© २०२३
बुटवल, २२ जेठ । लुम्बिनी प्रदेशका अटो ब्यवसायीहरुको ब्यक्तिगत र ब्यवसायिक दक्षता अभिवृद्धि गर्ने लक्ष्यसहित एक दिने आर्थिक नीति, भन्सार नीति, भिसिटिएस, व्यवहारिक लेखा तालिम सम्पन्न भएको छ । लुम्बिनी अटोमोबाइल एशोसिएसन अफ नेपाल (नाडा लुम्विनी) को आयोजनामा बुटवलमा एक दिने आर्थिक नीति, भन्सार नीति, भिसिटिएस, व्यवहारिक लेखा तालिम सोमबार सम्पन्न भएको हो ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका कर अधिकृत खडानन्द खरेल, राजश्व अनुसन्धान कार्यालयका अधिकृत हुम पाण्डे, भैरहवा भन्सार कार्यालयका अधिकृत ईश्वर थापा र संस्थाका आर्थिक सल्लाहकार नेत्र ज्ञवालीले वर्तमान नेपालको अर्थ ब्यवस्था, भन्सार नीतिका विषयमा प्रकाश पारेका थिए ।
कार्यक्रममा नाडा लुम्बिनीका अध्यक्ष गणेश प्रसाद भट्टराईले भिसिटिएस कार्यान्वयनमा भएको अफट्यारा, ब्यवसायीहरुप्रति सरकारको दृष्टिकोण फेरिनुपर्ने सुझाव दिए । कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष रोशन पाण्डे, सस्थाका सल्लाहकार सन्तोष पान्डे, प्रेम फौदार र जिवन प्रसाद अधिकारी, महासचिव राम प्रसाद बेल्बासेले आर्थिक मन्दीको कारण अटो ब्यवसायी समस्यामा परेको बेला सरकारबाट राहतका नीतिहरु ल्याउनुपर्ने बताए ।
कार्यक्रम संयोजक कृष्ण प्रसाद भण्डारीले संस्थाको वार्षिक कार्ययोजना अनुसार ब्यवसायीहरुको दक्षता वृद्धि, सामाजिक उत्तरदायित्व अन्तरगतका विविध कार्यक्रमहरु नियमित रुपमा गर्दै आएको बताए । तालिममा रुपन्देही, कपिलबस्तु र पाल्पाका ब्यवसायी तथा ब्यवसायी प्रतिष्ठानका एकाउन्टेन्टहरुको सहभागिता रहेको थियो ।