© २०२३
सुनवल, २० जेठ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका देशकै चौथो पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा भएको छ । सरकारले जारी गरेको पूर्ण संस्थागत प्रसुति सेवायुक्त स्थानीय तह र जिल्ला घोषणा तथा सुनिश्चितता सम्बन्धी मापदण्डका आधारमा रामग्रामलाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा गरिएको हो ।
मापदण्ड अनुसार कम्तीमा चार पटक गर्भ जाँच गरेका गर्भवती महिला कम्तिमा ९० प्रतिशत, दक्ष प्रसुतिकर्मीद्वारा ९५ प्रतिशत सुत्केरी स्वास्थ्य संस्थामा गराएको, घरमा हुने प्रसूति शुन्य र मापदण्ड अनुसार तीनपटक सुत्केरी जाँच कम्तिमा ९० प्रतिशत गराएको सुनिश्चतता भएपछि जिल्ला प्रजनन् स्वास्थ्य समन्वय समितिले घोषणाका लागि स्वीकृति दिने व्यवस्था रहेको छ ।
रामग्राममा चालु आर्थिक वर्षमा १ हजार २२ जना सुत्केरी मध्ये १२ जना महिला अस्पताल लैजाने क्रममा र बाँकि सबै अस्पतालमा सुत्केरी भएका थिए । नगरपालिकाले मातृ शिशु कार्यक्रमलाई प्रभावकारी बनाउन गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा सहित गर्भवती तथा सुत्केरीलाई पोषकतत्व वितरण, ग्रामिण भेगमा निःशुल्क भिडियो एक्स–रे सेवा लगायतका कार्यक्रम गर्दे आएको नगर प्रमुख धनपत यादवले बताए । ग्रामिण भेगका महिलाहरू सदरमुकाम परासी सम्म भिडियो एक्स–रे का लागि आउन आनाकानी गर्ने र नियमित चेकजाँच पनि नगर्ने गरेकाले सदरमुकाम परासी बाट टाढा रहेका ८ ओटा स्वास्थ्य संस्थामा साप्ताहिक रूपमा भिडियो एक्स–रे सेवा प्रदान गरेको नगर प्रमुख यादवले जानकारी दिए । रामग्राम नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै विगतको तुलनामा शैक्षिक अवस्थामा समेत सुधार आएको बताए ।
प्रसूति सेवालाई प्रभावकारी बनाउन विभिन्न स्थानमा सुबिधा सम्पन्न प्रसूति सेवा केन्द्र स्थापना, सुरक्षित मातृत्व सेवालाई प्राथमिकतामा राखी गर्भ जाँच र उत्तर प्रसूति सेवालाई स्वास्थ्यकर्मीले घरदैलोमै गएर सुत्केरी तथा नवजात शिशुलाई मापदण्ड अनुसार स्वास्थ्य जाँच गरि खोप लगाउने काम समेत गर्दै आएको नगरपालिकाले जनाएको छ । गर्भवती महिलाको ८ पटक जाँच र सुत्केरीको समयमा स्वास्थ्य स्वयंसेविका मार्फत नियमित निगरानी गरी स्वास्थ्य संस्था पु¥याउने व्यवस्था पनि नगरपालिकाले गर्दै आएको नगरपालिकाका जनस्वास्थ्य निरिक्षक सुरज हरिजनले जानकारी दिए ।
प्रतिनिधि सभा सदस्य धु्रवबहादुर प्रधानले पछिल्लो समयम भित्रि मधेसमा पनि स्वास्थ्यको अवस्थामा उल्लेखनीय सुधार आएको उल्लेख गरे । उनले विकासका काममा जनप्रतिनिधिहरू एक ठाँउमा उभिनुपर्ने बताउँदै असन्तुष्टिका बीच पनि सन्तुष्ट हुन सिक्नुपर्नेमा जोड दिए । रामग्राम नगरपालिकाका वडा अध्यक्ष प्रति लक्षित गर्दै प्रधानले सामाजिक काममा गरिने राजनीतिले लज्जाबोध गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ सचेत गराए ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक बिनोद गिरीले सात प्रदेश मध्ये लुम्बिनीमा सुत्केरी हुने क्रममा सबैभन्दा बढि आमाको ज्यान जाने गरेको भन्दै संस्थागत प्रसूति सेवा सुनिश्चित गर्नु महत्वपुर्ण कदम भएको उल्लेख गरे ।नगर प्रमुख यादवले प्रदेश र संघीय सरकारले स्थानीय सरकारको काममा बाधक नभई सहयोगी बन्नुपर्नेमा जोड दिए । उनले जनसंख्या भुगोलको आधारमा पालिकाहरूलाई बजेट विनियोजन गर्न पनि यादवले संघ र प्रदेश सरकारसंग माग गरे । नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दीगोपनाको पनि घोषणा गरिएको छ ।