© २०२३
हामी धरहरा तथा सगरमाथाको उचाइ बताउन सक्छौं । हावा र पानीको गति मात्र नभै समुन्द्रको गहिराई नाप्ने यन्त्र पनि विज्ञानले बनायो । विश्वका धनाढ्य मानिसहरूको धन सम्पति यकिन गरिएका समाचारहरू पनि आउँछन तर केही त्यस्ता सम्पत्ति हुन्छन जसको मौद्रिक मुल्य कति त भन्ने प्रश्नमा पूरै दुनियाँ अनुत्तरित छ । जसरी भनिन्छ नि सुन्दरताको कुनै उच्चतम बिन्दु हुंदैन । त्यस्तै मानव जीवनका केही त्यस्ता सम्पत्ति हुन्छन जुन अमूल्य छन या भनौ जसलाई मुद्रामा मापन गर्न सकिंदैन । सोचौं त यो हावा, यो पानी, घाम, माटो, बनस्पति, जीव, वायुमन्डल धर्ति र आकास बीचको हाम्रो वातावरणमा पाइने प्रकृतिका अनुपम उपहार जुन प्रकृतिले हामीलाइ सित्तैमा दिएको छ । ति सबै कुरालाई हामी पैसा तिरेका हैनौ नि हैन र ? तर यसको अर्थ यो हैन कि ति सबै कुराको अर्थ मूल्य छैन । कुरा यो हो कि ती सबै कुराको मुल्य पैसामा, तोलामा, केजीमा वा यस्तै यस्तैमा छैन । ठिक त्यस्तै मानव जीवनमा मानिसले आर्जन गर्न सक्ने त्यस्ता धेरै सम्पत्ति छन, जसको मापन मुद्रा वा पैसामा छैन । जिन्दगी आफैमा एउटा बिशाल अध्याय हो र जिन्दगीको परिभाषा दिनु अत्यन्तै गाह्रो कुरा हो जस्तो लाग्छ । यद्यपि धेरै ब्यक्तिहरूले आ– आफ्नो लय वा बुझाईका आधारमा यसलाई परिभाषित गर्नुभएको छ ।
एकातिर पूरै जिन्दगीको परिभाषा हामी एक हरफमा दिनु असाध्यै जटिल कुरा हो भने अर्कोतिर भोगाई, अनुभव, बुझाई, पढाईका आधारमा मात्र नभै समय, परिवेश, परिस्थिति आदिका आधारमा जिन्दगीलाई फरक फरक तरिकाले ब्याख्या र बिश्लेषण गरेको पाइन्छ । खैर जिन्दगीको परिभाषा जेसुकै होस, मानव जीवनसंग जोडिएका केही त्यस्ता सम्पत्ति हुन्छन, जसमा हामी ध्यान दिएका हुंदैनौं । हामी एक मुट्ठी सास रहुन्जेल कित्ता कित्तामा विभाजित हुन्छौं । कथित धन पैसा कमाउने होडबाजीमा वर्तमान समयमा मानवले नाता–सम्बन्ध, साथित्व, नैतिकता, इमान्दारीता र भाईचारा समेत बिर्संदै गएको पाइन्छ । भोली छाडेर जाने भौतिक बस्तु (घर, जग्गा, गाडी, गरगहना) आदि इत्यादिलाई जीवनको बहुमुल्य सम्पति मान्छौं । पूरै दैनिकी ति भौतिक बस्तु तथा त्यसै प्रकारका सेवा सुबिधा प्राप्त गर्नमा खर्चिन्छौं । जसको स्वामित्व हामी केवल कागज वा सोही प्रकारको लिखतमा लिन्छौं । जसबाट हाम्रो नाम हामी मरेको केही दिनपछि मेटिन्छ वा नामसारी हुन्छ ।
अर्थतन्त्र चलायमान हुन बस्तु तथा सेवाको कारोबार पैसासंगै हुनुपर्दछ भन्ने कुरामा कुनै फरक मत छैन । मानिस बस्न घर चाहिन्छ, हिंडडुल गर्न गाडी चाहिन्छ र पेट पाल्न खाना चाहिन्छ । ति सबैप्रति अपनत्व कायम राख्न चल्दै आएको प्रकृया अनुसारको स्वामित्व चाहिन्छ । पैसा के हो त भन्ने बिषयमा पनि हिजो आज केही लाइन सुन्न पाइन्छ । कसैले ःयलभथ ष्क भखभचथतजष्लन भनेको सुनिन्छ । कसैले ःयलभथ ष्क लयतजष्लन भनेको सुनिन्छ त कसैले मध्यमार्गी दृष्टिकोणबाट ःयलभथ ष्क कयmभतजष्लन दगत लयत भखभचथतजष्लन भन्ने गरेको सुनिन्छ । पैसा के हो, जीवन के हो ? त्यो बहसको वा बादबिबादको बिषय बन्न सक्छ तर अन्तिम सत्य मरण नै हो भन्न हिचकिचाउनु भने नपर्ला ।
बडो भावनामा डुबेर पैसा केही हैन भन्न लागियो र हात बाँधेर बस्न थालियो भने त्यसको असर दैनिक जीवनयापनमा मात्र नभै समग्र अर्थतन्त्रमा पर्न जान्छ । र, पैसा नै सबै हो भन्दै दुनियाँ भुलेर पैसाकै पछाडि दौडिंदा अन्ततः पछाडि फर्केर हेर्दा जन्ती र मलामी पनि महंगो पर्ला । दैनिकी चलाउनु हाम्रो धर्म हो, कर्म हो र यो दैनिकीमा विनिमयको माध्यम मुद्रा पैसा भएको छ । जीवनमा धन पैसा आर्जन गर्नु एउटा पाटो हो भने सन्तुष्टि त्यही जीवनको अर्को पाटो हो । जन्मिने दिन र चितामा जल्ने दिन बीचको ग्यापमा धेरै उतावचढाव आउंछन । अनेकौं सोच, भावना, धारणा, बिचार, चाहना, रहर अनि बाध्यता यस्तै यस्तै बीच जीवन सन्तुलित ढंगबाट अगाडि बढाउनु नै त्यसको सार्थकता हो । दुनियाँमा केहि कुरा धर्मले सिकाउँछ त केही कुरा कर्मले सिकाउँछ । शैक्षिक उपाधि हासिल गर्नु र प्रमाणपत्र प्राप्त गर्नु एउटा पाटो हो भने अझ महत्वपूर्ण पाटो चेतनाको स्तरबृद्धि गर्नुसंगै सोच बदलिनु हो ।
शैक्षिक उपाधि योग्यताको प्रमाण बन्न सक्ला तर स्तरिय सोंच अनि चेतना जीवन बदल्ने ओखति बन्न सक्छ । हामीले भन्दै र मान्दै आएका ति भौतिक सम्पति, धन दौलत, घर, गाडी देख्न र छुन सकिने सम्पति हुन । मानव जीवन एउटा बिशाल साध्य हो र ति देख्न र छुन सकिने सम्पति जीवन चलाउने साधन हुन । जसका लागि हामी दिनरात मेहनत गर्छौं । तर मानव जीवनमा अति महत्व राख्ने केही त्यस्ता सम्पति कमाउन वा जोर्न पनि समय खर्चियो भने हाम्रो जीवन झन खुसीमय र सन्तुष्टिमय बन्न सक्दछ । जीवनमा त्यस्ता देख्न र छुन नसकिने सम्पति छन जसको मूल्य के कति भन्ने उत्तर आजसम्म न अर्थशास्त्र संग छ न त बिज्ञानसंग छ । तपाइलाई कसैले दिएको माया, ममता, तपाइप्रति कसैले गर्ने सम्मान, इज्जत, तपाइप्रति कसैले देखाएको दया, करुणा, तपाईप्रति कसैले गरेको असल ब्यवहार, तपाइको बिचारप्रति कसैले दिएको समर्थन, तपाइको बोलीप्रति कसैले गरेको विश्वास, तपाईको ब्यवहारप्रति कसैले जनाएको ऐक्यबद्धता यी र यस्तै कुराहरूले हाम्रो जीवनमा मिल्ने आत्मसन्तुष्टि के ति सबै कुराहरूको अर्थ र मूल्य छैन ? ति सबै कुरा पैसामा किन्न पाइन्छ त ? ति सबै कुराको मुल्य तोकिएको छ त ? ति सबै अ्मूल्य सम्पति हुन । हामी हाम्रो जीवनको केही समय त्यस्ता सम्पति आर्जनमा पनि खर्चिन सकियो भने जीवन सकिएर गएतापनि त्यस्ता सम्पत्तिको स्वामित्व न त नामसारी हुन्छ न त सकिएर जान्छ । आमाको काख र मृत्युशैयाको बीचको समयमा केही त्यस्त अदृष्य सम्पत्ति आर्जन गरौं जसको मूल्य पैसामा हैन आत्मसम्मानमा हुन्छ । पावर÷शक्ति र पैसाको लागि मरिहत्ते गर्दै भागदौडमै हतारो गरिरहँदा अरूप्रतिको क्रोध, रिस, डाह र घमण्ड त्यागी, प्रतिशोधको भावनाबाट अलग बसेर जिन्दगीको थोरै समय आपसी सदभाव, सम्मान, सहयोग, समन्वय, सहकार्य, शिष्टाचार र सह–अस्तित्वमा पनि जोड दिन सक्नुपर्दछ ।