© २०२३
रोल्पा, २७ बैशाख । जिल्लाको लुंग्री गाउँपालिका वडा नं. १ र ४ मा खानेपानीको समस्या देखिन थालेको छ । खानेपानीका मुहान सुकेसँगै लामो दुरीबाट पानी बोकेर ल्याउनु परेको स्थानीयहरूको भनाइ छ । मान्छेले खानका लागी बनेका पानी धारामा पानी आउन छाडेको छ । पशुचौपायाले पानी खान वनाइएका पोखरीहरू पनि सुक्न थालेका छन । लामो समयको खडेरीले पानीका मुहान सुक्नुका साथै कृषि उपज समेत सुक्न थालेको स्थानीयहरूको भनाइ छ । खडेरीको चपेटाले आगलागीको समस्या समेत बढ्दै जान थालेको बताईन्छ ।
हिउँदयाम सुरु भएसँगै खानेपानीको अभाव सुरु भएपनि लामो खडेरीले यसको संकट बढ्दै गएको लुंग्री गाउँपालिका वडा नं. ४ का अन्जु सुनारले भने । घरमा रहेको धारामा पानी आउन छाडेपछि आधा घण्टा टाढावाट पानी ल्याउनु परेको छ उनले भने । खानेपानीको यो समस्या वर्षौं देखिको भएपनि यसको समस्या हल गर्न कसैले तत्परता देखाएका छैनन सुनारले भने । हिउँद सुरु भएसँगै खानेपानीको चिन्ता हुन्छ उनले भने । सुनारका अनुसार घरमा एक जनाले दिनभर खानेपानी बोक्नु पर्छ । गाईवस्तुलाई खुवाउन बनाएका पोखरी समेत सुक्दा मान्छे र पशुचौपायाका लागि पानी व्यवस्थापन गर्नु चूनौती पूर्ण रहेको उनको भनाइ छ । पानी बोकेर टाउको नै खुइलिसक्यो, हाम्रो समस्या कसैले हेर्दैनन उनले भने ।
खानेपानी समस्याबाट महिलाहरूले थप समस्या भोग्नु परेको छ । पुरुषहरू रोजगारीका लागी वैदेशिक रोजगारीमा रहने हुँदा घर व्यवहार सम्हाल्दै आएका महिलाहरू बढी पीडित हुने गरेको स्थानीय पत्रकार खुम सुनारको भनाइ छ । अगाडी वच्चा र पछाडी गाग्री बोकेर पानीको जोहो गर्न महिलाहरू वाध्य छन सुनारले भने । यहाँका अधिकांश परिवारमा पानीको जोहो गर्ने जिम्मा महिलाको हुन्छ सुनारले भने । धारामा आउने पानीका लागि पालो नै पुग्दैन । आधाघण्टाको दुरीमा रहेको खोलाको मुहानबाट पानी बोक्नु पर्ने बाध्यता छ ।
निर्वाचनका समयमा नेताहरूले सिमिखोला पानी ल्याईदिने वाचा खाएपनि अहिले सम्म वाचा पुरा नगरेको लुंग्री गाउँपालिका ४ नम्जाकी सीता विकको भनाइ छ । निर्वाचन जितेपछि भने कसैले पनि फर्केर हेरेनन उनले भनिन । जातिय रूपमा दलित वस्तीहरू खानेपानीवाट वढी प्रभावित भएका छन उनले भनिन । उनका अनुसार सिमिखोलमा दलितहरू बढी भएकै कारण खानेपानी र अन्य सुबिधावाट वंचित छन । उनले भने ‘निर्वाचनका बेला नेताहरू चिल्ला भाषण दिन्छन । सोझासाझा नागरिकबाट फाइदा निकाल्छन । खानेपानी जस्तो आधारभूत कुरामा पहुँच पु¥याउन आग्रह गरे पनि कसैले सहयोग गर्दैनन । नेताहरू जितेपछि गाउँमै आउँदैनन ।’ लुंग्री गाउँपालिका वडा ४ सिमिखोला टोलमा ३५ बढी घरपरिवार प्रत्येक वर्ष हिउँद र सुख्खायाममा खानेपानीको चरम समस्या झेल्दै आएका छन ।
गाइभैंसीका लागि समेत बोकेर पानीको जोहो गर्नुपर्छ । गाउँमा खानेपानी पु¥याउँछु भन्ने कता गए थाहा नै छैन । हाम्रा लागि त सरकार नै छैन जस्तो छ ।’ पुराना कुवाँमा पानी सुक्दै गएपछि खानेपानी अभाव चुलिएको स्थानीय मिना रोकाले बताइन ।
उनले भनिन् ‘पहिला पहिला कुवामा पानी हुन्थ्यो । सोही पानीले गाउँमा खानेपानीको जोहो गर्दै आएका थियौँ । तर,अहिले कुवाँको पानी पनि सुकेपछि टाढाको मुहानबाट खानेपानी ल्याउनु पर्ने बाध्यता छ । गाउँमा पानीको अभाव हुदा केही घरधुरीको शौचालय प्रयोग समेत प्रभावित हुने गरेका छन ।
लुंग्री गाउँपालिका वडा नं १ मा पनि स्थानीयहरू पनि लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका छन । सो ठाउँमा आउने खानेपानीको मुहानमै पानी कम भएपछि खानेपानीको हाहाकार भएको हो । पछिल्लो समयमा अन्धाधुन्ध रूपमा डोजरले सडक खन्दा प्राकृतिक मुहान सुक्दै गएका कारण खानेपानीको समस्या झेल्नु परेको स्थानीयहरूको वुझाई छ । ‘डोजरले जथाभावी सडक खन्दा सडक तलतिरका मुहान ंमासिएका छन । मुहान सुक्दै जाँदा गाउँमा खानेपानीको समस्या चुलिएको छ । सामुदायिक वन संरक्षणका अभियान्ता टेकवहादुर सुनारले भने । वातावरणमैत्री विकास गरेमात्रै पानीका मुहान संरक्षण हुने भएपनि सिघ्र विकासको आकांक्षाले पानीका मुहान प्रभावित भएका छन सुनारले भने ।
गाउँपालिकाका थुप्रै ठाउँमा खानेपानीको समस्या रहेकाले समस्या समाधानका लागि आफूहरू लागिपरेको लुङग्री गाउँपालिका अध्यक्ष भरत कुमार थापाको भनाइ छ । प्राकृतिक र मानवीय दुवै कारणले विपद निम्तने गरेको बताउँदै सुख्खा खडेरी बढेसंगै खानेपानीका मुहान प्रभावित भएका छन थापाले भने । गाउँपालिकामा खानेपानी समस्या हल गर्न गाउँपालिका लागि परेको वताउदै यसका लागी गाउँपालिका सहित संघ र प्रदेश सरकारवाट वजेट विनियोजनका लागी पहल गरिरहेको थापाको भनाई छ ।
उनले भने – ‘क्रमशः खानेपानीको समस्या समाधान भएको छ, केही वडामा समस्या समाधान हुन बाँकी छ । थापाका अनुसार विभिन्न तरिका लिएर समाधानको लागि विभिन्न मन्त्रालयमा खानेपानीको लागि बजेट विनोजन गरेको पनि बताएका थिए । उनका अनुसार खानेपानीमा सवैको पहुँच स्थापित गर्न गाउँपालिकाभरका सवै घरधुरीमा एक घर एक धारा कार्यक्रम अघि सारिएको छ ।