Butwal Today

नारायणी नदीको बाढी बस्तीमा पस्यो

२३ असार २०८१, आइतबार
अ+
अ-

नवलपुर, २३ असार ।

पुर्वी नवलपरासीको गैँडाकोट–२ मा नारायणी नदीको बाढी बस्तीमा पसेको छ । अविरल वर्षापछि आएको बाढी बस्तीमा पसेको हो ।

बाढीका कारण गैँडाकोट–२ बोटेटोलका करिब एक सय घर डुबानमा परेका वडाध्यक्ष प्रकाश सापकोटाले जानकारी दिए ।

यहाँका करिब चार सयजना प्रभावित भएपछि सुरक्षित स्थानमा सारिएको सापकोटाले बताए । यहाँ बर्सेनि बाढी पसेर क्षति पुर्याउने गरेको छ बस्तीका प्रभावितहरू छिमेकीको घर तथा सामुदायिक भवनमा बसेका छन् ।

बाढी प्रभावितलाई खानाका लागि सामूहिक व्यवस्थापनको तयारी गरिएका सापकोटाले बताए ।

यसैबीच, नारायणी नदीले खतराको तह पार गरेको छ । नारायणी नदीको देवघाटस्थित जल मापन केन्द्रका अनुसार शनिबार साँझ ७ः३३ बजे नदीमा पानीको सतह १० दशमलव ४० मिटर पुगेको छ । नारायणी नदीको देवघाट मापन केन्द्रमा पानीको सतह नौ मिटर पुगेपछि खतरा मानिन्छ ।

नारायणी नदीले खतराको तह पार गरेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?