Butwal Today

रास्वपाको कार्यवाहक महामन्त्रीमा कबिन्द्र बुर्लाकोटी, प्रवक्तामा मनिष झा तोकिए

२० असार २०८१, बिहीबार
अ+
अ-

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यवाहक महामन्त्रीको जिम्मेवारी सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीलाई दिएको छ। बुधबार महामन्त्री डा. मुकुल ढकाललाई एक साताका लागि निलम्बन गर्ने निर्णय भएसँगै कार्यवाहक महामन्त्रीको जिम्मेवारी बुर्लाकोटीलाई दिइएको एक पदाधिकारीले जानकारी दिए।

त्यस्तै, कार्यवाहक प्रवक्ताको जिम्मेवारी मनीष झालाई तोकिएको छ।

पार्टी अनुशासन आयोगको सिफारिसमा बुधबार केन्द्रीय समितिको बैठकले ढकाललाई एक साताका लागि निलम्बन गरेको हो।

पार्टी अनुशासनविपरीतका गतिविधि गरेको र पार्टीका विरुद्धमा लागेको भन्दै ढकाललाई निलम्बन गर्ने निर्णय भएको ती पदाधिकारीले बताए।

बुधबार नै अनुशासन आयोगको बैठकले ढकाललाई कारबाहीको लागि सिफारिस गरेको थियो।

बैठकमा बोल्न नमानेर बैठकबाहिर मिडियासँग पार्टीविरुद्ध बोलेको भन्दै पार्टीले कारबाही गरेको हो।

महामन्त्री ढकाल बुधबारको बैठकमा मुखमा मास्क र कालो टेप लगाएर पुगेका थिए। उनले नै तयार पारेको प्रतिवेदनमाथि रास्वपामा दिनभर छलफल भएको थियो।

बैठकमा बोल्ने ५२ मध्ये ५० केन्द्रीय सदस्यले महामन्त्री ढकालको क्रियाकलापमाथि प्रश्न उठाएका थिए।

विशेष गरी महामन्त्री ढकालले एक महिने देश दौडाहपछि तयार पारेको प्रतिवेदन पार्टी सभापतिलाई बुझाएपछि विवाद सतहमा आएको थियो।