© २०२३
बुटवल, ११ चैत ।
होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीले आईतबार ब्यवसायिक एकताको संदेश सहित होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । संघको परिसरमा गरिएको होलीमिलन कार्यक्रममा सम्पूर्ण पदाधिकारी, सदस्यहरु एकअर्काको हात समाई ब्यवसायिक हकहितमा सधै एकजुट भएर अघि बढ्ने प्रतिवद्धता गरे । नेपाल होटल ब्यवसायी संघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्दै ब्यवसायको खस्कदो अवस्थामा सरकारबाट सहयोग पाउन नसकेको गुनासो गरे ।
संघका अध्यक्ष लेखनाथ भण्डारीले नियमित वार्षिक कार्यसंगै ब्यवसायमा आएको प्रतिकुल समयका बेला संस्थागत हकहितका लागि लागेको बताए । देशमा कोभिड १९ को असर, विश्वब्यापी आथिृक मन्दी, प्रदेश राजधानी स्थानान्तरण, दिनानुदिन बैकको ब्याजदर बृद्धि, चर्को घरभाडा, चौराहा गोलपार्कको बाटो निमार्णमा ढिलाई, छाडा चौपाया, गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थल संचालन लगायतको ब्यवस्थापनको लागि सरकारलाई दबाब दिने उदेश्यका साथ चैत १७ गते बुटवलमा रयाली गर्न लागेको उनले बताए ।
कार्यक्रममा संघका लुम्बिनी प्रदेश पर्यटन उपाध्यक्ष समुन्द्र जिसि, संघका केन्द्रीय सल्लाहकार देविप्रसाद श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष माधव खनाल, महासचिव अर्जुन थापा, महिला समितिका संयोजक गमला नेपालले रंगहरुको पर्व होलीको महत्वबारे प्रकाश पार्दै भाईचारा विकास गर्न सबैलाई बुझाउन जरुरी रहेको बताए ।
होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघको अगुवाईमा हुने वृहत विरोध कार्यक्रमको तयारी भैरहेको भन्दै संयोजक अर्जुन पोखरेलले आम नागरिक, उद्योगी, ब्यवसायीलाई आआफनो ब्यानरसहित बिरोध सभामा सहभागी हुन आग्रह गरे ।
एक आपसमा भाईचारा विकास हुने रंगको पर्व होली जस्तै धेरै परम्परा र संस्कृतिलाई बचाउन ब्यवसायीहरु बिचमा होलिमिलन कार्यक्रम गरिदै आएको कार्यसमिति सदस्य तथा कार्यक्रम संयोजक जगन्नाथ कडेलले बताए ।