ ।
सामाजिक न्यायका कुराहरू जस्तै महिला अधिकार, दलित अधिकार, बालअधिकारका कुरा क्षमता विकासको माध्यमबाट अगाडि ल्याउन सकियो भने सामाजिक विकासमा मदत पुग्न सक्दछ । भौतिक तथा सामाजिक न्यायको विकास दुवै सामाजिक विकासका आधार हुन् । दुवैलाई साथसाथ अगाडि बढाउनु पर्दछ । यसो गर्न सकेमात्र समृद्ध समाजको निर्माण सम्भव हुन्छ । तर, एकपक्षीय विकासले मात्र समाजको समग्र विकास हुन सक्दैन । मानवीय विकास पनि भौतिक विकासकै लागि हो । मानवीय विकास बिना एकांकी रूपले गरिने भौतिक विकास सफल हुन सक्दैन । यसरी गरिएको विकासले समाजका शक्तिशाली वर्गको मात्र हित गर्दछ । अहिले ग्रामीण क्षेत्रमा विकासको नाममा देखिएको विकृति तथा सार्वजनिक श्रोतको दुरूपयोगका कारण जनसमुदाय राज्यको गतिविधिप्रति निरास छन् । यसको कारण अधिकारमुखी विकासको निरन्तरता र स्थायित्व हुन सकेको छैन । त्यसैले दिगो विकासका लागि उपभोक्त/सेवाग्राही वा समुदायको क्षमता विकास हुनु पर्दछ । त्यसले मात्र सेवा प्रदायक सरकारी तथा गैरसरकारी संस्थाहरूलाई जिम्मेवार तथा समुदायप्रति उत्तरदायी बनाउन सकिन्छ । यसले अधिकारमुखी विकासलाई अगाडि बढाउन सक्दछ, जसले जनकेन्द्रित कार्यक्रम निर्माण गर्न र कार्यान्वयन गर्न सफलता मिल्दछ ।