© २०२३
देवदह, ३० वैशाख ।
सानै उमेरमा पोलियोको कारण अपाङ्गता जीवन बिताएकी कुमारी मुसहरको जीवनमा कहिल्यै खुशीयाली छाएन । उनी एउटा खुट्टाको भरमा हिंड्नुपर्ने एउटा बाध्यता छ भने अर्को चरम गरिबीको अभावमा जिन्दगीलाई अगाडि बढाउनुपर्ने बाध्यता रहेको छ । चार वटी छोरी र एकवटा छोरा गरी पांँचवटा संन्तानलाई जन्म दिएकी कुमारीले एउटा खुट्टाको भरमा ती लालाबाला छोराछोरीलाई कसरी हुर्काइन् होला अनुमान गर्न पनि गाह्रो हुन्छ । साथमा सहयोगीको नाममा एउटा श्रीमान त्यो पनि दिनभरि अर्काको काममा जाने र बेलुका आउँदा रक्सीको नसामा मातिने र पैसा पनि सकेर आउने गर्थे ।
यस्तो दुखको बेला कुमारीका श्रीमानले आफ्ना छोराछोरी र श्रीमतीलाई कतिको साथ दिए होलान् भन्ने कुरा आफै छर्लङ्ग हुन्छ । ४५ वर्षकी भईन् कुमारी मुसहर । उनी भन्छिन्, “घरमा पिडा छँदै छ तर बाहिर पनि मलाई कतिपय मानिसहरुले एक खुट्टे भनेर गिज्याउने, हाँस्ने, घृणाको नजरले हेर्ने गर्दछन् ।” मेरो छोरा सानै छ उसले आमा मेरो स्कुलमा नआउनु मलाई मेरा साथीहरुले जिस्काउछन् भन्छ, यसो भन्दा मेरो मन झनै रुन्छ । अनि आफ्नैले त बुझ्दैनन् झन् अरुले के बुझ्लान भन्ने लाग्छ ।
यो त भयो कुमारीको आन्तरिक पिडा, उनको आन्तरिक पिडा त छँदै थियो । यो सँगै तीन वर्षअघि परिवार संगै राति सुतेका बेला उनको घर समेत बाढीले बगाएर लग्यो । उनीहरु अहिले भाडा कोठामा बसिरहेका छन् । “खान, बस्न छोराछोरीको स्कुल फि तिर्न समेत सकिरहेका छैनन् । आफ्नो एउटा घर भैदिएको भए अहिले अरुको घरमा बसेर भाडा तिर्न पर्दैनथ्यो”–कुमारीको गुनासो रहेको छ । उनी भन्छिन्, “आफ्नै घरमा मर्न पाए पनि शान्ति मिल्ने थियो, के गर्ने अभागीलाई जे गरेपनि अभावै अभाव मात्र हुने रहेछ ।” “बाढीले घर बगाएपछि हामी सिडियो कार्यालय पनि गएका थियौं । तर हाम्रो मागको कुनै सुनुवाई भएन । हामी निराश भएर घर कुनै विकल्प रहेन”–उनले भनिन् ।