Butwal Today

सामुदायिक वनमा आगो लगाएको आरोपमा दुईजना पक्राउ

१८ बैशाख २०८१, मंगलवार
अ+
अ-

गुल्मी ।

गुल्मी जिल्ला रेसुंगा नगरपालिका ७ मा पर्ने सिस्न्यारा पातल सामुदायिक वनमा आगो लगाएको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रेसुंगा नगरपालिका–७ का ३८ वर्षीय राजकुमार पन्थी क्षत्री र ४१ वर्षीय राजु जिसी छन् ।

डिभिजन वन कार्यालय गुल्मीका अनुसार उनीहरुलाई स्थानीय सिस्न्यारा पातल सामुदायिक वनमा वैशाख ७ गते आगो लगाएको आरोपमा पक्राउ गरिएको हो । आरोपी दुवै जनाले वनमा आफूहरुले आगो लगाएको स्विकारिसकेका छन ।

डिभिजन वन कार्यालय गुल्मीका निमित्त वन अधिकृत पंकज कुमार ठाकुरका अनुसार उनीहरुलाई नेटा बजारबाट वैशाख १७ पक्राउ गरिएको थियो । उनीहरु दुबै जनालाई संघिय वन ऐन २०७६ र वन नियमावलि २०७९ अनुसार कारवही प्रक्रिया अगाडि बडाई कारवाही हुने डिभिजन वन कार्यालय गुल्मीका निमित्त वन अधिकृत ठाकुरले बताए । आगो लगाएको कसुरमा मुद्दा चलाउने तयारी गरिएको छ ।

पक्राउ परेका उनीहरुलाई तीन वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने डिभिजन वन कार्यालय गुल्मीका निमित्त वन अधिकृत ठाकुरले बताए । वनजंगलमा मानवीय कारण आगलागी हुँदा त्यसले ठूलो क्षति पु¥याउने उनको भनाइ छ ।

हाल गुल्मीका १२ स्थानीय ८० सामुदायिक वनमा आगो लागेको छ । आगलागीबाट २ हजार बढी हेक्टर क्षेत्रफल नष्ट भएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।