© 2026
बुटवल,१७ बैशाख । कपिलवस्तुको एक फर्निचर उद्योगबाट कानुन विपरीत बेचिएका काठसहित पक्राउ परेका व्यक्तिलाई छुटाउन नेपाली कांग्रेसका नेताहरुको दौडधुप चलेको छ ।
बुद्धभूमि नगरपालिकाका मेयर केशव श्रेष्ठका छोरा दीपु श्रेष्ठले संचालन गरेको महेन्द्रकोट काष्ठ तथा फर्निचर उद्योगबाट दुई साताअघि कानुन विपरीत चिरान काठ बुटवल पठाउन लागेको समयमा गाडीसहित पक्राउ परेपनि गुपचुपमा मिलाउन नेताहरुको दौडधुप गरेका थिए तर कर्मचारीले जति दवाव आएपनि आफूहरु नफस्ने र कानुनी प्रकृया अघि बढाउने जनाएपनि यो विषय अगाडि बढेको हो ।
बुद्धभूमि नगरपालिकामा रहेका तीन सामुदायिक बन जुरपानी जयवन शक्ति बसन्तपुर सामुदायिक बन उपभोक्त समूहले उपभोक्ताको हित र समूहको लागि महेन्द्रकोट काष्ठ तथा फर्निचर उद्योग संचालन गरेका छन् । अहिले त्यो मेयर केशव श्रेष्ठका छोरा दीपु श्रेष्ठले सबै जिम्मेवारी लिएर संचालनमा ल्याएका छन् । यो फर्निचरमा समूहका काठ टाँचासहित आएर चिरान हुने पछि पनि टाँचा लगाएर बाहिर पठाउने गरिन्थ्यो । तर बैशाख १ गते नयाँ वर्षको दिन लु १ च ८२१७ नम्बरको बोलेरो जीपमा कानुन विपरीतका चिरान काठ बुटवल लैजाँदै गरेको अवस्थामा बुद्धभूमि नगरपालिका वडा नं ३ बाट चालक मधु न्यौपानेलाई पक्राउ गरी अनुसन्धानको प्रकृयामा अघि बढाइएको जिल्ला वन कार्यालयका सूचना अधिकारी खिलबहादुर तामाङले बताए । चिरान काठ ३८.७ घनफिट कानुन विपरीत बुटवल लैजाँदै गरेको अवस्थामा गाडीसहित बैशाख १ गते पक्राउ गरिएको र गोरुसिंगे सवडिभिजन कार्यालयले यसको अनुसन्धान गरिरहेको छ, कानुन विपरीत भए सोही अनुसार अघि बढने उनले भने ।
जुरपानी सामुदायिक बनका अध्यक्ष शालिकराम बन्जाडेले तीनै सामुदायिक बनले संचालन गरेको फर्निचर उद्योग संचालनको सबै जिम्मेवारी मेयर केशव श्रेष्ठका छोरा दीपु श्रेष्ठले लिएको र आफूले बन कार्यालयका अनुसन्धान अधिकृतसँग पनि यथार्थ कुरा सबै बताएको जनाए । आफ्नो क्षेत्रभन्दा बाहिरको जिल्लामा बेच्न जान नपाइने कानुन थाहा नपाएर यस्तो भएको भन्ने आयो, अब जिम्मेवारी जसले लियो उसैले त बहन गर्नुपर्यो, हामीले गर्ने पहल गर्योै, सबैलाई नजानेर यस्तो भएको हो मिलाउनुस भनेर अनुरोध गर्योै तर सबैतिरबाट कर्मचारीलाई दवाव भएपछि छिटो अदालत पठाइदिएजस्तो लायो उनले भने–‘बनको मुद्दा अदालतमा पुग्यो, अब सबैलाई समस्या पर्यो, कति धेरै समूहको काठ मिलमा छ, अब मिलमा पनि ताला लाग्यो, वनको मुद्दा त्यति सजिलो पार लाग्दैन ।’ उनले फर्निचर उद्योगका संचालक दीपुले आफ्नो गाडीमा सामान नपठाएर भाडाको गाडीमा पठाएकाले पनि समस्या भएको बताए ।
दुई साताअघि पक्राउ परेपनि यसलाई आन्तरिक हिसाबले मिलाउने भन्दै सार्वजनिक गरिएको थिएन । कांग्रेस नेता तथा मेयर केशव श्रेष्ठका छोरा दीपु श्रेष्ठलाई यो विषयमा जोगाउन पूर्वमन्त्री तथा कांग्रेस नेता सुरेन्द्र आचार्यसहितका नेताहरुले निकै कसरत गरेका छन् । पक्राउ परेका चालक मधु न्यौपाने यसको भरिया मात्रै भएको, भ्याट बिल र कागज भएकाले सामान लिएर हिंडेकाले उनी निर्दोष रहेको दावी उनी निकटकाले गर्दै घटनाको सबै छानविन गरी दोषी पत्ता लगाउन आग्रह गरेका छन् ।
‘आफैले गल्ती गरेको विषयलाई अनावश्यक रुपले दवाव सृजना गर्न खोजियो, हामीले कानुनले जे भन्छ त्यही गर्ने हो, अनुसन्धान प्रकृयामा अगाडि बढेको छ’ वनका एक कर्मचारीले भने ।
Photo : File