© २०२३
काठमाडौं ।
ओमानमा सुरु भएको एसीसी प्रिमियर लिगमा नेपालले विजयी सुरुवात गरेको छ । रोमाञ्चक म्याचमा नेपालले मलेसियालाई ५ विकेटले हरायो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गरेका थिए । ब्याटिङमा संघर्ष गरेको नेपाललाई गुल्शन झाले साहसिक फिनिसिङ गर्दै जितसम्म पुर्याए ।
मलेसियाले दिएको १४४ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा ४ बल खेल्न बाँकी छदा पूरा गर्यो।
नेपालका ओपनरद्वय कुशल भुर्तेलले २४ रन र आसिफ शेखले ३२ रन बनाए। कप्तान रोहितकुमार पौडेलले २८ रन जोड्दा कुशल मल्ल ७ रनमा आउट भए।
दीपेन्द्रसिंह ऐरीले २० रनको योगदान गरे। गुल्सन झाले नटआउट १९ रन र सन्दीप जोराले नटआउट १२ रन जोड्दा नेपालले जित निकालेको हो।
बलिङमा मलेसियाका वीरन्ददीप सिंहले ३ विकेट लिए।
त्यसअघि ओमानको अल अमरेतमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ३ विकेटको क्षतिमा १४३ रन जोड्यो।
मलेसियाका लागि कप्तान तथा ओपनिङ ब्याटर वीरन्दीप सिंहले अर्धशतक प्रहार गरे। उनले नटआउट ७२ रन जोड्ने क्रममा ५७ बलमा ४ चौका र ४ छक्का प्रहार गरे।
अर्का ओपनर अमिर अजिमलाई दीपेन्द्रसिंह ऐरीले १६ रनमा आउट गर्दा अभिनास बोहराले शर्भिन मुयान्डीलाई ४१ रनमा बोल्ड गरे। दीपेन्द्रले सयद अजिजलाई पनि ६ रनमा आउट गरे।
दीपेन्द्रले ४ ओभरमा १४ रन खर्चिदा २ विकेट लिए।
प्रतियोगितको नेपाल साविक विजेता हो। प्रतियोगितामा १० टिम सहभागी छन्।
समूह ‘ए’ मा रहेको नेपालसँगै समूहमा मलेसिया, कतार, हङकङ र साउदी अरेबिया छन्।
कपको आयोजक ओमान समूह ‘बी’ मा छ। समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन्।
नेपालले दोस्रो खेल कतारसँग वैशाख १ गते, तेस्रो खेल हङकङसँग वैशाख ३ गते र चौथो खेल साउदी अरेबियासँग वैशाख ५ गते खेल्नेछ।
समूहमा शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल वैशाख ७ गते र फाइनल वैशाख ९ गते हुनेछ।
यो प्रतियोगिता जित्ने टिम सन् २०२५ को एसिया कपमा पुग्नेछ। सन् २०२५ को एसिया कप टी-२० फर्म्याटमा हुनेछ। शीर्ष तीन टिमले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछन्।
प्रतियोगितालाई आइसिसी टी-२० विश्वकपको तयारीको रूपमा लिइएको छ। गत वर्ष नेपालमा भएको प्रतियोगिता जितेको नेपालका लागि उपाधि रक्षा गर्ने चुनौती पनि छ।