© 2026
गुल्मी । मनैदेखि काम गर्ने इच्छाशक्ति भयो भने स्वदेशमा बसेर पनि जीविकोपार्जन गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् गुल्मीको छत्रकोट गाउँपालिका–४ दिगामका कृषक रामकृष्ण न्यौपाने । परम्परागत खेती छोडेर चार वर्षअघि व्यावसायिक उखु खेतीमा लागेका न्यौपानेले अहिले गाउँमै उद्योग स्थापना गरेर लाखौँ रुपैयाँ आम्दानी गरिरहेका छन् ।
न्यौपानेले उखुको रस प्रशोधन गरी गुड र खुदो उत्पादन गर्दै चार महिनाको अवधिमै ६० लाख रुपैयाँ भन्दा बढीको कारोबार गरिसकेका छन् । यस वर्ष एक करोड रुपैयाँ भन्दा बढीको कारोबार गर्ने लक्ष्य राखेका छन् । “काम गर्ने हो भने बिदेसिनै पर्छ भन्ने छैन, आफ्नै ठाउँमा पनि सम्भावना खोज्न सकिन्छ,” न्यौपाने भने, “दिगामको गुड र खुदो गुणस्तरीय भएकाले उपभोक्ताले ढुक्क भएर लैजान्छन्, बजारमा यसको माग पनि राम्रो छ ।”
सिँचाइ अभावका कारण बाँझै रहेका बारी अहिले उखुले हरियाली बनेका छन् । दिगाम क्षेत्रमा अहिले व्यावसायिक उखु खेती विस्तार हुँदै गएको छ । गाउँका अन्य किसानलाई समेत उखु खेतीतर्फ आकर्षित गराउन न्यौपाने सफल बनेका छन् ।
विगत चार वर्षअघि स्थानीय युवा किरण न्यौपाने र जगदीश पाण्डेसँगै मिलेर उनले एक करोड रुपैयाँ लगानीमा गाउँले ग्रुप अफ इन्डस्ट्रिज प्रालि स्थापना गरेका थिए । त्यही उद्योगमार्फत तीन सय रोपनी जग्गा भाडामा लिएर उखु खेती सुरु गरिएको हो ।
उद्योगमा आधुनिक मेसिनमार्फत उखु पेल्ने र त्यसबाट निस्किएको रस प्रशोधन गरी परम्परागत विधिबाट गुड र खुदो उत्पादन गरिन्छ । उद्योगले आफ्नै उत्पादन मात्र नभई स्थानीय किसानले उत्पादन गरेको उखु पनिखरिद गर्दै आएको छ ।
हाल उद्योगमा एक सय ५० भन्दा बढी किसानबाट खरिद गरिएको उखु प्रशोधन भइरहेको छ । न्यौपानेले किसानको बगैँचामै पुगेर उखु खरिद गरी उद्योगसम्म ल्याउने व्यवस्था मिलाएका छन् । यसले किसानलाई बजारको चिन्ता हटाएको छ ।
उद्योगमा उत्पादित गुड प्रतिकिलो तीन सय रुपैयाँ र खुदो प्रतिलिटर दुई सय रूपैयाँमा बिक्री हुँदै आएको छ । स्थानीय बजारसँगै पाल्पा र बुटवलसम्म दिगामको गुड र खुदो पुग्ने गरेको छ ।
जिल्लाका कतिपय सरकारी कार्यालय एवं संघ संस्था तथा व्यक्तिहरूले पाहुनालाई कोसेलीका रूपमा दिगामको गुड उपहारको रूपमा दिने र पठाउने गरेका छन् । उद्योगमा हाल दैनिक १० देखि १२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
रोजगारीको खोजीमा भारत तथा तेस्रो मुलुक जाने युवाको भीड भइरहेका बेला न्यौपाने भने गाउँमै बसेर उद्योग सञ्चालन गर्दै उदाहरणीय बनेका छन् ।
कृषि ज्ञान केन्द्र गुल्मीले यसअघि उद्योगलाई उखु प्रशोधन मेसिन तथा भट्टी निर्माणका लागि ६ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो । उक्त अनुदानमा थप गरी १२ लाख रुपैयाँ भन्दा बढी लागतमा आधुनिक मेसिन खरिद गरिएको न्यौपानेले जानकारी दिए । मेसिनले प्रतिघण्टा २५ क्विन्टल उखु पेल्ने क्षमता राख्छ ।
कृषि ज्ञान केन्द्र गुल्मीका वरिष्ठ प्राविधिक अधिकृत केशवराज खनालका अनुसार गतवर्ष जिल्लामा पाँच करोड ७० लाख रुपैयाँ भन्दा बढीको गुड र खुदो कारोबार भएको थियो । अहिले छत्रकोट गाउँपालिकामा मात्र एक सय हेक्टर भन्दा बढी क्षेत्रफलमा व्यावसायिक उखु खेती भइरहेको छ ।
अन्य खेतीको तुलनामा वन्यजन्तुले कम क्षति पु¥याउने भएकाले पनि किसानको आकर्षण उखुतर्फ बढ्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ । उत्पादित गुड र खुदोको बजारीकरणमा समेत समस्या नरहेको केन्द्रको भनाइ छ । दिगाममा उखु खेती र प्रशोधन उद्योगले गाउँमै सम्भावना खोजेर आत्मनिर्भर बन्न सकिन्छ भन्ने गतिलो सन्देश समेत दिएको छ ।