© २०२३
१७ वर्ष देखि २५ वर्षको उमेरसम्म जापानले युद्धबन्दी बनाई सोसम्बन्धी अनुभव बटुल्नुभएका रविलालले माओवादीहरूको युद्धकालीन नीति, योजना र युद्धबन्दी हुँदाका भोगाइहरू पनि प्रत्यक्ष रूपबाट देख्ने, भोग्ने, सुन्ने र बताउने अवसर पाउनुभयो । २०४६ सालको परिवर्तनपश्चात् नेपाल अधिराज्यको संविधान २०४७ जारी भएपछि नेपाली जनताले धेरै पक्षमा आमूल परिवर्तन हुन्छ कि भनेर आशा गरेका थिए । नेपाली काङ्ग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको बहुमतको सरकारप्रति जनताको आशा र भरोसा थियो । प्रमुख प्रतिपक्षको रचनात्मक सहयोग र सार्थक विरोधको अभाव त छँदै थियो स्वयं नेपाली काङ्ग्रेस संसदीय दलभित्र पनि दुई समूहको निर्माण हुन पुग्यो । गिरिजाप्रसादले आफ्नो पार्टीभित्र सबै पक्ष र तप्काका व्यक्तिहरूलाई मिलाएर लैजान सकेनन् । चालू अधिवेशनमा सरकारबाट प्रस्तुत नीति तथा कार्यक्रमउपर आफ्नै साथीहरूको असहयोग गरेका कारण उक्त नीति पारित हुन सकेन । ३६ जना सांसदहरूले विरोध जनाए । ’पार्टी भित्रबाट नै विरोध भएको हुनाले सबैलाई समेट्न नसकेको हुँदा नैतिकताका आधारमा मैले नै प्र.म. पद छोडिदिन्छु । म गए पनि पार्टी र देश बच्छ’ भन्ने सकारात्मक सोच गिरिजाप्रसाद कोइरालामा प्रकट हुन सकेन । उल्टै उनले प्रतिनिधि सभा नै विघटन गरिदिए । सर्वोच्च अदालतले समेत उक्त विघटनलाई सदर गरिदियो । संविधानसम्मत भएको भनी तत्कालीन प्रधानन्यायाधीश विश्वनाथप्रसाद उपाध्यायले संसद विघटन भएको व्यहोरालाई सदर गरिदिए ।
यता नेपाल कम्युनिस्ट पार्टीको एउटा घटक वर्तमान राजनीतिक पद्धतिकै विरुद्धमा उत्रदै थियो । खासगरी नेपाल कम्यनिस्ट पार्टी माओवादीले ’वर्तमान संसदीय व्यवस्थाबाट जनताका विद्यमान समस्याहरू समाधान हुन सक्दैनन्, ठुलै क्रान्ति गर्नुपर्छ’ भन्दै यिनै संसदीय पद्धतिमा देखिएका कमी कमजोरीलाई बहाना बनाएर २०५१ फागुन १ गतेदेखि सशस्त्र द्वन्द्वको थालनी गर्यो । देश राजनीतिक अन्यौल र अस्थिरतातर्फ अगाडि बढ्दै गयो । ’मध्यावधि निर्वाचन किन, दुई तिहाई लिन’ भन्दै अगाडि बढेको काङ्ग्रेसको अभियान सार्थक हुन सकेन । मध्यावधि निर्वाचनमा काङ्ग्रेसले नराम्ररी हार बेहार्नुपर्यो । यस सन्दर्भमा एउटा रोचक प्रसङ्ग यहाँ उद्धृत गर्न प्रासांगिक देखिन्छ । गुल्मीका साविक ३ वटै निर्वाचन क्षेत्रबाट २०४८ सालको पहिलो आम निर्वाचनमा नेपाली काङ्ग्रेसले जित हासिल गरेको थियो । साविक क्षेत्र नं. ३ बाट धुर्कोट वस्तुका रुद्रमणि भण्डारी ने.का. बाट विजयी भएका थिए । यिनलाई विजयी बनाउन पौदीअमराईका जेष्ठ अभिभावक यिनै रविलाल टेकबहादुर थापा, जि. मु. हेमलाल थापा, गङ्गाबहादुर थापा, ठानबहादुर खाती, दुर्गा बहादुर थापा, दुजमान गिरीलगायतका जेष्ठ सहयोग रहेको थियो । गङ्गाबहादुर÷ठानबहादुर खाती त एजेन्ट नै बसेका रुद्रमणिले नै भएको र उक्त टिकट पाए । निर्वाचनको दौरानमा रुद्रमणि रविलाल थापाको केन्द्र टोलमा रहेको नयाँ घरमा सबै बुढा पाकाहरू जम्मा भएका थिए । रविलालका कान्छा छोरा बुद्धबहादुर थापा रेसुङ्गा क्याम्पसमा प्राध्यापन गर्थे र पार्टीतर्फ नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधि थिए । जेठा छोरा हरिबहादुर स्थानीय नेपाली काङ्ग्रेसको पार्टीको नेतृत्व तहमा रहेका थिए । उक्त घरमा साँझपख मइन्टोल बालिएको थियो । धेरै बुढापाकाहरूका बिचमा रुद्रमणि बसेका थिए । यसै क्रममा बुढाघरे गङ्गाबहादुर थापाले बुद्धबहादुर थापालाई सङ्केत गर्दै केही प्रश्न सोधे– ’ए कान्छा यो धुर्कोटको बाउनलाई हामीले अघिल्लो चुनावमा जिताएको होइन ?’ बुद्धबहादुरले हो बुबा भने । फेरि गङ्गाबहादुरले सोधे– ’यिनको कार्यकाल कति वर्षको थियो ?’ बुद्धबहादुरले जबाफ दिए– ’पाँच वर्षको’ । ’अहिले चुनाव भएको कति वर्ष भयो ?’ ’त्यस्तै साढे २ वर्ष भयो होला ।’ ’यो अवधिमा यो बाउनले चुनावमा लागेको ऋण अझै तिरेको छैन होला । खुरुखुरु काम गर्ने, देश विकास गर्ने, जनताको सेवा गर्ने बेलामा किन फेरि चुनाव भन्दै यिनलाई लिएर हिँडेका छौ ? । बुद्ध थापाले जबाफ दिए– ’विपक्षीहरूले रचनात्मक सहयोग गरेनन् । अब दुई तिहाइ ल्याउनका लागि हामी चुनावमा आएको । फेरि रुद्रमणिलाई जिताउन आएको ठुलोबुबा’ भने । तर गङ्गाबहादुरलाई यो जबाफ पटक्कै चित्त बुझेन । उनी यो तर्कबाट अलिकति पनि सहमत भएनन् । उनले सबैलाई हेर्दै, ओठ लेप्राउँदै नपत्याएजस्तो गरेर भने– “यो गिरिजाले अब गरी खान्न ।“ भएको बहुमत फालेर फेरि चुनाव गराउन खोजेका छन् गिरिजाले । अब यो देशको स्थिति राम्रो हुँदैन र पार्टीको अवस्था पनि राम्रो हुँदैन ।’ नभन्दै गङ्गाबहादुर बुबाले भने जस्तै त्यसपछिको नेपालको राजनीतिक अवस्था दिनप्रतिदिन बिग्रँदै गयो । धेरै गङ्गाबहादुर जस्ता कर्मठ बुढापाकाहरू नेपाली काङ्ग्रेसका राष्ट्रिय राजनीति र विद्यमान गतिविधिबाट निराश हुँदै पौदीअमराई गए । चुनावमा रुद्रमणिले हारे । एमालेका टंक पोखरेलले जिते । त्यसपछि देशमा ने.क.पा. एमालेको अल्पमतको सरकार बन्यो, वैध– अवैध गठबन्धनहरू भए । मिलीजुली सरकार बने । २०५६ को आम निर्वाचनमा कृष्णप्रसाद भट्टराईको अगुवाइमा नेपाली काङ्ग्रेस पुनः चुनावमा होमियो । कृष्णप्रसाद भट्टराईलाई जनताले फेरि विश्वास गरे । प्रतिनिधिसभामा नेपाली काङ्ग्रेसले बहुमत प्राप्त गर्यो । उनकै नेतृत्वमा सरकार गठन पनि भयो । बिडम्बना नै भन्नौ, कृष्णप्रसाद भट्टराईले पनि पूरा समय सरकार चलाउन पाएनन् । फेरि पनि पार्टीभित्र गिरिजा र भट्टराईको समूह निर्माण हुन थाल्यो र थी समूहविच द्वन्द्व बढ्न गयो । काङ्ग्रेसभित्र फेरि गुटबन्दी सुरु भयो । नाटकीय शैलीबाट गिरिजाप्रसाद कोइराला पुनः प्रधानमन्त्री भए । यिनैको समयमा राजदरबार हत्याकाण्ड (२०५८ जेठ १९) भयो । माओवादीबाट दुनै आक्रमण (२०५७ असोज) र होलेरी (२०५८ असार २८) आक्रमण जस्ता भीषण काण्डहरू गराइयो । यस घटनाले कोइराला र दरबारबिच तिक्तता बढायो । अन्ततः २०५८ मा शेरबहादुर देउवा प्रधानमन्त्री बने । देउवा सरकारले माओवादी समस्या समाधान गर्न धेरै प्रयास गर्यो । २०५८ सालमै गोदावरी, बर्दिया र पुनः गोदावरीमा वार्ताहरू पनि सम्पन्न भए । तर ती वार्ताहरू सफल हुन सकेनन् । उता नेपाली काङ्ग्रेसभित्रको गुटबन्दी र आपसी कलह बढ्दै थियो । खासगरी गिरिजाप्रसाद र शेरबहादुर देउवाबिच आन्तरिक मनमुटाव बढ्दै गएको देखिन्थ्यो । देउवा सरकार के कसरी हुन्छ ? माओवादी समस्यालाई समाधान गर्न अगाडि बढेको नै देखिन्थ्यो ।
माओवादी द्वन्द्वको यस समयमा रविलाल थापा आफ्नो गाउँ पौदीअमराईमा नै बस्नुभएको थियो । उहाँसँग उहाँकी धर्मपत्नी वल्लवी थापा पनि साथमा नै हुनुहुन्थ्यो । उहाँको जेठो छोरा हरिबहादुर पनि घरमै थिए । साहिँला छोरा डोरबहादुर त्यस बेला पनि गाउँकै घरमा थिए । कान्छो छोरा बुद्धबहादुर थापा प्राध्यापनको सिलसिलामा त्रिभुवन बहुमुखी क्याम्पसबाट सरुवा भई बुटवल बहुमुखी क्याम्पसमा प्राध्यापनरत थिए । माओवादीहरूले आफ्नो गतिविधि गुल्मी जिल्लामा पनि अगाडि बढाएका थिए । सानातिना घटना, हत्याका शृङ्खलाहरू गुल्मीमा पनि बढी नै रहेका थिए । रविलाल र उहाँका परिवार भने ढुक्क भएर आफ्नो गाउँ समाजमै बस्दै आएका थिए । ’हामीले बिराएका पनि छैनौ र डराउँदैनौ पनि’ भनेर रविलालको परिवार गाउँमा नै बसेको थियो । यसै क्रममा २०५९ मङ्सिर ४ गतेको कुरा हो– हरिबहादुर स्थानीय बाग्लुङको खार भन्ने स्थानमा लाग्ने स्थानीय न्वागिमेलामा गएका थिए । घरमा रविलाल थापा, वल्लवी थापा र छोरीहरू मात्र बसेका थिए । बुबा आमालाई भेट गर्न भनी उनका २ छोरी माहिली विष्णुकुमारी र कमला पनि आएका थिए । रविलाल थापा बस्ने घरमा जेठो छोरा हरिबहादुरले गाभि किराना पसल सञ्चालन गरेका थिए । महत्वपर्ण सामान र सम्पत्ति उक्त काङ्ग्रेस पार्टीसमेतलाई काम मिल्ला भनेर नेपाल दूर सञ्चार संस्थानबाट प्राप्त भएको एउटा टेलिफोन, टेलिफोनको सेट र त्यसको कडलेक्ससमेत दुकानमा राखिएको थियो । २०५९ मङ्सिर ४ गते साँझ ९ बजे तिरको घटना हो– आकाशमा जुन लागेको थियो । रविलाल आफ्नी श्रीमतीसहित छोरीहरूसँग गफ गरिरहनुभएको थियो । सोही समयमा माओवादी समूहको तिस÷चालिस जनाको सैन्य टोली अचानक रविलालको घरमा प्रवेश गयो । माओवादी पार्टीको त्यस्तो नीति थियो वा थिएन त्यो त उनीहरू नै भन्लान् तर सैन्य पोसाकमा गएका केही सैनिकहरूले दिदीबहिनीहरूले लगाएको गहना खोसे । धम्क्याए । उनीहरूले हरिबहादुर खोइ ? भन्दै सबैलाई तर्साए । त्यसपछि दुकानको चाबी मागी दुकानभित्र छिरे । त्यहाँ भएको नगद, टेलिफोनको कडलेक्स सेट, दुरबिनसमेतका जिन्सी समान लैजानका लागि निकाले । डरले कोही केही बोल्नसक्ने अवस्था थिएन । त्यसपछि रविलालछेउँ आएर भने– ’हरिबहादुर छैनन् भने अब हरिबहादुरको बाबु हाम्रो साथमा हिँड्नुस्’ । त्यहाँ भएका वल्लवी तथा छोरीहरूले भने– ’यहाँ भएको जे छ लैजानुहोस् । हामीलाई केही नगर्नुहोस् । यस्ता असी वर्ष कटेका वृद्ध बुबालाई नलैजानुहोस्’ । तर उनीहरूले मानेनन् । बरु उनीहरूले भने– ’यो पार्टीको निर्देशन हो । रविलाल बुबालाई हामी केही गर्दैनौं । उहाँ जिल्लाको जेष्ठ राजनीतिज्ञ पनि हुनुहुन्छ । उहाँसँग हामीले केही कुरा बुभनु छ’ । त्यसपछि एक जना कमान्डरजस्तो देखिने व्यक्तिले रविलालको पाखुरामा समाते । रविलाल त्यतिखेर सुत्नुभएको थियो । सुत्नुभएका उहाँले राती उठेर कपडा लगाउनुभयो र लौरो टेकेर माओवादीसँग हिँड्नुभयो । जीवनमा धेरै दुःख भोग्दै आएका रविलाल अत्तिनुभएन बरु ’ल बाबुहरू हो पर्खनुस् म कपडा लगाउँछु र तपाईंहरूसँगै जान्छु’ भनेर आफ्नो मनोबललाई उच्च राख्नुभयो । त्यहाँ भएका घरका अरू सदस्य भने डरले थुरथुर भइरहेका थिए । माओवादीहरूले त्यस्तो डराउनुपर्ने परिस्थितिको निर्माण नै गरेका थिए ।
रातीको समयमा रविलाल घरबाट गएपछि घरमा रुवाबासी भयो । कमान्डरले रातको समयमा त्यहाँ जम्मा भएका स्थानीय व्यक्तिहरूको रोहबरमा एउटा उद्घोष गरे– ’हामीले रविलाल थापालाई साथमा लगेका छौं । उहाँको घरबाट युद्धलाई सहयोग मिल्ने एउटा दुरबिन र टेलिफोन कडलेक्स पनि लगेका छौं । यो उहाँ उपरको कार्यवाही होइन । उहाँसँग हामीले केही कुरा बुझ्नु छ । केही दिनपछि उहाँलाई हामी सकुशल फिर्ता ल्याइदिन्छौँ ।’ यस अभिव्यक्तिलाई के कुन रूपबाट मूल्याङ्कन गर्ने ? कसरी पत्याउने ? त्यहाँ जम्मा भएका आफन्त, छरछिमेकीले सोच्न थाले । जम्मा भएका मध्ये कोही भन्थे– ’अब रविलाललाई यिनीहरूले हत्या गरेर फाल्छन् ?’ कोही भन्थे– ’रविलाललाई आफू साथ राखेर छोराहरूलाई झिकाउँछन् अनि सौदावाजी गर्छन्’ र कोही भन्थे– ’रविलालका परिवारले के गल्ती गरेका छन् र ? स्वयं रविलालले जनसेवामा आफ्नो जीवन बिताए, भ्रष्टाचार अन्याय केही गरेनन् । सोझा सरल र परिश्रमी हुन् । यिनीहरूलाई माओवादीले केही पनि गर्दैनन् ।’ त्यसैगरी लडाकुमध्येको कुनै एक जनाले भनेको थियो– ’यो बुद्ध थापाको बाबु हो । बुद्ध थापा नेपाली काङ्ग्रेसको गुल्मीको नेता पनि हो । अब उसलाई देउवाले सहयोग गर्छ । हेलिकप्टर लिएर खोज्न पठाउँछ’ । थरीथरी मानिसका थरीथरी धारणा । जसले जति बुझेको छ त्यति नै भन्ने हो । तर घरमा ठुलो चिन्ताले डेरा जमाएको थियो ।
पौदेली न्वागीको मेलाको समय थियो । हरिबहादुर आफ्ना साथीभाइहरूसँग रमाइलो गर्दै उक्त साँझ बालुवा निवासी भाइ दलबहादुर थापाको घरमा बसेका थिए । अर्को दिन घरमा घटेको घटना थाहा पाउनासाथ एउटा मोटरसाइकलको सहारा मागेर उनी बुटवलतर्फ झरे । साहिँलो छोरा डोरबहादुरलगायत अन्य दाजुभाइहरू घरमा आइपुगेका थिए । ८४ वर्षीय आमा, दिदीबहिनी र अन्य घरपरिवारका सदस्यहरू मात्र थिए घरमा । अर्को दिन छोरा सागरलाई लिएर डोरबहादुर पनि बुटवल आए ।
रविलाललाई अपहरण गरेको अर्को दिन घरकै टेलिफोन कडलेक्स ०७९२०२७४ बाट बुटवल, लक्ष्मीपथमा डेरा गरी बस्ने कान्छो छोरा बुद्ध थापालाई फोन आयो । फोन गर्नेले भन्यो– ’हेलो ! हेलो ! को बुद्ध थापा हो ?’ बुद्ध थापाले भने– ’हो’ । उताबाट फोन गर्नेले भन्यो– ’तपाईंलाई घटनाबारे थाहा भएकै होला । अहिले तपाईंको बुबा हाम्रो कब्जामा हुनुहुन्छ । चिन्ता मान्नु पर्दैन । माथिको आदेशानुसार हामीले तपाईंको बुबालाई लिएर हिँडेका छौं । तपाईंहरूको फोन पनि हामीसँगै छ । हामी सम्पर्कमा नै रहने छौं ।’ बुद्ध थापा बुटवल बहुमुखी क्याम्पसको बिहानी कक्षा पढाएर भर्खर मात्र कोठामा आएका थिए । यस्तो खबर पाउनसाथ उनी अचम्ममा परे । सर्वप्रथम दाजु हरिबहादुरको अवस्था के भएको होला ? भनी बढी चिन्ता गर्न थाले । त्यतिखेर मोबाइलहरूको प्रचलन आइसकेको थिएन । केही दिनपछि घरबाट केही मूल्यवान सम्पत्ति लुटिएको, बुबालाई अपहरण गरिएको तर हरिबहादुरलाई केही नभएको खबर आयो । एक दिनपछि हरि थापा र बुद्ध थापा दुई भाइको बुटवलमा भेट भयो ।
रविलाल थापालाई करिब एक हप्ता माओवादीहरूले नियन्त्रणमा राखे । अपहरण मुक्त भएपछि रविलालले बताए अनुसार– ’सुरुका दिनमा सक्दो हिँडाए । बाटामा हिँड्न नसक्दा बोके पनि । कतै हिँडाएर र कतै बोकेर गुल्मीको नेटा, छाप र दर्लिङ भन्ने ठाउँमा पुरÞ्याए । कहिलेकाहीँ तातोपानी तताएर नुहाइ पनि दिए । कुखुरा काटेर त्यसको सुप पनि खान दिए । शारीरिक यातना भने दिएनन् । सक्दो स्याहार सम्भार गरे । उक्त लडाकु टिममा दोहोली कोटकेटरीका महेन्द्र थापा पनि रहेछन् । मसँग पुरानो चिनजान रहेका कारण यिनले ठाउँठाउँमा निकै स्याहार संभार गरिदिए । कपडा धोइदिने र अर्को कपडा लगाइदिनेसमेत काम गरे ।’ तर पछि महेन्द्र थापालाई सेनाले तम्घास ब्यारेकमा हत्या गर्यो ।
यी सबै कुरा घर फर्किएपछि रविलाल बताउने गर्नुहुन्थ्यो । अपहरणमा पर्यो भनेर रविलालका कुनै परिवारले प्रहरी प्रशासनसमक्ष उजुर भने गरेनन् । माओवादीबाट भएको लुटपाट, क्षति र टेलिफोनलगायतको माग दावी पनि केही गरेनन् । यो पक्ष माओवादीलाई राम्रो नै लागेछ । बिच–बिचमा टेलिफोनबाट माओवादीका कमान्डरले बुद्ध थापालाई सम्पर्क गर्ने गर्थे । रविलाल र बुद्ध थापाको सम्वाद पनि हुन्थ्यो । सो संवादको क्रममा बुद्ध थापाले रविलाललाई सोध्थे– ’तपाईंलाई कस्तो छ ?’ उहाँ भन्नुहुन्थ्यो– ’राम्रो छ । बाबुहरूले मलाई निकै स्याहार गरेर राख्नुभएको छ ।’ बुद्ध थापा भन्थे– ’नआत्तिनु होला हामी उहाँहरूसँग कुरा गरेर तपाईंलाई अपहरण मुक्त गराउनतर्फ लागिरहेका छौं’ । उताबाट आउने रविलालको आवाजमा त्रास र घडबडाहट अलिकति पनि अनुभूत गर्न सकिदैनथ्यो । उहाँलाई कुनै डरै थिएन ।
रविलाललाई अपहरण गरेको लगभग एक हप्ता भइसकेको थियो । कडलेक्सबाट फोन सम्वाद पनि भइरहन्थ्यो । बुद्ध थापालाई यो बिचमा माओवादीबाट कुनै केही सौदाबाजी अर्थात् हामीउपर केही माग भैहाल्छ कि भन्ने लागेको थियो । यसै बिचमा फोन आयो । फोनमा माओवादीहरूले भने बुद्धजी । म टोली कमान्डर हुँ । तपाईको बुवा हामीसँग आराम नै हुनुहुन्छ । यसमा तपाईले केही भन्नुहुन्छ ?’ बुद्ध थापाले भने– ’फोनबाट सम्वाद भएकोमा धन्यवाद । हाम्रो बुवा तपाईहरूसँग हुनुहुन्छ । हामीलाई कुनै पिर शड्का लागेको छैन । हाम्रा बारेमा बुबाबाट नै सबै बुझिसक्नु भएको होला । हामी पनि तपाईहरू जस्तै गरिब शोषित पीडित जनताकै उत्थानका लागि हिँडेका परिवार हौं । यद्यपि तपाईका र हाम्रा बाटाहरू अलग अलग होलान् । तपाईंहरूले उठाएका केही रचनात्मक मुद्दाहरूमा हाम्रो पनि सहमति रहन सक्छ । अब केही दिनपछि बुबालाई रिहाइ गरिदिनुस् र ऋणधन गरेर ल्याएको जुन टेलिफोन कडलेक्स छ, त्यो पनि फिर्ता गरिदिनुस् ।’ उताबाट कमान्डरले भन्यो– ’म यो तपाईंको कुरा हाम्रो हाइ कमान्डमा राख्छु । त्यसपछि के हुन्छ, म तपाईंलाई पछि खबर गरौंला’ । त्यसको अर्को दिन फेरि बुद्ध थापासँग फोन सम्पर्क भयो । फोनमा उनीहरूले भने– अब एक दुई दिनपछि तपाईंको बुबालाई हामी फिर्ता गरिदिन्छौँ । तपाईं दोहोलीसम्म आउन सक्नुहुन्छ ? बुद्ध थापाले जबाफ दिए– ’हुन्छ हामी आउँछौँ’ ।
यस बिचमा राष्ट्रिय राजनीति पनि निकै पेचिलो बन्दै गइरहेको थियो । देउवा सरकार माओवादी समस्यालाई समाधान गर्न निकै लागिपरेको थियो । कृष्णप्रसाद भट्टराईको समयमा देउवा आफैले उक्त आयोगको संयोजकको भूमिका निर्वाह गरेर माओवादीसँग वार्ता गर्ने पहल गरेका थिए । आफू प्रधानमन्त्री भएपछि विभिन्न वार्ता टोली गठन गरेर के कसरी हुन्छ ? यो समस्यालाई समाधान गर्ने योजनामा नै थिए देउवा । माओवादी हिंसा र आतंक बढेकै कारण राज्यस्तरबाट जे गर्नुपर्दथ्यो सोअनुरूप देउवाले मुलुकभर सङ्कटकालीन अवस्था भएको घोषणा गरे । देशमा सङ्कटकालीन अधिकार लागु भएपछि यता रविलाल थापालाई अपहरण गरेका माओवादीहरूसँग सम्पर्क हुन छाड्यो । उता राष्ट्रिय राजनीतिमा गिरिजाप्रसाद कोइराला यिनै तथ्यहरूलाई बहाना बनाएर देउवाको सरकार अपदस्त गराई पुनः आफू प्रधानमन्त्री बन्ने योजनामा लागेका देखिन्थे । नभन्दै आफू चीनतर्फ गएको अवसर पारेर ने.का.का. महामन्त्री सुशील कोइरालामार्फत देउवालाई कार्वाही गरेर पार्टीबाट निस्काशन गर्नेसमेतको कार्यलाई अगाडि बढाए । देशका ग्रामीण भेकमा रहेका खासगरी नेपाली काङ्ग्रेसका कार्यकर्ता तथा समर्थकहरूले भन्ने गर्थे– ’पार्टीले देउवालाई सहयोग गर्नुपर्छ । पार्टी र सरकार मिलेर विद्यमान समस्या समाधान गर्नपर्छ’ । कार्यकता र आम जनताको यही आशा र अपेक्षामाथि काङ्ग्रेसभित्र ठूलो समस्या देखा पर्यो । अन्ततः पार्टीभित्र विभाजन हुन पुग्यो ।
यता रविलाल थापालाई अपहरण गरेका गुल्मी तर्फका माओवादीहार भने सङ्कटकाल लागू भएपछि सम्पर्क विहीन भए । २०५९ मङ्सिरमा पौदीअमराईको केन्द्र टोलमा गाउँ सभाको आयोजना रहेछ । त्यही मौका पारेर माओवादीहरूले रविलाल थापालाई उक्त स्थानमा ल्याई छोडिदिने कार्यक्रम बनाएका रहेछन् । सोही कार्यक्रममुताबिक सयौँको सङ्ख्यामा रहेका माओवादीहरूले रविलाल थापालाई घोडामा चढाई फूलमाला लगाएर पौदीअमराईमा ल्याए । आफ्नै अगाडि केही दिनपूर्व अपहरण गरी लगेका रविलाललाई यसरी सम्मानका साथ माओवादीहरूले फर्काउलान् भनेर घरका र गाउँका मानिसले मात्रै होइन यो घटना थाहा पाएका धेरैले सोचेका थिएनन् होला । तर सोचेको भन्दा उल्टो भयो । रविलाल फर्किनुभयो । पौदीबासी छक्कै परे ।
रविलालकै लागि माओवादीहरूले एउटा सानो कार्यक्रमको आयोजना गरे । सो कार्यक्रमसँग उनीहरूले गाउँ सभालाई समेत जोडेका थिए । त्यस दिन टोली कमान्डरले रविलाल थापालाई बिचमा राखेर भने– ’केही दिनअगाडि हामीहरूले रविलाल थापालाई यहाँबाट हाम्रो साथमा लगेका थियौँ । आज तपाईंहरूको अगाडि स–सम्मान फिर्ता गरेका छौँ । उहाँलाई हामीले कार्वाही गर्न होइन देश र जिल्लाको वस्तुस्थितिबारे बुभन लगेका थियौँ । उहाँसँगै हामीले लगेको टेलिफोन कडलेक्स पनि फिर्ता गरेका छौं । दुरविन युद्धको दौरानमा हामीले उपयोग गरेका छौं’ । लुटिएको गरगहना र नगद पैसाको बारेमा भने केही भनेनन् । रविलाल फर्किन पाएकोमा नै सबै खुसी थिए । कार्यक्रम सकेर माओवादीहरू फिर्ता भए। रविलाल भने घरपरिवार र गाउँबासीहरूसँग बसेर आफ्ना अनुभव बताउन थाले । माओवादीको यो कार्य र नीतिबाट रविलालका परिवार, इष्टमित्र, आफन्त, शुभचिन्तक र समर्थक सबै खुसी भए । रविलाल थापालाई माओवादीहरूले त्यस बेला त्यसरी अपहरण गर्नुका पछाडि केही कारणहरू हुन सक्छन् । ती हुन् ः
(क) जिल्ला पञ्चायतको पूर्वसभापति रविलाल थापालाई अपहरण गरेर राष्ट्रिय मुद्दा बनाउँदै स्थानीय सर्वसाधारणमा भय र संशय पैदा गर्न ।
(ख) रविलाल प्रकरणपछि जिल्लाका अन्य ठाउँ र त्यहाँ बसोबास गर्ने व्यक्तिलाई आफू अनुकूल बनाई सङ्गठन मजबुत बनाउन ।
(ग) रविलाल प्रकरणमार्फत माओवादीहरूले व्यक्तिलाई कुट्ने, पिट्ने, हत्या गर्ने होइन कि सम्मान गर्दै लुटेको सामानसहित फिर्ता गर्दा रहेछन् भन्ने नौलो नीति अख्तियार गर्न ।
(घ) समग्रमा यस्तै नीति अख्तियार गरेर जनसमर्थन प्राप्त गर्दै जनयुद्ध सफल पार्न ।
जे भए पनि माओवादीहरूले बुद्ध थापासँग भएको सम्झौताअनुरूप रविलाल र टेलिफोन सेट फिर्ता गरेर एउटा उदार र प्रशंसनीय कार्यको थालनी गरे । दोस्रो विश्वयुद्धताका वर्षों युद्धबन्दीका रूपमा बसेका रविलाल आफ्नो जीवनको उत्तरार्द्धमा ८÷९ दिनसम्म माओवादीसँगै जङ्गलमा युद्धबन्दीसरह बसे । द्वितीय विश्वयुद्ध र हालसम्मका अनुभवहरू सबै लडाकुहरूलाई बताउँदा उनीहरू अचम्म परेको र प्रशंसासमेत गरेको कुरा रविलालले घरमा आएपछि बताउने गर्नुहुन्थ्यो ।
तिलक महतको सहयोगमा