© २०२३
आजभोली कतिपय मानिसहरू आफूदेखि बाहेक अरूलाई देख्ने र चिन्नेसम्म गर्दैनन् । आफू सर्बज्ञाता, सर्वमान्य, सर्वस्वीकार्य, सर्वश्रेष्ठ, आफ्ना पितामाता या गुरु भन्दा पनि उच्चस्तरको ठान्ने खालका पाइन्छन् । यो देख्दा आश्चर्य लाग्छ । वास्तवमा आफूलाई हेर्नु र बुझ्नु भन्दा पहिले आफ्ना पूर्वजहरू कहाँ थिए ? कस्ता थिए ? परिवारका लागि, समाजका लागि र राज्यका लागि उनीहरूले के र कस्तो योगदान दिएका थिए ? यसका वारेमा सामान्यतया विचार गर्नुपर्दछ । सोधखोज गर्नुपर्दछ । आफ्ना पूर्वजहरूबाट परिवार, समाज र राज्यप्रति खासै योगदान रहेको रहेनछ भने यसलाई आफूले अगाडि बढाउने प्रण गर्नुपर्दछ । यदि उहाँहरूको लगानी हरक्षेत्रमा रहेछ भने त्यसलाई निरन्तरता कसरी दिन सकिन्छ भन्ने सोंचका साथ आफ्नो विचार बनाउनुपर्दछ । परिवारप्रतिको लगानीले समाजमा राम्रो प्रभाव पार्दछ । समाजको लगानीले राज्यका लागि केही योगदान पुग्न सक्छ । यसकारण पनि आफ्ना पूर्वजको वारेमा सामान्यतया जानकारी राख्न सके अति वेशहुन्छ भन्ने लाग्दछ ।
यो दृुनियाँमा आफ्ना पूर्वजलाई सम्झना नगर्नेहरूको संख्या कति होला ? यो अनुमान गर्ने कुरा भयो । यस्ता कुराको यकीन तथ्यांक हुँदैन । तर पनि हाम्रो परिवार, तथा समाजबाट सम्मान नपाउनेहरूको संख्या भने अत्यधिक रहेको अनुमान गर्न सकिन्छ । हरेक परिवारमा रहनुभएका अग्रज वा ज्येष्ठ नागरिकहरूलाई सोध्नुभयो भने उहाँहरू मध्ये धेरैबाट आफ्ना सन्ततिहरूबाट अपहेलित भएको सुन्न पाइन्छ । जसले आफूलाई जन्मदिने बाबु आमा वा स्याहार गर्ने अन्य परिवारजनलाई सम्मान दिन सक्दैनन् भने उनीहरूबाट अझ दिवंगतहरूलाई सम्मान तथा सम्झना गर्दछन् भन्न सकिने कुरा हुँदै भएन ।
केही समय पहिले सुनेको एउटा घटनालाई स्मरण गर्दा आज पनि आश्चर्य लागेर आउँछ । यो घटनामा कति सत्यता छ सुनाउनेहरू जानकार होलना मैले सुनेको घटना यस्तो थियो –आफूलाई सम्भ्रान्त परिवार भन्न रुचाउने एक दम्पतिले एकदिन आफ्नी वृद्ध आमालाई काठमाडौबाट पुरानो निवासमा पुगेर केही समय विताउने भनेर कारमा लिएर आएछन् । उनीहरू ती वृद्धआमाका छोरा बुहारी थिए । उनीहरू आधाबाटोमा आउँदै गर्दा बाटोको किनारमा कुनै होटलमा चिया नास्ताका लागि बिसाउन पुगेछन् । त्यहाँ बसेर खाजा खाएछन् अनि केही निहूँ बनाएर श्रीमान श्रीमती आमालाई त्यही होटलमा छोडेर बाहिरिएछन् । झण्डै दुईघण्टा वितेपछि आमा होटलमा छटपटाउन लाग्नु भएछ । होटल मालिकलाई उहाँले आफ्ना छोरा बुहारीका वारेमा सोध्नु भएछ । ती छोरा बुहारी चढेर गएको गाडीको नम्वर होटल मालिकले याद गरेका रहेछन् । आमाले यतिकुरा गरेपछि होटल मालिकले आमालाई छोरा बुहारी गाडीबाट बाहिरिएको कुरा सुनाए । यो सुनेर आमा अत्तालिनु भयो । होटलवालाले कुरा केही गडबड भएको ठानेर तत्काल प्रहरीलाई गाडीको नम्वर सहित घटना विवरण सुनाएछन् । तत्काल प्रहरीबाट चारैतिर खवर भएछ । उनीहरू झण्डै पचास किलोमिटर बाटो फिर्ता भइसकेका रहेछन् । प्रहरीले गाडी रोकेर केरकार गर्दा उनीहरू नाजवाफ भएछन् । प्रहरीले तत्काल गाडी फिर्ता गरेर आमालाई लिएर आउन निर्देशन दिएछन् । यो घटना यत्तिमामात्र विसाउँ ।
यो घटनाको वारेमा भिन्दै विश्लेषण गर्नुपर्छ जस्तो लाग्दैन । उनीहरू फिर्ता आएर आमालाई लिएर गएहोलान वा अर्को कुनै मार्ग अपनाएर काठमाडौ पुगे होलान ? काठमाडौमै लिएर गएको भए आमाको मनले के कल्पना गरेहोला ? त्यसपछिको व्यवहार के कस्ता भए होलान ? होटलवालाले गाडीको नम्वर याद नगरेको भए ती आमालाई कसको जिम्मा लगाईने थियो होला ? आमालाई होटलमा छोडेर छोरा बुहारी फिर्ता जानुको रहस्य के हुन सक्छ ? यी कुराहरू सबै अनुमान गर्ने कुरा भए । हाम्रो गाउँ समाजमा यस्ता घटना अन्य स्थानमा भएका हुन सक्छन् । कति घटना बाहिर आउँछन् कति आँशु बगाएर सहेर बसेका हुन सक्छन् । आफूलाई सभ्य भन्नेहरू कतिपयले आफ्ना वृद्ध बाबु आमालाई वृद्धाश्रममा राखेका खवर समेत सुन्न पाइन्छ । माता पितालाई साक्षात देवता भन्ने गरिन्छ । साक्षात देवता होलान नहोला । जे भए पनि आफू सानो छँदा हुर्काउने, बढाउने, पढाउने लेखाउने, संसार चिनाउने उनीहरू नै हुन् । जसले आफूलाई कर्तव्यमा लाग्न सिकायो आफू कर्तव्यच्यूत भएर उनीहरूलाई दिसा पुछेर फालको काठ जस्तो ठान्नेहरूलाई के उपनाम दिने होला ? यो नभोगेकाहरूलाई अनौठो लाग्न सक्छ । तर यो तीतो यथार्थ हो ।
वास्तवमा यस्तो किन हुन्छ भनेर खोजीगर्ने हो भने धेरै तर्कहरू आउन सक्छन् होला । तर यसको अर्थ छोंटो र सारमा भन्ने हो भने कर्तव्य नजानेको वा नबुझेको कारणले गर्दा यसो भएको हो भन्न सकिन्छ । यस्तो व्यवहार गर्नेहरूले कहिल्यै कर्तव्य बुझ्न सक्दैनन् । जसले आफूलाई आफ्ना मता पिता वा गुरुहरू भन्दा पनि उच्च स्तरको ठान्ने गर्दछन उनीहरूबाट के अपेक्षागर्न सकिएला ? जानकार सन्तान भए आफ्ना पूर्वजहरूको वारेमा जानकारी लिने । उनीहरूको मान तथा सम्मान कसरी गर्न सकिन्छ भन्ने वारेमा विचार गर्नुपर्ने हो तर यसको विपरित मार्ग अपनाउनु र आफूले गरेका कार्यप्रति पश्चाताप पनि नगर्नुलाई सन्ततिको मर्यादा कायम गरेको हुँदैन ।
आफ्नो वंशजको जानकारी दीर्घकालसम्म बचाइराख्नका लागि परापूर्वकालदेखि वंशावली तयार गर्ने गर्दै आएको पाइन्छ । यो अति उत्तम कार्य हो । आफ्ना पूर्वज कहाँ थिए ? के कस्तो भूमिका निर्वाह गर्दै हालको भूमिसम्म आएका हुन्, विगत देखि हालसम्म के कतिले विशिष्ठ कार्य गर्न सके ? उनीहरूको समाजप्रतिको योगदानको प्रभाव के कस्तो रहन गयो ? हो यस्ता कुराले निकै महत्व राख्दछ । केही व्यक्तिहरू शिक्षामा विशेष योगदान दिएका, आफ्नै लगानीमा विद्यालय स्थापना गरेका र सर्बसाधारणले समेत अध्ययन गर्ने अवसर पाएका कुराहरू यदाकदा सुन्न पाइन्छ । यस्तो कार्य गर्नेहरूको नाम सुन्दा गौरव लाग्दछ । पहिलेको समयमा पनि कतिजनाले पाटी पौवा वा मठ मन्दिर निर्माण गरेका कुरा समेत सुन्न पाइन्छ । कतिले आफ्नै लगानीमा अस्पाताल समेत निर्माण गरिदिएका छन् । कतिले मुलुकको खराव व्यवस्था फ्याक्नका लागि आफ्नो जीवन वलिदान दिएका छन् । कतिले मुलुकलाई विश्वसामु चिनाउन र आफ्नो विशुद्ध विबेक प्रयोग गरेर मुलुकमा हित हुने कार्ययोजना तयार गरेका कुरा सुन्न पाइन्छ । राष्ट्रप्रति विशिष्ठ योगदान दिनेहरूलाई विभूति भनिन्छ । हो कतिपय परिवारमा यस्ता विभूति रहेका छन् । कति सहिद परिवार रहेका छन् । विभूति परिवारले आफ्ना पूर्वको वारेमा थाहा नपाउने, समाजमा उच्च योगदान दिएका परिवारले परिवार भित्रको अग्रजको वारेमा थाहा नपाउने अवस्था आउनु भनेको त्यो भन्दा विडम्वना अरू केही हुँदैन । तर केही हरिलठ्ठकहरूले त्यही कार्य गरिरहेका छन् ।
आफूलाई जन्म दिने माता पिताप्रति सद्भाव व्यक्त गर्न नसक्ने । पूर्वजको वारेमा सोध खोज गर्न नसक्ने र सम्मान दिन नसक्नेहरू पनि हाम्रो समाजमा रहेका छन् । सामान्य किटको जीवन र उनीहरूको जीवनमा केही फरक छैन भन्न सकिन्छ । एउटा किटले आफ्ना पूर्वजको वारेमा न सोध्छ न खोज्छ न मान दिन्छ न सम्मान दिन्छ । यसकारण हामीले भेटेजतिका सबै मानिसहरू मानव जीवनका नभएर मानव स्वरूपका मात्र रहेका छन् । जसले जहाँ जे जस्तो सत्कर्म गर्नुपर्ने हो त्यही कुरा जान्दैन भने उसको जीवन भनेको केवल खानाका लागि मात्र हो । यस्तो कुरा आफ्ना पूर्वजलाई संरक्षण र सम्मान गर्नेहरू भन्ने गर्दछन् ।