© २०२३
सल्यान, २७ फागुन ।
सल्यानको कालिमाटी गाउँपालिकामा यही फागुन २८ र २९ गते कोभिड–१९ विरुद्ध अतिरिक्त खोप दिइने भएको छ । १२ बर्ष माथिका करिव एक हजार ५०० जनालाई बुस्टर डोज लगाउने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ । यस सन्दर्भमा शनिबार गाउँपालिकास्तरीय खोप समन्वय समिति, स्वास्थ्यकर्मी, खोप कार्यकर्ता लगायत सरोकारवालाहरुका लागि अभिमुखीकरण पनि सम्पन्न भएको कालिमाटी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गोरख थापाले जानकारी दिए ।
बुस्टर डोजले भविष्यमा आउन सक्ने सम्भावित लहरको क्षतिलाई न्यून गर्ने भएकाले कालिमाटीमा कोभिड विरुद्ध फाइजर खोपको अतिरिक्त मात्रा दिन थालिएको हो । कालिमाटी गाउँपालिकाका अध्यक्ष दान बहादुर केसीले आफ्ना नागरिकको स्वास्थ्यप्रति संवेदनशील रहेको भन्दै कोभिड विरुद्धको बुस्टर डोजले आगामी दिनमा हुन सक्ने जोखिमलाई हटाउने बिश्वास व्यक्त गरे ।
सल्यानमा यस चरणमा ३ स्थानीय तहमा बुस्टर डोज दिन लागिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । कालिमाटी गाउँपालिकाको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. अभिषेक सिंहले कालिमाटी गाउँपालिका, सिद्धकुमाख गाउँपालिका र शारदा नगरपालिकामा यस चरणमा बुस्टर डोज लगाउन थालिएको जानकारी गराएका थिए ।
आफ्नो पालिकामा बुस्टर डोज अभियानलाई प्रभावकारी रुपमा संचालन गरिने कालिमाटी गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक रविलाल बस्नेतले जनाएका छन् ।