© २०२३
कुनै पनि कामको सुरुवात बिस्तारै तल्लो स्तरबाट सिक्दै, अनुभव गर्दै, खारिदै अगाडि बढ्दै जाने सिद्धान्तमा आधारित हुन्छ र त्यो दीर्घजीवि पनि हुन्छ । अकस्मात प्राप्त अधिकार र ज्ञानले हामीलाई परिपक्व बनाउँदैन । ऐतिहासिक परिवर्तनको रफ्तारकै क्रममा नेपाल समृद्धिको सपना बोकेर हुर्किरहेको छ । राणा, पञ्चायत, राजा र युद्धले कुँजिएको नेपालमा चाँदीका घेराहरु सल्बलाएका छन् । अहिले राज्यव्यवस्थाको आमूल परिवर्तन पश्चात नेपालले जनप्रतिनिधि मात्रै प्राप्त गरेको छैन, संघीय संरचनाको अभ्यास पनि गरेको छ । यसलाई स्थायी परिवर्तन र समृद्धिको अन्तिम प्रयास भनिएको छ ।
यो तन्त्र भएन त्यो तन्त्र भएन भन्दै देशमा गणतन्त्र ल्याईयो, जे जे शासन व्यवस्था आएपनि प्रवृत्ति उही छ, कार्यान्वयन उही छ । देश संघीयतामा अघि बढिरहेको छ, गाउँ–गाउँमा सिंहदरवार भनिएको छ, वडा, बडामा सरकार छन् । तर प्रवृत्ति उही, शैली उही । नेपाली मानसपटलमा राजनीति शब्द सबैभन्दा तुच्छ शब्दको रुपमा परिचित छ । यसका प्रमुख कारण इमान्दार राजनीति नहुनु नै हो । त्यसैले त नागरिकहरु भनिरहेका छन्, ‘जुन जोगी आए पनि कानै चिरेका ।’
प्रसङ्ग हो, असारको महिनामा हुने अधिकांश विकास अर्थात असारे विकास । वर्षमा १२ महिना हुन्छन तर हाम्रोतिर ती पुरै ११ महिनामा हुने विकासका कामको दर भन्दा १ महिनामा हुने विकासका कामहरु झन्डैले दोब्बर देखिन्छन् । सुन्दा अचम्म लाग्ला १ महिनामै यति धेरै विकासे कार्य हुने देशमा समृद्धि चाहिँ किन गुमनाम भनेर । तर वास्तविकता यस्तो हो ।
आर्थिक वर्षको पुरै समय सम्म काम नगर्ने र समयले कोल्टे फेरेपछि बजेट खर्च गर्नलाई विकासका काम गर्ने सरकारी प्रवृत्तिको अन्त्य हुन सकेको छैन । असार महिना आफैमा झरीको महिना हो । नेपालको धेरै भागमा अत्यधिक वर्षा भैरहेको हुन्छ । तर यही असारमा आर्थिक वर्ष सकिन एक महिना पनि बाँकी नरहँदा जताततै विकास निर्माणका कामहरु भईरहेका हुन्छन् । यसलाई खुसी ठान्नु कि दुर्भाग्य । असारे वर्षातले ती सबै विकासे कामलाई बगाएर मात्रै लग्ने गरेको छैन, हतारमा लतार गरेर बजेट दुरुपयोग गर्ने काम हुने गरेको छ । वर्षभरि केही नगर्ने अन्त्यमा आएर काम गरेजसो गरी धमाधम बजेट सक्ने दाउमा स्थानीय तह तथा सरकारी निकाय रहेको देख्न सकिन्छ ।
नागरिकका समस्या जहाँका त्यही छन् । राजनीतिक पद पहुँचको कारणले समतामुलक तरिकाले विकासको बजेट पाउन सकेका छैनन् बजेट नपाएर देशका कुना कन्दरा विकासको पहँुचबाट टाढा हुन्छन् । तर वर्सेनि असारमा विकासे आयामहरुमा बजेट सक्ने चटारो हुन्छ त कतिपय रकम खर्च गर्न नसकेर फ्रीज भएर जान्छ ।
किसानका लागि असार महिना मानो छरेर मुरी फलाउने महिना हो । सोझा सिधा किसान खेतीपातीमा व्यस्त हुन्छन् । पर्याप्त मलबीउ पाउँदैनन्, तर अर्कोतिर जब लाग्छ असार झरीकै बीच धमाधम सडक निर्माण र मर्मत लगायत विकासका कामहरु हुन्छन् । हिलाम्य ग्रामीण सडकहरुमा डोजर र स्काभेटर चल्छन् भने शहरहरूका भत्किएका र कच्ची सडकहरूमा कालोपत्रे थालिन्छ बर्ष भरी कमिला हिड्ने खेतका कुला नहरहरु पक्की हुन थाल्छन् । विभिन्न पालिकाका तालिम गोष्ठीहरु होटेलहरुमा सुरु हुन थाल्छन् । यी सबै कार्य एक महिनामै त्यही पनि वर्षातमा गुणस्तरहीन हुने कार्य हुन् ।
असारे विकासको यो महारोगले नेपाललाई समृद्ध हुन दिईरहेको छैन । न त सुशासन र पारदर्शीता नै छ, यसले नेपालीहरुलाई झन् गरिब बनाइदिएको छ । विकासलाई भ्रष्टाचारको अखडा बनाईदिएको छ । ११ महिना काम नगर्ने सरकारी निकाय असार लाग्दा भोको सेर शिकारमा निस्किए झै रकेटको गतिमा जुरमुराउन सुरु गर्दछन् । संघीय राजधानीदेखि पूर्व, पश्चिमका ग्रामीण भुभागहरुमा सडकको निर्माण शुरु हुन्छ, भिभिन्न सुरुङ मार्गहरुको शिलान्यास हुन्छ । ठुला ठुला सामुदायिक भवनहरु निर्माण गर्न थालिन्छ , निर्माणका नाममा सडक खन्नेदेखि ग्राभेल गर्ने, माटो पटान र कालोपत्रेको काम सुरु हुन्छ । असारमा गरिने यस्ता निर्माणहरु गुणस्तरहीन हुने गरेका छन् । हिउँदभरि चुप लागेर बस्ने अनि वर्षा लाग्नै लाग्दा थालनी हुने यस्ता कार्यहरुबाट केवल काम चोर ठेकेदार, उपभोक्ता समितिका पदाधिकारीहरु र चेकमा हस्ताक्षर गर्नेहरु मोटाउने गरेका छन् ।
हतारमा गरिने यस्ता कार्यहरुमा धेरै ठाउँमा त अनुगमन नै हुँदैन, जति ठाउँमा हुन्छ त्याहाँ पनि देखावटी अनुगमन हुन्छ । न त कसैको निगरानी नै हुन्छ । सरकारले नागरिकहरुलाई प्रदान गर्ने सेवा र सुविधा, नागरिकहरुको अधिकार, सामाजिक जवाफदेहिताका औजारहरुको प्रयोगका माध्यमबाट स्थानीय निकायमा सुशासन तथा जवाफदेहिताको वृद्धि, सूचनाको हक, सार्वजनिक खरिद प्रक्रिया, सार्वजनिक सुनुवाई, सार्वजनिक परीक्षण, अनुगमन र मूल्याङ्कन, सामुदायिक पहुँच, जनशक्ति परिचालन, तालिम संचालन, कार्यक्रम संचालन, नागरिक सम्बन्ध विस्तार, समय व्यवस्थापन जस्ता महत्वपूर्ण पक्षहरु ध्यान दिनुपर्ने हो, तर कसले यत्तिको सोच्नु । न्युनतम् मापदण्ड समेत पूरा नगर्दा असारे विकास केवल बिल फस्र्यौटका लागि मात्रै हुने गरेका छन् । सरकारी निकायलाई बजेट खर्चमा प्रगति देखाउन हतार, हतारमा काम गर्दा विकासका योजनाहरु गुणस्तरीय हुन सक्दैनन् । विकास निर्माणका कार्यहरु बनाईएको समय तालिका र सम्झौता बमोजिम हुँदैनन्, एकातर्फ सार्वजनिक खरिद ऐन लगायतका नियम, कानून बमोजिम हुने टेण्डरमा अनियमितता र मनपरी हुने गरेको छ । विकास निर्माणकै टेण्डरमा ठूलो चलखेल र गुण्डागर्दी हुन्छ ।
असारमा गाउँगाउँका गोरेटोमा माटो हाल्ने र ग्राभेल गर्ने काम पनि हुन्छ तर पानी पर्ने बेला सुरु गरिएको ग्राभेल पानीले बगाउँछ माटो र ग्राभेलका हिमायतीहरु फर्जी बिल भर्पाइ गरेर मोटो रकम हत्याउन सफल हुन्छन् । यत्तिले काहाँ पुग्थ्यो र लुट्न पल्केकाहरुलाई फेरि अर्को बर्ष त्यही योजना बनाइन्छ र उही प्रवृत्ति दोहो¥याइन्छ । झरीकै विचमा पिच गरिन्छ बाटोका खाल्डो पुरिन्छ र घाम लागेर पिच सुक्न पाउँदैन र पानीले पिच बगाउँछ । १५दिन पछाडी बाटोले पुरानै रुप लिन्छ । यसरी नेपाली जनताको करबाट उठेको पैसा विकासको नाममा बालुवामा पानी खन्याएको जस्तो भएको छ ।
विकासका नाममा राष्ट्रिय ढुकुटी रित्याउन पल्लेकाहरुका लागि र चुनावको बेला सहयोग गरेका नेताले जितेका ब्यक्ति जस्ले उपभोक्ता समिति बनेर लुटिरहेका छन् त्यस्ताको लागि असार महिना हिराको टुक्रा जस्तै हो । विकासका नाममा टालटुले काम गरेर ठग्नेहरुको विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि त्यति ध्यान दिएको पाइएको छैन । जाजरकोट केन्द्रविन्दु भएर आएकोे भुइचालोले ढलेको घरको छानो उस्तै छ, पहिरोले भाटेको आँगन उस्तै छ, खोलाले बर्सेनि बगाउँदा बचेको एकमानो धान फल्ने खेत साहुलाई बन्दगी राखी बनाएको तमसुक बाकसमा राखी बिदेशीएको छोरो काठको बाकसमा फर्किनु परेको छ सन्तान । बेसाहार बनेको बेला, दुई मुट्टी कोदो फापर फल्ने बारी, जोत्ने हलीबिहिन भएको मेरो देशका सोझा सिधा जनातालाई विकासका नाममा भएको भ्रष्टाचार आजित छ ।
योग्यता, दक्षता र क्षमताले मात्रै असहज गाठो फुकाउन सकिने अबस्थामा हाम्रा अधिकांश जनप्रतिनिधिहरुमाथि गुणन हुँदा स्थानीय तह सन्चालनमा चुनौती देखिन थालेको छ र सरकार नागरिकप्रति उत्तरदायी नहुदा अहिले भैरहेको असारे विकासले भ्रष्टाचारलाई स्वागत गरिरहेको छ । हामीसँग जति विविधता छ त्यति नै विकासको प्रचुर सम्भावना समेत रहेको छ । हाम्रा प्राकृतिक स्रोत खास गरी जल, जमिन, जंगल, जडीबुटी र जलवायु विश्वमै अपार छन् । हाम्रो जलवायु बनोट, भू–बनोट र प्राकृतिक स्रोत मुलुकलाई वैभवशाली बनाउन सक्षम छन् । मुलुकमा उपलब्ध अनुपम प्राकृतिक सम्पदा, विकासका अनगिन्ती सम्भावना र विकासका लागि जनसंख्याको अनुकूल संरचनाको बुद्धिमतापूर्वक उपयोग गर्न सकेमा समृद्धि हाम्रा लागि मृगतृष्णा नभई यथार्थतामा परिणत हुने छ । पद्धति नयाँ भएर खासै फरक पर्दोरहेनछ, पद्धति हाक्नेहरुको नियत सफा र स्वच्छ हुनु पर्दोरहेछ भन्ने बुझाइ आम नागरिकमा यति बेला आइरहेको छ । यही प्रवृत्ति आगामी बर्षहरुमा पनि दोहोरिने हो भने आम नेपाली नागरिकले आफ्ना जनप्रतिनिधि र नयाँबन्ने सरकारबाट के अपेक्षा गर्ने ? अन्तत असारमा विकास निर्माणका काम नै गर्नु हुदैन भनेको होइन, कुनै परियोजना सुरु गर्दै गर्दा असारमै आएर सकिनु फरक कुरो हो, तर नियतबस असारमै हतारे विकास गर्न खोज्नु कदापि सही हुन सक्दैन । यस्ता कुरामा सरकारले उचित कदम चाल्न सकेन भने आउने दिनमा झन भ्रष्टाचार मौलाउने छ र सुखी नेपाली समृद्धि नेपालको नारा मात्र नारामै सीमित हुने छ । तसर्थ असारे विकासमा रोक लागाउँ ।
(लेखक अनेरास्ववियु सल्यानका अध्यक्ष हुन्)