© २०२३
अप्रिल–मईको अवधि नेपालमा धेरै विदेशी पर्यटक भ्रमणमा आउने दोश्रो मुख्य समय हो । नेपालको हिमाली र पहाडी क्षेत्र घुमफिर गर्ने राम्रो समय भएकोले धेरै भारतीय र विदेशी पर्यटकहरू गर्मी छल्नको लागि यो समयमा नेपालका पहाडी क्षेत्रमा आउने गर्छन् । यो समयमा हिमाली क्षेत्रको पदयात्रामा जानेहरूको संख्या पनि ठूलै हुन्छ । तर यो वर्ष पर्यटनको यो मौसम शुरु हुनासाथ काठमाडौं उपत्यकाको वायु प्रदुषण विश्वमै एक नम्बरमा परेको खबरहरू निरन्तर आईरहेका छन् । बुद्ध जयन्ति नजिकिदै जाँदा लुम्बिनीमा बौद्ध तीर्थयात्रीको चहलपहल बढ्ने गर्छ, तर यहि समयमा खेतबारीमा गाउँको नल, छ्वालीमा आगो लगाउँदा लुम्बिनी क्षेत्र धँुवाले प्रदुषित भएको खबरले लुम्बिनी आउन चाहने विदेशीलाई भारतका बौद्धस्थानमा फर्कन बाध्य बनाएको छ । बैशाखको पहिलो सातादेखि शालिग्राम महोत्सव शुरु भएको छ । यसका लक्षित पर्यटक ÷ दर्शनार्थी भारतीयहरू नै हुन् । यहि समयमा गुल्मी, पाल्पाका वन र वस्तीहरू निरन्तर दन्किरहेका छन्, बुटवल, तानसेन जस्ता पर्यटक बस्ने शहरहरूमा धुँवाले ढाकेको छ.। यस्तो अवस्था थाहा पाएका पर्यटकहरू पहाडी क्षेत्रमा जादै जाँदैनन् र गईहाले पनि लामो समय नबसी फर्कने गरेका छन् ।
नेपाल प्राकृतिक सुन्दरता र साँस्कृतिक विविधताको लागि प्रसिद्ध छ र यहि हेर्न र अध्ययन गर्नको लागि बिदेशी पर्यटकहरू नेपालमा आउने गरेका छन् । तर पछिल्ला वर्षहरूमा यी सम्पदाहरू र पर्यटकीय स्थलसम्म पुग्ने बाटो वरपरको क्षेत्र प्रदुषणको चपेटामा परेकाले पर्यटकहरूले दिक्क मान थालेका छन् । नेपालमा धेरै पर्यटक आउने विन्दु त्रिभुवन विमानस्थल हो । यहाँबाट नेपाल टेक्ने वित्तिकै वायु प्रदुषण र फोहरमैलासंग पर्यटकको भेट हुने गरेको छ । काठमाण्डौ उपत्यका दुषित ग्याँसहरूको च्याम्बर बनिसकेको छ । हरेक वर्ष यहाँको वायु प्रदुषणले बारम्बार विस्वमै रेकर्ड कायम गरिरहेको छ । काठमाण्डौमा जताततै थुप्रिएका फोहरमैला, पुराना सवारी साधन र भट्टीहरूले निकालेको धुवाँ तथा सडक निर्माण लथालिंग हुँदा निरन्तर फैलिरहने धुलोको कारणले काठमाण्डौं उपत्यकाको वायु सधै स्वास फेर्नको लागि अयोग्य रहदै आएको छ । काठमान्डौका उपत्यका भित्रका नदीहरू दुर्गन्धित ढलको रूपमा परिणत भैरहेका छन् । यस्तो दुर्गन्धित वातावरणले गर्दा काठमाण्डौ ओर्लने पर्यटकको मनमा नेपालकै बारेमा नकारात्मक छाप पर्ने गरेको छ । यहि कारणले गर्दा धेरै दिन नेपालमा नबिताई फर्कने र नेपालकै बारेमा नकारात्मक कुरा गर्ने गरेका छन्, जसले गर्दा पर्यटन बजारमै नेपालको तस्विर धमिलो हुने गरेको छ ।
समस्या उपत्यकामा मात्र नभएर अन्य पर्यटकीय स्थलमा पनि देखिएको छ । स्थलमार्गबाट धेरै पर्यटक नेपाल पस्ने नाका बेलहिया हो । सुनौली कटेर नेपाल प्रवेश गर्ने बित्तिकै हिलो र धुलोले पर्यटकलाई स्वागत गरिरहेको हुन्छ । यहाँ सार्वजनिक सौचालय त छ तर त्यहाँ पुग्नको लागि हिलोको आहाल पार गर्नुपर्ने हुन्छ । भैरहवातर्फ आउँदैगर्दा प्रदुषित डण्डा नदीले स्वागत गरिरहेको हुन्छ । नेपालको प्रमुख गन्तब्य मध्येको एक लुम्बिनी पनि आन्तरिक र सीमापार प्रदुषणको चपेटामा परेको छ । लुम्बिनी पुग्ने सडक बनिसकेको भएपनि धुलाम्मे सडक, सडक छेउछाउका उद्योगहरूले फ्याँक्ने प्रदुषित वायुले गर्दा लुम्बिनी आउने पर्यटकलाई सताउने गर्छ । हिउँदेबाली काटिसकेपछी खेतमा आगो लगाउँदा निस्कने धुँवाले लुम्बिनीलाई धुमिल बनाईरहेको हुन्छ । लुम्बिनीको प्रदुषणको बारेमा पर्यटकहरूले बारम्बार आवाज उठाएपनि यसको समाधान हुन सकेको छैन । लुम्बिनी जस्तै पर्यटकीय नगरी पोखराको हालत पनि उस्तै छ । पोखराको आकर्षण फेवा ताल होटेलबाट निस्कने फोहर र पर्यटकहरूले फ्याँकेका फोहरमैलाले गर्दा प्रदुषित भएको छ र प्रदुषणको कारणले जलकुम्भी जस्ता झारपातहरू भरिएर ताल कुरूप बन्दै गएको छ । यसले पोखराको पर्यटन क्षेत्रमा गम्भीर असर पर्ने देखिन्छ ।
नेपालको मुख्य पर्यटकीय आकर्षण हिमाल हो । पर्यटन विभागका अनुसार नेपाल भ्रमणमा आउने कूल विदेशिहरूमध्ये १६ प्रतिशत हिमाली क्षेत्रको भ्रमण र आरोहणको लागि आउने गरेका छन् । हिमालको सौन्दर्यताले पर्यटकलाई मोहनी लगाउने गरेको छ । नेपालको प्रमुख पर्यटकीय गहना बनेको हिमाली क्षेत्रपनि पछिला वर्षहरूमा प्रदुषणको चपेटामा परेको छ । वायु प्रदुषणले बढिरहेको विश्वव्यापी उष्णिकरण समस्याले गर्दा हिमाली क्षेत्रको तापमान वृद्धि भएर हिउँ पग्लने क्रम बढेकोले हिमालहरू कुरूप देखिन थालेका छन् भने हिमाल पग्लने र हिम पहिरो जाने क्रममा तिब्रता आएकोले पर्यटकहरूलाई समस्या परिरहेको छ । वायु प्रदुषणको कारणले हवाई दृश्यावलोकन राम्रो नहुने समस्याले पर्यटकहरूलाई निरास बनाउने गरेको छ । हिमाली क्षेत्रमा पर्यटक र पर्वतारोहीहरूको कारणले पनि प्रदुषण बढिरहेको छ । पर्यटकहरू हिमाली क्षेत्रमा जाँदा लैजाने अक्सिजन सिलिन्डरहरू, पेय र खाद्य पदार्थका खाली बोतल र प्याकेताहरू लगायत अन्य सामाग्रीहरू हिमाली क्षेत्रमा जथाभावी फाल्ने गरेकोले सगरमाथा लगायतका चल्तीका पर्वतारोहण र पदयात्राका क्षेत्रहरूमा फोहरमैला बढिरहेको गुनासो बढिरहेका छन् । अब पनि यस्ता गतिविधिहरूलाई पूर्ण नियन्त्रण गरेर हिमाली क्षेत्रलाई फोहरमैला मुक्त राख्न सकिएन भने हिमाली पर्यटनमा गम्भीर धक्का पुग्नेछ ।
कुनै ठाउँको समाज कति सभ्य छ भन्ने कुराको परिचय त्यहाँको बाटोघाटो र राजमार्गले दिन्छन् । सफा, सुन्दर र हराभरा सडक किनाराले पर्यटकहरूलाई आकर्षित मात्र गर्दैन, घुम्न नहिँडेको मानिसलाई पनि घुमांै घुमौं भन्ने गराउँछ । त्यसैले पर्यटकीय मार्गको सौन्दर्यीकरणलाई पर्यटक आकर्षित गर्ने उपायको रूपमा लिने गरिन्छ । हाम्रै छिमेकी देश भारतका सिक्किम, शिमला, चंण्डीगढ़ लगायतका पर्यटकीय स्थानका सडकहरूलाई सफा राख्ने र आकर्षक विरुवाहरूले सजाउने गरेको देखिन्छ । हाम्रो देशमा अन्य ठाउँका सडकको त कुरै छोडौ, पर्यटकहरू आवागमन गर्ने र घुमफिर गर्ने ठाउँका सडकहरू पनि व्यवस्थित, सफा र सुन्दर बनाउन सकिएको छैन । वस्ती नजिकका सडकहरू अघोषित डम्पिंग साइट बनिरहेका छन् भने अन्य सडक, बाटो किनारा पनि यात्रीले फालेका पानीका बोतल र अन्य फोहरमैलाले कुरूप बनेको देखिन्छ । सडक किनारमा फोहर थुपारेर बाल्ने, सिनो फाल्ने जस्ता कार्य गर्दा सडकमा यात्रा गर्ने पर्यटक लगायत सर्व साधारणले नाक थुनेर यात्रा गर्नुपर्ने बाध्यता समेत देखिन्छ । यस्ता सडकमा यात्रा गरें बाध्य पर्यटकहरू गन्तव्यमा पुग्न , घुम्न र लामो समयसम्म बस्न कति इच्छुक रहलान् ? कम्तिमा पनि राजमार्गमा रहेका पुलको सौन्दर्यिकरण गर्ने, राजमार्ग छेउछाउ सफा राख्ने र साना पार्कहरू बनाउने, सडक किनारामा फुल र अन्य वनस्पतिहरू हुर्काउने गर्ने हो भने पर्यटकलाई आकर्षित गर्न र घुमाउन सजिलो हुन्छ । रूपन्देहीमा बुद्धचोक–राजमार्ग चौराहा सम्मको सडक स्थानीय पालिकाहरूको प्रयासले निकै सुन्दर बनेको छ । यो कामको सिको अन्यत्र पनि भए कति राम्रो हुने थियो ?
सडक निर्माणमा भैरहेको ढिलासुस्तीले यात्रा जोखिम मात्र बढाएको छैन, राजमार्गमा वायु प्रदुषण निकै बढाएको छ । विगतमा काठमाडौं, पोखरा र सौराहा आउने पर्यटकहरू स्थलमार्ग हुँदै बुटवल– लुम्बिनी आउथे । मुग्लिङ–पोखरा, बुटवल– नारायणगढ सडक निर्माणमा भैरहेको लापरवाहीले यो सडकहुदै रूपन्देहीमा पर्यटक आउनै नसक्ने भएको छ । राजमार्गको धुलोले गर्दा छेउछाउका पर्यटन व्यवसायीहरू विस्थापित भैरहेका छन् । यहि अवस्था बुटवल– तानसेन, रिडी– बलेटक्सार, नेपालगञ्ज–खजुरा सडकको पनि छ । सडकको धुलो, सडक किनाराको फोहरमैला मात्र हैन गर्मी मौसममा सडक किनाराको वनमा डढेलो लाग्दा सडकमा यात्रा गर्ने पर्यटकलाई सकस हुने गरेको छ । सडकको वायु प्रदुषण र यात्रा जोखिमको कुरा पर्यटकहरूले बारम्बार उठाईरहेपनि पर्यटक ओहोरदोहोर गर्ने सडकहरूलाई स्वच्छ र सुरक्षित बनाउने कुरामा सडक सरोकारवालाहरूको चासो पुग्न सकेको देखिदैन ।
विश्व पर्यटन बजारमा नेपालको मुख्य पहिचान यहाको प्राकृतिक वातावरण हो । यहाँका जल, भूगोल र जंगलमा रमाउन तथा संस्कार र सभ्यता बुझ्न पर्यटकहरू आउने गरेका छन् । पछिल्ला वर्षहरूमा पर्यटकीय क्षेत्र लगायत सबैतिर फोहरमैला, वायु तथा जल प्रदुषण बढेको छ र यो अवस्थाले विश्व पर्यटन बजारमा नेपालको नकारात्मक छबी बन्ने खतरा बढेको छ । नेपालमा दिगो पर्यटनको लागि प्रदुषण नियन्त्रण र सौन्दर्यिकरणका कामहरू तत्कालै गर्नु आवस्यक छ । कम्तिमा पनि पर्यटकहरू प्रवेश गर्ने, बस्ने र घुमफिर गर्ने ठाउँहरूलाइ स्वच्छ सफा र हराभरा राख्ने, सडक र पदमार्गहरूलाई व्यवस्थित गर्ने, तालतलैया तथा सडक किनारमा फूल र शोभाका विरुवाहरू हुर्काएर तथा अन्य कलात्मक संरचनाहरू निर्माण गरेर सौन्दर्यीकरण गर्ने जस्ता कामहरू स्थानीय वासिन्दालाई साथमा लिएर तीनै तहका सरकारहरूले गर्नुपर्छ । पदमार्गमा फोहरदानी राख्ने र पर्यटकहरूलाई त्यसैमा फोहर फाल्न लगाउने, हिमाल आरोहण गर्न जानेलाई अनिवार्य रूपमा आफ्ना सामाग्रीहरू फिर्ता ल्याउन लगाउने साथै पर्यटन व्यवसायीलाई उनीहरूले उत्पादन गरेको फोहर वातावरण मैत्री तरिकाले व्यवस्थापन गर्न लगाउनु पर्छ । वातावरणिय प्रभाव मूल्यांकन गरि पर्यटकीय क्षेत्र वरपर संचालनमा आएका उद्योगहरूलाई अन्यत्र सार्ने, पुराना गाडीहरूलाई हटाउने, सडक निर्माण गर्दा धुलो नियन्त्रण गर्ने प्रविधि अपनाउने र निर्माण कार्य छिटो पूरा गर्ने हो भने पर्यटकीय स्थललाई वायु प्रदुषण मुक्त राख्न सकिन्छ । यी कार्यहरूले पर्यटन बजारमा सकारात्मक प्रभाव त पर्नेछ नै नेपालीले समेत स्वच्छ वातावरणमा बस्ने अवसर प्राप्त गर्नेछन ।