© २०२३
चिया र सूर्योदयको जिल्ला भनेर चिनिएको इलाम जिल्लाको निर्वाचन क्षेत्र नम्वर २ र विभिन्न कोणबाट चर्चामा आउने सुदूर पश्चिमको एउटा जिल्ला बझाङको १ (१) मा गत बैशाख १५ गते सम्पन्न भएको उप निर्वाचनको परिणामलाई लिएर विभिन्न तर्कशास्त्रीहरूले विभिन्न तर्क वितर्क गरेको सुनियो । कुरा सुनिनु अस्वाभाविक होइन । यसको वारेमा चर्चा आवश्यक थियो र यसै भइरहेको छ, यस प्रकारका चर्चा भोलीका दिनमा अझ गरिनुपर्दछ । इलाम २ मा २०७९ मार्ग ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा एमालेका उपाध्यक्ष चर्चित व्यक्तित्व सुवासचन्द्र नेम्वाङले विजय हासिल गरेको क्षेत्र हो भने बझाङको १(१) मा प्रदेश सभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेसका उमेदवार पृथ्वीबादुर सिंह विजय हासिल गरेको क्षेत्र हो । यी दुबै निर्वाचन क्षेत्रबाट विजयी उमेदवार मध्येमा सुवासचन्द्र नेम्वाङको कालगतिका कारणले र पृथ्वीबहादुर सिंहको गाडी दुर्घटनाका कारणले निधन भएको थियो । यसरी यी दुबै पद खाली हुन पुगेका हुन् । अन्ततः २०८१ साल बैशाख १५ गतेका दिन दुबै निर्वाचन क्षेत्रमा एकैसाथ उप निर्वाचन सम्पन्न भएको हो । यो निर्वाचन भन्दा पहिले निर्वाचनमा सहभागि भएका उमेदवार र दलका वारेमा निकै अडकलवाजी भए । कसैले काँग्रेसले दुबै पद लिन्छ भने त कसैले स्वतन्त्र पार्टीले यस अघिको अर्थात २०८० को बैशाख १० गते तनहुँ र चितवनमा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले बाजी मारेको थियो । यसैलाई आधार बनाएर यसपटक पनि रास्वापाले बाजी मार्छ भन्ने तर्क गरे । विगतलाई हेरेर अड्कल गर्नुलाई पनि अन्यथा भन्न मिल्दैन । कसै कसैले इलाममा एमाले र बझाङमा नेपाली काँग्रेसले बाजी मार्ने पनि अड्कल गरेका हुन् । पहिले जितेको स्थानमा उनैले जित्ने सपना देख्नुलाई पनि कति अन्यथा मान्नु र ? कसैले एमालेको अवस्था खस्किएको हुनाले दुबै स्थानमा नेपाली काँग्रेसका उमेदवारले जित्ने दावी गरेको पनि सुनियो । इलाममा पहिचानवादीहरूको उपस्थिति पनि राम्रै हुने आँकलन गरिएको थियो । इलाममा सुवास नेम्वाङको छोरालाई टिकट दिनु भनेको राजतन्त्रको झल्को भएको भनेर पनि भाषण गरेको सुनियो । बझाङमा पृथ्वीबहादुर सिंहका पुत्रलाई टिकट दिएकोमा राजतन्त्रको झल्को भएन, सुवासचन्द्र नेङवाङको छोरालाई टिकट दिनु राजतन्त्रको झल्को भन्नेहरू पनि भेटिए । यो पनि अन्यथा होइन । किनभने लोकतन्त्रमा यस्तै कुरा पनि भन्न पाइन्छ । भित्रबाट ठोस विश्लेषण गर्नेहरूको एउटा जमात पनि रहेछ त्यो जमातले एमाले मिसन चौरासीमा लागेको छ र देश समृद्धि यसैको काँधमा छ त्यसकारण सके दुबै सिट नभए इलाममा त पक्कै बाजी मार्छ भन्नेहरू पनि देखिए, भेटिए । जुन विश्लेषण सही रहेछ ।
निर्वाचनको प्रचार प्रसारका क्रममा जसले जे सुकै भनेपनि नेपालको निर्वाचनमा गठवन्धनले कति प्रभाव पारेको रहेछ र कुन दलको हैसियत के र कस्तो रहेछ भन्ने कुरा यस पटकको उप निर्वाचनमा प्रष्ट देखियो । कोशी प्रदेश नामाकरण भएको विरुद्धमा एउटा पक्ष अहिले पनि सडकमा छ । उसको पनि हैसियत के रहेछ भन्ने कुरा पनि त्यहाँका मतदाताले आफ्नो मतबाट देखाईदिए । अर्कोतर्फ नेपालमा सारा नेपालीले राजतन्त्र चाहेका छन् भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि हैसियत के रहेछ ? त्यो पनि पहिचान भयो । जुन ठाउँमा जमानत जोगाउने मत आउँदैन, त्यही ठाउँमा आम नेपाली राजतन्त्रको पक्षमा छन् भन्न सक्नु पनि ठूलो हिम्मत हो भन्ने लाग्दछ । यो उपनिर्वाचनमा झन आश्चर्यको विषय अर्को रह्यो त्यो के भने देशको निर्णायक शक्ति बनेर उदाएको नेपाल कम्युनिष्ट पार्टी समाजवादीको मतले पनि जमानत जोगाउन सकेन । एमालेको समुल नष्ट गर्नका लागि उदाएको पार्टी हो यो । यसले यो उपनिर्वाचनमा इलाममा पाँचसय मत कटाउन सकेन भन्ने सुन्दा हाँस्नु कि रुनु ?
यस प्रकारका निर्वाचनहरू आफैमा एक प्रकारका जनमत संग्रह जस्तै हुन् । यसले दलको हैसियत कहाँ कसको कस्तो भन्ने प्रष्ट देखाउँछ । यो निर्वाचनमा धाँधली भयो भनेको सुनिएन । कहिले त त्यस्ता कुराहरू सुनिन्छन् । निर्वाचन पछिको परिणामलाई सबैले सहजै स्वीकार गरेको अवस्था छ । यसकारण धाँधली भयो भन्ने जस्ता कुरा सुन्नमा आएनन् । आखिर निर्वाचन कसको पक्षमा रहेछ ? हिंजो पाँच दलको गठवन्धनले एमालेलाई किनारमा पु¥याउने हिम्मतकासाथ उदाएको त्यो समयको गठवन्धन यतिवेला नेपालमा कायम रहेन । पाँचदलको शक्तिले एमालेलाई अचेड्दाको परिणाम हेरेर एमालेको खिस्सिट्युरी गर्ने पनि प्रसस्त थिए । केही सञ्चार माध्यमबाट गठवन्धनको बललाई तोडेर पनि प्रभावकारी संख्यामा विजय हासिल गर्न सकेको चर्चा गर्नुको साटो एमाले खस्कियो भन्ने जस्ता सन्देशहरू प्रसस्त सुनाए । यस्ता कुरा जे जस्ता आए, त्यो ठोस विश्लेषण भित्र पर्दैन । यस पटकको उप निर्वाचनले मतदाता कसको पक्षमा रहेछन् भन्ने कुरा आफै खुलेको छ ।
यो निर्वाचनले जे जस्तो परिणाम दिएको छ । यसबाट कोही पनि आत्तिने, मात्तिने र तात्तिने गर्नु हुँदैन । यसप्रकारका निर्वाचन धेरै सामना गर्नुपर्ने छ । राजनीति गर्ने भनेको जनताको सेवा गर्नुृ हो । जनताको सेवा जसले गर्न सक्छ उसको पक्षमा मत खस्ने हो । हामीले जतिसुकै चर्का कुरा गरेर जनता हाम्रो पक्षमा छन् भनेर कुर्लिए पनि खास मत खस्ने समयमा त्यो परिणाम आफै देखिन्छ । यस पटक एउटा कुरा के प्रष्ट भयो भने हिंजो गरिएको गठवन्धन पवित्र थिएन भन्ने कुरा प्रष्ट भएको छ । अहिले जसरी सबै दलहरू एक्लाएक्लै मैदानमा आउने हिम्मत गरे । यो नै सकारात्मक पक्ष थियो । एमाले ध्वंस पार्नका लागि बनाइएको दल नेकपा समाजवादीले हिंजो आवश्यक मत ल्याउन नसकेर राष्ट्रिय पार्टी बन्न नसक्दा नसक्दै पनि त्यसको रत्तिभर मूल्यांकन नगरेर हाम्रो दल मुलुकको निर्णायक शक्ति हो भनेर घुर्की दिइरहनु र इलाममा पाएको मतलाई दाँजेर एक पटक विश्लेषण गर्ने हो भने फिस्टाले बाँसको लिंगो नुङ्गाउँछ या नुङ्गाउँदैन भन्ने कुर आफै प्रष्ट हुन्छ । नेकपा एमालेले यस पटक दुबै निर्वाचन क्षेत्रमा बाजी मारेको छ । यसैलाई भजाएर एमालेले धेरै ठूला कुरा गर्न उचित हुँदै हुँदैन । आज पाएको मतलाई बचाइ राख्नका लागि नागरिकको पक्षमा ताजा कामहरू गरेर देखाउनु पर्दछ । विना काम कसैले कसैलाई पत्याउँदैनन् भन्ने बुझ्नुपर्दछ । जसरी राष्ट्रिय स्वतन्त्र पार्टीले नेपालमा भएका सबै प्रकारका भ्रष्टाचारहरू अन्त्य गर्ने मुल नारा लगाएर उदाएको हो । यही नारा सार्थक बनाउन लाग्ने विश्वास गरेर नागरिकले गत वर्ष बैशाख १० गते भएको निर्वाचनमा तनहुँ र चितवनमा रास्वपाका उमेदवारलाई आफ्नो मत दिएर विजयको माला लगाइ दिएका हुन् । त्यसको ठीक एक वर्ष पछि त्यही पार्टीका उमेदवारले उल्लेख्य मत ल्याउन नसक्नुबाट धेरै कुरा खुलेको छ । यो पाठ अरू दल वा स्वतन्त्र उमेदवारहरूले पनि बुझ्नुपर्दछ । यसकरण एमालेले मिसन ८४ सफल बनाउने हो भने जनताप्रति पुरै समर्पित भएर लाग्नुपर्ने हुन्छ । आज देशको अवस्था के कस्तो छ ? कुन स्थानका नागरिकको चाहना के छ ? यसको वारेमा जानकारी लिने र दलभित्र गुट जन्मन नदिने हो भने मिसन चौरासी सफल हुन सक्नेछ । यसमा पनि हिंजो गरेको कुरालाई भजाउनु भन्दा आज के गर्दै छु र भोली के गर्ने ? यसका वारेमा प्रष्ट हुुनुपर्दछ । यो समय एमालेका लागि नागरिकप्रति आभार व्यक्त गरेर नयाँ योजनाका साथ उठनु पर्नेछ । यही समयमा हो संयमता चाहिने भनेको ।