© २०२३
रूपन्देहीको बुटवल र पाल्पाको सिमावर्ती क्षेत्र दोभानको विशेष महिमा छ । यसको धार्मिक तथा आध्यात्मिक महत्व छ । प्राकृतिक सुन्दरताको दृष्टिले पनि महत्वपूर्ण छ । यसकारण दोभान क्षेत्रको महिमाबारे अलग्गै चर्चा नगरी रहन सकिनँ । बुटवल र पाल्पाको सिमावर्ती क्षेत्र दोभान धार्मिक, साँस्कृतिक प्राग्ऐतिहासिक, आध्यात्मिक र प्राकृतिक दृष्टिले महत्वपूर्ण छ । त्यसैले यो महत्वपूर्ण पर्यटकीय सम्पदा हो । यो क्षेत्रको संरक्षण र प्रबद्र्धनमा सरकारको ध्यानाकर्षण हुनु जरुरी छ । यो क्षेत्रको महिमाबारे सामान्य चर्चा गरौं । बुटवल–दोभान क्षेत्र परापूर्वकालदेखि नै देवता र अप्सराहरूको क्रिडाभूमि रहेछ । तिलोत्तमा (तिनाउ) नदीको नामकरण अप्सरा तिलोत्तमाको नामबाट भएको हो भन्ने जनश्रुति छ । देवतासँग अप्सराको प्रसङ्ग स्वतः जोडिन्छ । यस जनश्रुतिको आधारमा यो क्षेत्र अप्सराहरूको पनि क्रिडाभूमि रहेको कुरा जानकारी हुन्छ । देवभूमि भएकाले यो क्षेत्र प्राकृतिक दृष्टिले सुन्दर रहेको स्वतः प्रमाणित हुन्छ । अहिले बुटवल क्षेत्र शहर भएकाले प्राकृतिक सौन्दर्यता घटेको छ । तथापी वरिपरीको चुरेको जङ्गल क्षेत्रले प्राकृतिक सौन्दर्यतालाई आंशिक बचाई राखेको छ । आजभन्दा २६ सय वर्ष अघि रूपन्देहीको लुम्बिनीमा जन्मेका र कपिलबस्तुको तिलौराकोट दरबारमा हुर्के बढेका भगवान गौतम बुद्धको विचरण स्थल पनि हो – बुटवल–दोभान क्षेत्र ।
उत्तर–दक्षिण आवत जावतको मुख्य ढोका भएकाले यो क्षेत्रको धार्मिक–साँस्कृतिक महिमा छ । दक्षिण तर्फका राजा, राजकुमार, राजर्षि, साधु, सन्तहरू उत्तर हिमालय तर्फ ध्यान र ज्ञानको लागि यही बुटवल दोभान क्षेत्र हुँदै प्रस्थान गर्ने गर्दथे । हिमालय क्षेत्रका कन्दराका गुफाहरूमा बसेर ध्यान गरी ज्ञान प्राप्त भएपछि दक्षिणतर्फ फर्कने द्वार पनि यही बुटवल–दोभान क्षेत्र हो । यसरी हिमालयतर्फ आवत जावत गर्ने क्रममा केही राजर्षि र साधु सन्तहरू दोभान क्षेत्रको जङ्गलवीचको पहाड र गुफामा बसेर ध्यान गरी ज्ञान प्राप्त गरेर स्वदेश फर्कने गर्दथे । यस्तो पुण्यभूमि हो– दोभान क्षेत्र । चिडिया खोला र तिनाउ नदीको मिलन स्थल भएकाले मात्र दोभान भनिएको हो जस्तो मलाई लाग्दैन । तराई र पहाडको मिलन स्थल भएकाले पनि यो क्षेत्रलाई दोभान भनिएको हुनुपर्छ । दोभान क्षेत्रको जङ्गल विचको कुहिरे भिर र गुफामा बसेर ध्यान गरी ज्ञान प्राप्त गरेका दुई महापुरुषको बारेमा सामान्य चर्चा गरौं । भारतको उज्जैनका चक्रवर्ति राजा भर्तृहरिले बैराग्यबोधपछि जव राजपाट त्यागे, त्यसपछि उनी ध्यान र ज्ञानकोलागी उत्तर हिमालयतर्फ प्रस्थान गरे । भारतकै गोरखपुर स्थित गोरखनाथ मन्दिरमा गोरखनाथसँग दीक्षा लिई उत्तर हिमालयतर्फ प्रस्थान गर्ने क्रममा दोभानबाट अघि बढ्न सकेनन् । दोभानको घना जङ्गल एवं प्राकृतिक सुन्दरताले उनलाई लोभ्यायो । घना जङ्गल एवं फलफूलको बगैंचाविचको गुफा, झरनाहरू, तिनाउ नदी आदीको प्रकृतिक सुन्दरताले उनलाई लठ्ठ बनायो । अनि दोभानको गड्डा गाउँ नजिकको गुफामा ध्यानमा बसे । ध्यान लाग्यो । अष्ट सिद्धि ज्ञान पनि प्राप्त भयो । त्यो ऐतिहासिक, साँस्कृतिक महत्वको गुफा अहिले लोपोन्मुख छ । यसको संरक्षण र प्रबर्धनमा स्थानीय र केन्द्र सरकारको ध्यानाकर्षण हुन सकेको छैन । गुफा वरीपरिको फलफूलको बगैंचा पनि नष्ट भईसकेको छ । यो दुःखको कुरा हो । पाल्पाको तिनाउ गाउँपालिका अन्तर्गतको दोभान वडा र बुटवल उपमहानगरपालिकाले सहकार्य गरी उक्त गुफाको संरक्षण र प्रबद्र्धन गर्न जरुरी देखिन्छ । यस कार्यकालागि दोभानको गड्डा गाउँका बासिन्दाहरू तयार देखिन्छन् ।
उक्त गुफामा बसेर भर्तृहरिनाथ (भरथरीबाबा) को ध्यान (तपश्या) र ज्ञान प्राप्ती बारेको जनश्रुति गड्डा गाउँका बासिन्दाहरूबाट मैले सङ्कलन गरी बुटवल तर्फको सिद्धबाबा मन्दिरद्वारा प्रकाशित भर्तृहरिनाथ स्मृति ग्रन्थमा प्रकासित गरिएको छ । त्यसकारण यो प्रामाणिक कुरा हो । किनकी जनश्रुति इतिहासको महत्वपूर्ण आधार हो । सो गुफाबाट निस्कीएको चर्चीत छरछरे झरनाको पनि संरक्षण गर्नु जरुरी छ । भर्तृहरिनाथका साथै महाभारत युद्धका बहु चर्चित पात्र एवं अष्ट चिरन्जिवी मध्येका एक अस्वत्थामाले पनि दोभान क्षेत्रमै ध्यान गरी ज्ञान एवं आध्यात्मिक सुख प्राप्त गरेको जनश्रुति छ । पाल्पाको रम्भापानी गाउँमा यो जनश्रुति प्रचलित रहेको बुटवलका पुराना पत्रकार एवं साहित्यकार कृष्णप्रसाद कोइरालाले सिद्धबाबा मन्दिरद्वारा प्रकाशित भर्तृहरिनाथ स्मृति ग्रन्थमा लेख्नुभएको छ । पहाडतिरबाट टिनका टिन घिउ बोकेर यही दोभानको बाटो हुँदै बुटवल तर्फ आउने ढाक्रेहरूसँग घिउ मागेर दलेर अस्वत्थामाले महाभारत युद्धमा उनको शिरोच्छेदन गरी मणि निकाल्दा भएको घाउ निको पारेको भन्ने जनश्रुति पनि छ । अस्वत्थामाले शरिर लुकाएर एक हातले मात्र ढाक्रेसँग घिउ माग्ने गरेको जनश्रुति पनि छ । भर्तृहरिनाथ र अस्वत्थामाको मात्र नभई धेरै साधु सन्तहरूको समेत ध्यान एवं साधना भूमि हो दोभान क्षेत्र । कुइरे भिर क्षेत्रबाट हरेक दिन विहान धुँवा निस्कने गरेको देखिन्छ । यो धुँवा साधु सन्तहरूले गाँजा खाँदा निस्कने गरेको धुँवा हो भन्ने लोक मान्यता छ । कुहिरे भिरको गुफा र नुवाकोट डाँडा जोड्ने गरी झोलुङ्गे पुल बनाउने भन्ने प्रस्ताव पनि बुटवलका केही व्यापारीहरूले अघि सारेका छन् । जेहोस यो गुफा संरक्षण गरी पर्यटकीय प्रबद्र्धन गर्न जरुरी छ । लुम्बिनी केवलकारले यो गुफा संरक्षण र पर्यटकीय प्रबद्र्धनकालागि योजना बनाएर काम गर्न सक्छ । यसतर्फ लुम्बिनी केवलकारको ध्यानाकर्षण गराउनुपर्छ । यसका साथै १ करोड १० लाख वर्ष पुरानो मानव पुर्खा रामपिथेकसको बङ्गारा भेटिएको स्थल समेत हो –दोभान क्षेत्र । त्यसकारण यस क्षेत्रलाई प्राग्ऐतिहासिक क्षेत्रको रूपमा पनि पर्यटकीय विकास र प्रबद्र्धन गर्न सकिन्छ । रामपिथेकस उद्यान बुटवल र दोभानको सिमावर्ति क्षेत्रमा निर्माण गरिएको छ । सिद्धार्थ राजमार्गको दोभान क्षेत्रको किनारमा दोभान बासीले रामपिथेकस स्तम्भ पनि निर्माण गरेका छन् । राजमार्ग किनारमा रामपिथेकसका स–साना मुर्ति स्थापना गरिएका छन् । सिद्धबाबाका दुई प्रसिद्ध मन्दिर एउटा बुटवल पाल्पाको सिमावर्ति इलाका बुटवल तर्फ र अर्को दोभानमा स्थापित छन् । जहाँ बर्षेनी लाखौं पर्यटकले भ्रमण गर्दछन् । यहाँको छरछरे झरना र रानी झरना (सिद्ध सरोबर) पनि हेर्न लायक पर्यटकीय श्रोत हुन् । बुटवल र पाल्पाको सिमावर्ति इलाकाको जङ्गललाई मिलाएर रामपिथेकस बनस्पति उद्यान रूपन्देही–पाल्पा पनि सञ्चालन गरिएको छ । यो उद्यानमा चुरे क्षेत्रमा पाइने विभिन्न प्रजातिका रुख वृक्षहरू रहेका छन् ।
१ सय २५ प्रजातिका रुखवृक्षहरू पाइएको उद्यान व्यवस्थापन समितिको तथ्याङ्क छ । प्राकृतिक दृष्टिले समेत यस्तो सुन्दर र मनमोहक छ यो क्षेत्र । यस अतिरिक्त ऐतिहासिक नुवाकोटगढी, सुकेताल, सत्यवती, सिद्धगुफा, जन्तेलुङ्ग, मरामकोट, झिंगामारा, बसन्तपुर आदी स्थल पनि दोभानका महत्वपूर्ण पर्यटकीय सम्पदा हुन । बसन्तपुरलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले लुम्बिनी केवलकार सञ्चालन गरिएको छ । यो केवलकारले बसन्तपुरलाई महत्वपूर्ण पर्यटकीय गन्तव्य बनाउने नै छ । ऐतिहासिक तथा पुरातात्वीक सम्पदा नुवाकोट गढीलाई सिद्धार्थ केवलकारले पर्यटकीय स्थलका रूपमा प्रबर्धन गर्ने नै छ । त्यसैपनि ऐतिहासिक नुवाकोटगढी महत्वपूर्ण पर्यटकीय सम्पदा हो । यसरी दोभान क्षेत्र एउटा ऐतिहासिक, पुरातात्विक, प्रागऐतिहासिक, प्राकृतिक, धार्मिक–साँस्कृतिक एवं आध्यात्मीक दृष्टिले महत्वपूर्ण पर्यटकीय सम्पदा क्षेत्र हो । तिनाउ गाउँपालिकाले बुटवल उपमहानगरपालिकासँग सहकार्य गरी पर्यटकीय क्षेत्रको रूपमा यसको विकास र प्रबद्र्धन गर्नुपर्छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बेलहिया–तानसेन–पोखरा मार्गमा रहेकाले यसको पर्यटकीय विकास गर्न सहज छ । शाक्य मुनि बुद्धको जन्मस्थल लुम्बिनी आउने पर्यटकले तानसेन र पोखराको समेत भ्रमण गर्ने लक्ष्य लिएका हुन्छन् । उनीहरूलाई दोभान समेत घुमाएर अगाडी बढाउने वातावरण मिलाउनु पर्छ ।