© २०२३
बर्दघाट, १५ असार ।
जारी विश्वकपको फाइनल यात्रासम्म आइपुग्दा एउटा अनौठो सँयोग जुरेको छ । नवौँ सँस्करणको विश्वकप क्रिकेटको फाइनल खेल्न दुइ टिम दक्षिण अफ्रिका र भारत आमने सामने भएका छन् ।
यो दुर्लभ र पहिलो पटकको सँयोग हो, दुबै टिम पहिलोदेखि सेमिफाइनल खेलसम्म कुनै पनि खेलमा पराजय भोगेका छैनन् तथापि भारत र क्यानाडा विचको खेल वर्षाका कारण हुन नसक्दा हारजितको टुँगो लाग्न सकेन । लिग चरण, पहिलो चरणका नकआउट (प्रायः क्वार्टरफाइनल) मा दमदार खेल प्रदर्शन गर्ने र सेमिफाइनलमा पराजित हुने नियती भोग्दै आएको दक्षिण अफ्रिकाले जारी विश्वकप सेमिफाईनलमा अफगानिस्तानमाथि शानदार जित निकाल्दै पहिलो पटक विश्वकपको फाइनल यात्रा तय गरेको छ ।
जारी प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम गर्ने क्रममा भारतले इँग्लैण्डलाई ६८ रनको फराकिलो अन्तरले पराजित गर्दै विश्वकप उपाधिको दावेदारको रुपमा प्रस्तुत गरेको थियो । पहिलो विश्वकप (२००७) को विजेता रहेको भारत सन् २०१४ मा पनि फाइनलमा पुगेको थियो तर श्रीलंकाले भारतलाई स्तब्ध पारेको थियो ।
यसपटक भारत दोश्रो पटक विश्वकप ट्रफी उचाल्ने दाउमा छ भने दक्षिण अफ्रिका आफ्नो अपराजित यात्रा कायम राख्दै विश्वकप आफ्नो पोल्टामा पार्ने दाउमा रहेको छ । भारतका रोहित शर्मा, सुर्य कुमार यादव र ऋषभ पन्त लयमा देखिएका छन । शर्माले कुल ७ इनिङमा ४१ को औषतले ३ अर्धसतक सहित कुल २ सय ४८ रन बनाएका छन् । यस्तै सुर्य कुमार यादबले ७ इनिङमा ३२ को औषतले २ अर्धसतक सहित १ सय ९६ रन बनाएका छन भने पन्तले २८ को औषतले १ सय ७१ रन जोडेका छन् ।
भारतका लागि विस्फोटक ब्याटिङ गर्न सक्ने र भरपर्दा खेलाडीको रुपमा परिचित विराट कोहलीको प्रदर्शन भने कमजोर रहेको छ । भारतीय टोलीको बलिङ पनि निकै कसिलो रहेको छ । तीब्र गतिका बलर अर्सदिप सिँह, जसप्रित बुमराह निकै लयमा रहेका छन् । सिँहले कुल ७ इनिङस्मा २६ ओभर बलिङ गर्दै १५ विकेट लिएका छन, यस्तै बुमराहले २५ दशमलव ४ ओभर बलिङ गर्दै १३ विकेट लिएका छन् । निकै सफल स्पिनरको रुपमा चिनिएका कुलदिप यादवले मात्र ४ खेलमा १६ ओभरमा १० विकेट लिएका छन् ।
तुलनात्मक रुपमा दक्षिण अफ्रिकी टोलीका कुनै एक खेलाडीको उत्कृष्ट प्रदर्शन हुन सकेको छैन । सबै खेलाडीले औषत प्रदर्शन गर्दै आएका छन । अफ्रिकी टोलीका ओपनर ब्याटर क्विन्टेन डि ककले ८ पारीमा २५ को औषतले २ अर्धसतक सहित २ सय ४ रन जोडेका छन् । यस्तै डेभिड मिलरले कुल ७ पारीमा १ अर्धसतक सहित १ सय ४८ रन टिमको लागि जोडन सकेका छन् ।
तीब्र गतिका बलर एनरिच नोर्के ८ पारीमा ३१ ओभरमा १३ विकेट चट्काएका छन् । उनको निकै कसिलो बलिङ जारी विश्वकपमा देखिएको छ यस्तै तिब्र गतिकै बलर कागिसो रवाडाले २७ ओभर बलिङ गर्दै १२ विकेट हात पारेका छन् भने नेपाली टोलीलाई धराशायी बनाउन प्रमुख भूमिका खेलेका सामसीले मात्र १३ दशमलव ५ ओभर बलिङ गर्दै ११ विकेट चट्काएका छन् ।
उनी दक्षिण अफ्रिकाको प्रमुख स्पिनर समेत हुन् । टि ट्वान्टी क्रिकेटमा अहिलेसम्म भारत र दक्षिण अफ्रिका २६ पटक आमने सामने भएका छन, जसमा भारतले १४ र दक्षिण अफ्रिकाले ११ पटक जित निकाल्न सकेका छन । खेल नेपाली समय अनुसार शनिबार बेलुकी सवा ८ बजे वेष्ट इन्डिजको बार्बाडोसको किँगस्टोन ओभलमा हुनेछ ।