© २०२३
बुटवल, ८ चैत ।
‘समृद्धिका लागि विश्व शान्ति’ भन्ने नाराका साथ लुम्बिनी सम्मेलन (कन्क्लेभ) बिहीबारदेखि सुरु भएको छ । परराष्ट्र मन्त्रालय र अन्तर कन्सुलर कर्पस नेपालको संयुक्त आयोजनामा लुम्बिनीमा शान्ति र समृद्विलाई केन्द्रमा राखेर सम्मेलन सुरू भएको हो । सम्मेलनको विहीबार उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उदघाटन गरेका छन् ।
उदघाटन समारोहमा बोल्दै परराष्ट्रमन्त्री श्रेष्ठले लुम्बिनी बुद्व जन्मस्थल मात्रै नभई बौद्ध दर्शनको उदगम भूमि रहेको बताए । उनले बुद्वका शिक्षाले विश्वमा शान्ति स्थापनामा महत्वपूर्ण सहयोग पुगेको बताए । मन्त्री श्रेष्ठले लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभएर बुद्ध धर्मको मुहान रहेको समेत बताए ।
उनले नेपाल जटिल भूराजनीतिक चुनौतीहरूको बिचमा रहेको बताउँदै विश्वमा देखिएको द्वन्द्वलाई धु्रवीकृत गर्दै शान्तिमा रूपान्तरण गर्नुपर्ने बताए । उनले विश्वमा देखा परेको द्वन्द्वले विश्वव्यापी आर्थिक संकट र असमानतालाई बढाइरहेको समेत बताए ।
मन्त्री श्रेष्ठले शान्ति र समृद्धिको एजेण्डामा सम्मेलन गर्ने सबैभन्दा उत्तम ठाउँ लुम्बिनी रहेको बताए । ’शान्ति र समृद्विका लागि लुम्बिनीको विकल्प अरु हुन सक्दैन’ परराष्ट्रमन्त्री श्रेष्ठले भने । लुम्बिनीबाट शान्तिको उदगम थलोसंगै मानवता, सुख, कल्याण र मुक्तिको खोजीमा आफ्नो जीवन समर्पण गर्ने बुद्व जन्माएको पवित्र स्थल रहेको बताए । उनले चार महिनाअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले लुम्बिनी भ्रमण गरेको स्मरण गर्दै भगवान बुद्धका शिक्षाहरू प्रतिबिम्बित गर्ने ठाउँका रूपमा व्याख्या गरे । कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे), पूर्वमन्त्री देवेन्द्र पौडेल लगायतको उपस्थिति रहेको थियो ।
सम्मेलन शुभारम्भमा लुम्बिनी म्यूजियम ईनेसियिटिभका संस्थापक तथा कार्यकारी निर्देशक सुम्मिना उदासले बुद्व जन्मस्थल लुम्बिनी विश्वका शान्ति मार्गीहरूको आस्थाको केन्द्र भएको बताइन् ।
सम्मेलनमा बुद्धिजम आर्ट ईन नेपलिज आर्टका प्रोफेर डा. नरेश शाक्य, पदम ज्योतीलगायतले बोल्दै लुम्बिनीमा गैरआवासीय राजदुहरूलाई स्वागत गरेका थिए ।
सम्मेलनमा विभिन्न देशका गैरआवासीय राजदूतहरु एकै पटक लुम्बिनीमा आएर बुद्ध, शान्ति र समृद्धिका बिषयमा छलफलमा सहभागी भएका छन् ।
सम्मेलन अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मंगोलिया, इन्डोनेसिया, सेय्चेल्लेस, तान्जानिया, सर्बिया, स्लोभेनिया, साइप्रस, आयरल्यान्ड, स्पेन, लातिभिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन रिपब्लिक रोमानियाका गैरआवासीय राजदूतहरू सहभागी छन् । बिहीबार दिउँसो बुद्ध एयरको जहाजमा भैरहवा आउनुभएका राजदूतहरूले बुटवल स्थित लुम्बिनी केवल कारको भ्रमण गरेका थिए ।