© २०२३
पाल्पा, २६ चैत ।
तानसेन नगरका दमकडाका टोप बहादुर बस्याललाई सानो अलौचीको बिरुवा रोपेर यतिका फल देला भन्ने कल्पना नै थिएन । २०६८ सालमा आफ्नै घरमा डेरा गरी बसेका खोटाङका कृषि विषय अध्ययन गर्ने विद्यार्थीले ल्याइदिएको अलैचीको सानो बिरुवाबाट आज उनकै घर अगाडि अलैचीको वगानै भएको छ ।
अलैचीबाट राम्रो आम्दानी हुन लागेपछि उनी यतिखेर निकै खुसी छन् । सानो कच्ची इट्टाले बनाएको र जस्ता पाताले छाएको घर र घर नजिकै खहरे खोलोको किनारामा रातो माटोमा लगाइएको एउटा विरुवाबाट अहिले झांगिएर १ सय ५० वटा विरुवा भएको छ ।
फुर्सदको समयलाई अलौचीको वगानमा बिताउने टोपराज बस्यालकी श्रीमती कल्पना भन्छिन्, “भौगोलिक भुबनोटका हिसावले समथर भूभागमा भएको वगानका विषयमा अध्ययन तथा अवलोकन गर्न आउनेहरुको संख्या पनि बढ्दै गएको छ ।” प्राविधिक ज्ञान र सिप विना प्रयोगात्मक अध्ययन गर्दै गरिएको खेती नै आफ्नो लागि नगदे वाली भएको बस्याल दम्पत्ती बताउँछन् ।
रातो माटोमा प्रयाप्त सिचाई सुविधामा हुर्किएको गाँजमा लाग्ने गरेको दाना उनका लागि कहाँ कसरी बिक्री गर्ने भन्ने ज्ञान पनि थिएन । लगाइएको १ वर्षमा विरुवा बोट भयो । त्यसैबाट आज यो अवस्थामा आयो ।
मदनपोखरा पोलिटेक्निकल कलेजमा अध्यन गरेका खोटाङका विद्यार्थी गणेश राईले आफ्नो घरबाट ल्याएको बिरुवा ५ दिनपछि लगाउँदा पनि यो विरुवाले यति धेरै होला र यति धेरै आम्दानी आउला भन्ने त कल्पना पनि थिएन । यसरी व्यावसायिक रुपमा अलैची खेती गर्नेहरु पछिल्लो समयमा उनी मात्र कृषक हुन् । “जव फैलिन लाग्यो हामीले त्यसलाई माटोले माथिबाट पुरिदियौं । कसरी अलैचीको खेती गर्ने भन्ने थाहा नै थिएन । यसरी माटोले माथिबाट पुरीदिंदा दाना धेरै लाग्दो रहेछ । यो सबै काम गर्दै जादा अनुभवहरु बढदै पनि गयो । माटोले यसरी पुरीदिदा दाना मात्र होइन बिरुवा समेत पनि उम्रिदै गएको छ”–कल्पना भन्छिन् ।
मसला बाली कुनै समय माथागढी गाउँपालिकाको ओलेशमा व्यावसायिक खेती गरिएको भएपनि आजभोलि कथा जस्तै भएको स्थानीयहरु बताउँछन् । पछिल्लो समयमा भैरवस्थानका कृषकहरुले यो खेतीको थालनी गरे पनि संरक्षण र व्यवस्थापन हुन नसक्दा नाम मात्रको खेती भएको स्थानीय भवानी पोखरेल बताउँछन् । भौगोलिक भूबनोटका हिसावले अलैची खेतीका लागि राम्रो भनिए पनि यसको खेतीको थालनी नभएको कृषि ज्ञान केन्द्रका प्राविधिकहरु बताउँछन् । कुनै समयमा भैरवस्थानमा यसको खेती गरिएको र पछि सेतो गवारोले यसलाई नष्ट गरेको थियो । सामान्य औषधि तथा विषादीको प्रयोगले पछि रोकथाम त भयो तर कृषकहरुले राम्रोसंग ख्याल नगर्दा मुसाको लागि आहारा मात्र भएको स्थानीय तेज बहादुर पोखरेल बताउँछन् ।
कृषकहरुको लागि आम्दानीको वलियो ढोका खुल्ने यो खेतीका विषयमा जिल्लाका कृषकहरु अनभिज्ञ नै भएको कारण यसको खेती बिस्तार हुन नसकेको कृषकहरु बताउँछन् । उत्पादित बस्तु कहाँ, कतिमा बिक्री हुन्छ भन्ने ज्ञान नभएका कारण यसको खेतिको संभावना भएको ठाउँमा पनि खेती नभएको स्थानीय तहका प्राविधिकहरु बताउँछन् । अलैची एक मसलाजन्य बस्तु हो यसमा रोग तथा किरा लागेको खण्डमा कसरी रोग पहिचान गर्ने र विरुवा जोगाउने भन्ने विषयमा क्षमता भएका प्राविधिक नै नभएको यस खेतीको विस्तार हुन नसकेको कृषि ज्ञान केन्द्रका प्राविधिकहरु बताउँछन् ।
उच्च पहाडी क्षेत्र त्यसमाथि उत्तर फर्किएको जमिन र चिस्यान भएको जमिनलाई अलैचीको लागि उत्तम ठानिने प्राविधिकहरु बताउँछन् ।
प्राविधिक हिसावले उत्तम मानिने जमिन बाहेक फरक ठाउँ, फरक भुगोलमा व्यावसायिक खेति गरेका बस्याल दम्पत्तीले यस वर्ष प्रति केजी १ हजार २ सय रुपैयाँका दरले बिक्री गरेर नगद हात परेपछि आफुलाई थप उर्जा मिलेको टोपराज बताउँछन् । हाम्रो भुगोलमा पनि यसको राम्रो खेति हुँदो रहेछ एकबाट तथा गांज बाट १ केजी सम्म फल्दो रहेछ । यसको खेति र उत्पादित बस्तुको बजारीकरणको लागि समस्या नै हुँदो रहेनछ । वाली उत्पादित बस्तु धेरै भए व्यापारीहरु घरघरै आउँदा रहेछन् । अन्य वाली भन्दा अलैची खेती सजिलो भएको बस्याल बताउँछन् ।
प्राविधिकहरुले पहाडी तथा चिस्यान प्रकृतिको जमिनमा यसको खेती हुन्छ भने पनि, फरक भुवनोटमा पनि यसको खेती गर्न सकिन्छ भन्ने उनीले आफुलाई उदाहरणीय रुपमा प्रस्तुत गरेका छन् । यसवर्ष ५० केजी बिक्री गरेको र आउँदो वर्ष १० केजी बिक्री गर्ने लक्ष्य राखेको उनी बताउँछन् । खाली र चिस्यान भएको ठाउँमा खेती गरिएमा यसले उत्पादनमा सफलता दिंदो रहेछ । यसलाई मुख्य नगदे वालीका रुपमा अपनाउन सकिने उनीहरु बताउँछन् ।