© २०२३
बुटवल , ४ बैशाख। बुटवलमा केन्द्रीय कार्यालय रहेका राष्ट्रिय ‘क’ वर्गका चार वटा छापा माध्यम (पत्रिका) को प्रकाशन संस्थाका प्रमुख तथा प्रतिनिधिहरू बसेर संयुक्त निर्णय गरेका छन् । सोमबार बुटवलमा बसेको संयुक्त बैठकले विज्ञापन बजारलाई मर्यादित बनाउनको लागि ठोस पहल गर्ने समेत निर्णय गरेको छ ।
बुटवल बाट प्रकाशित हुने बुटवल पब्लिकेशन प्रालिबाट प्रकाशित बुटवल टुडे राष्ट्रिय दैनिकका प्रबन्ध सञ्चालक तथा प्रबन्ध सम्पादक नवराज कुँवर, बुटवल मिडिया प्रकाशन प्रालिद्वारा प्रकाशित दैनिक पत्र पत्रिकाका प्रधान सम्पादक डा. बालकृष्ण चापागाई, मेचिकाली सन्देश प्रकाशन प्रालिद्वारा प्रकाशित मेचिकाली सन्देश दैनिकका कार्यकारी प्रमुख विष्णु गैरे, सिद्धार्थ पब्लिकेशन प्रालिद्वारा प्रकाशित दैनिक लुम्बिनीका प्रबन्धक महेश रिजालको संयुक्त बैठकले विभिन्न निर्णय समेत गरेको छ ।
बैठकले विभिन्न तह र निकायमा सल्लाहकार रहेका पत्रकारहरूबाट प्रायोजित समाचार सम्प्रेषण भई पत्रकारिताको आचारसंहिता र व्यवसायिक हित विपरीत कार्य भएको पाईएकोले आ–आफ्नो मिडिया हाउसको मुख्य जिम्मेवारीमा नराख्ने निर्णय समेत गरेको छ । साथै प्रेस सल्लाहकार सल्लाहकारहरू मार्फत आएका समाचारहरूलाई निरुत्साहित गर्ने निर्णय समेत गरेको छ । विज्ञापन बजारलाई मर्यादित र सहज बनाउनको लागि कुनै पनि सरकारी निकायहरूको विज्ञापन प्रकाशित भए पश्चात भुक्तानी दिँदा उक्त सञ्चार संस्थाको कानून बमोजिम हुनुपर्ने विलको प्रतिलिपी अनिवार्य हेरेर मात्रै भुक्तानी गर्न आग्रह गर्ने निर्णय गरेको छ ।
कतिपय स्थानीय तहका टेण्डर विज्ञापनहरू नेपाल सरकारबाट बर्गिकरणमा नै नपरेका पत्रपत्रिकाहरूमा प्रकाशित गर्दा टेण्डरहरू नै रद्द भएका घटनाहरू देखिएकोले सरकारी कार्यालय, प्रदेश सरकार र स्थानीय तहलाई विज्ञापन प्रकाशित गर्दा प्रेस काउन्सिल नेपालबाट राष्ट्रिय रूपमा बर्गिकरणमा परेका पत्रपत्रिकाहरूमा मात्र विज्ञापन प्रकाशन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
त्यस्तै छापा माध्यममा प्रायोजित समाचारलाई प्रकाशन नगर्ने, विज्ञापन क्षेत्रमा भए गरेका विकृति विसंगती अन्त्यका लागि सबै निकायसँग समन्वय र सहकार्य गर्ने निर्णय गरिएको जनाइएको छ ।