© २०२३
रोल्पा, १० फागुन । रोल्पाको तीन पालिकाले संयुक्त रूपमा फार्मेसी संचालन गर्ने भएका छन । रोल्पाको पूर्वी भेगमा रहेका सुनिलस्मृती गाउँपालिका, लुंग्री गाउँपालिका र सुनछहरी गाउँपालिकाको संयुक्त बैठकले फार्मेसी संचालन गर्ने निर्णय गरेको हो । सुनिलस्मृती गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उक्त फार्मेसी संचालन गरिने भएको छ । फार्मेसी संचालनको लागी हाल तीन वटा पालिकाले १०/१० लाख रूपैयाँको साझेदारी गर्ने निर्णय भएको सुनिलस्मृती गाउँपालिका अध्यक्ष मणिराम वुढाथोकीले जानकारी दिए ।
प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा हाल रोल्पाका सुनिलस्मृती गाउँपालिका सुनछहरी गाउँपालिका, लुङ्ग्री गाउँपालिका, थवाङ गाउँपालिका र रोल्पा नगरपालिकाका साथै प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिकाका केही वडाबाट समेत नागरिकहरू सेवा लिन आउने गरेका छन । पूर्वी रोल्पाको व्यापारिक केन्द्रको रूपमा रहेको सुलिचौरमा नागरिकहरूको सहजताका लागि तीन वटा गाउँपालिकाको साझेदारीमा उक्त फार्मेसी संचालन गर्न लागिएको हो । सर्वसाधारण जनतालाई कम शुल्कमै औषधी उपलव्ध गराउने उद्देश्यले फार्मेसीको संचालन गर्न लागेका हौं सुनिलस्मृती गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीले भने ।
हाल तीस लाख रूपैयाँको शेयर रहने उक्त फार्मेसी संचालनका लागि कार्यविधि तयारी समिति समेत गठन गरिएको छ । समितिमा सुनिलस्मृती गाउँपालिका अध्यक्ष संयोजक तथा लुंग्री गाउँपालिका र सुनछहरी गाउँपालिका अध्यक्षहरू सदस्य रहेका छन । ११ सदस्यीय उक्त समितिको अन्य सदस्यहरूमा तीन वटै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर व्यवस्थापक समितिका अध्यक्ष, प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरका प्रमुख, लुंग्री र सुनछहरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुखहरू रहेका छन । समितिको सदस्य सचिवमा सुनिलस्मृती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रहेका छन् ।
त्रिपालिका स्तरीय उक्त बैठकमा यस वर्ष सञ्चालित जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समीक्षा समेत गरिएको थियो । यस वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा अन्य पालिकाको तुलनामा भन्दा तीन वटा पालिकाको नतिजा कमजोर आएको थियो । आगामी दिनमा खेल क्षेत्रलाई कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा समेत गहन छलफल भएको लुङ्ग्री गाउँपालिका अध्यक्ष भरत कुमार थापाले जानकारी दिए ।
बैठकले जिल्लाको साझा सवालको विषयमा जिल्लाका सबै स्थानीय तह तथा प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितिमा समन्वयात्मक वैठक गर्न आवश्यक रहेको निश्कर्ष निकालेको छ । जिल्ला स्तरीय उक्त समन्वयात्मक बैठकको आयोजनाका लागि समन्वय गरिदिन जिल्ला समन्वय समिति रोल्पालाई अनुरोध गर्ने निर्णय गरेको बताइएको छ ।
सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकी, सुनछहरी गाउँपालिकाका अध्यक्ष धन बहादुर पुनमगर लुङ्ग्री गाउँपालिकाका अध्यक्ष भरतकुमार थापाको उपस्थिति रहेको थियो । बैठकमा सुनिलस्मृति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराई स्वास्थ्य शाखा प्रमुख मोतिम आलम, प्रशासकीय अधिकृत रनबीर बुढा, सहायक कम्प्युटर अपरेटर दुर्याेधन महराको सहभागीतामा उक्त निर्णय गरिएको सुनिलस्मृति गाउँपालिकाको सचिवालयले जानकारी दिएको छ ।