© २०२३
सुनवल, २३ जेठ । पश्चिम नवलपरासीमा गत बिहीवार आएको हावाहुरीका कारण अवरुद्ध विद्युत सेवा अझै पनि पूर्ण रूपमा सुचारु हुन सकेको छैन् । सरावल र बर्दघाटका विभिन्न स्थानमा विद्युत सेवा अझै सुचारु हुन नसक्दा जनजीवन कष्टकर भएको छ ।
गर्मीको समयमा ५ दिनसम्म विद्युत अवरुद्ध हुँदा स्थानीयले सास्ती व्यहोर्न बाध्य भएका छन् । धेरै स्थानमा पोल ढलेका कारण अझै पनि पोल गाड्ने र तार तान्ने काम भईरहेपनि पुरा हुन नसकेको विद्युत प्राधिकरण बर्दघाट वितरण केन्द्रका प्रमुख प्रशान्त कुमार झाले बताए । बुधवार सम्ममा सबै स्थानमा विद्युत प्रवाह हुने उनको भनाइ छ ।
तर लामो समयसम्म विद्युत अवरुद्ध हुने पनि र प्राधिकरणले छिटो विद्युत सुचारु गर्न तदारुकता नदेखाएको भन्दै स्थानीय आक्रोशित भएका छन् । सरावल २ का मधु तिमिल्सेनाले विद्युतका कर्मचारीले हदै सम्मको लापरवाही गरेको गुनासो गरे । कहिले एउटा कहिले दुई ओटा पोल गाडेर जाने, समयमै काम सक्न कुनै चासो नदिएका कारण ६ दिन देखि अन्धकारमा बस्नुपरेको तिमिल्सेनाको भनाई छ ।
यो गर्मीमा बालबालिका, वृद्धवृद्धा सबैलाई कति कठिन भयो होला, उनले भने तर दुई दिन भित्रै लाईन सुचारु गर्न सकिने भएपनि प्राधिकरणको लापरवाहीले गर्दा काम पुरा नभएको उनको दाबी छ । बर्दघाटका केही स्थानमा पनि विद्युत डिम आएका कारण समस्या भएको स्थानीयले बताएका छन् । बर्दघाट वितरण केन्द्रले फेरि पनि आएको हावाहुरीका कारण समयमै काम पुरा गर्न नसकिएको बताएको छ ।
यस्तै विद्युत प्राधिकरण परासी वितरण केन्द्रले भने सबै स्थानमा विद्युत प्रवाह भईसकेको जनाएको छ । हावाहुरीका कारण विभिन्न स्थानमा ढलेका पोल गाडेर विद्युत सेवा सुचारु गरिएको परासी वितरण केन्द्रका प्रमुख सुरज रेग्मीले जानकारी दिए । बिहीवारको तीव्र गतिको हावाहुरीका कारण रामग्राम, सुनवल, सरावल, बर्दघाट, प्रतापपुर लगायतका स्थानमा १ सय २६ ओटा पोल ढलेका थिए भने विभिन्न स्थानका ट्रान्सर्फमरमा पनि क्षति पुगेको थियो ।